२९ जेठ २०८३, शुक्रबार
ठगिँदै उपभोक्ता

पानी चुहिने र पिक–अप गुमाउने समस्याले  'डीपल एस ०७' का प्रयोगकर्ता हैरान !

भदौ १९, २०८१
काठमाडौं
पानी चुहिने र पिक–अप गुमाउने समस्याले  'डीपल एस ०७' का प्रयोगकर्ता हैरान !

गत वर्षको चैत १८ गते डीपल एस ०७ नेपाली ईभी मार्केटमा निकै प्रचार-प्रसारका साथ लन्च गरियो । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल स्वामित्वको एमएडब्ल्यू वृद्धिले चीनको चांगन मोटर्सबाट डीपल आयात गरेको थियो ।

डीपललाई प्रिमियम लक्जरी ब्रान्डका रूपमा प्रस्तुत गरिएको थियो भने शुरूआति मूल्य ७२ लाख तोकिएको थियो । धेरैले यसलाई टेस्लासँग तुलना गरे । यो नेपाली बजारमा आएको केही समयमै टेस्लाको बिक्री ठप्प भएको प्रचार गरियो ।

आधा मूल्यमा टेस्लाकै फिचरसहितको प्रिमियम लक्जरी ब्रान्ड पाइने भन्दै प्रचार गरिएपछि कतिपय मध्यम र उच्चमध्यमवर्गीय उपभोक्ता यसतर्फ आकर्षित भए ।

नेपाल आएको ५ महिनामा ४ सयभन्दा बढी युनिट बिक्री भएको चांगन नेपालको दाबी छ । तर, ५ महिनामै डीपलका प्रयोगकर्ता पछुताउन शुरू गरिसकेका छन् ।

७२ लाखको गाडी 'घाँडो' !

जतिसुकै लक्जरी र प्रिमियम भनिएता पनि यसले उकालोमा पिक-अप गुमाउने गरेको प्रयोगकर्ताको गुनासो छ ।

'पिक-अप गुम्ने समस्या देखिएपछि मैले धेरैपटक चांगन नेपालको कार्यालय धाएँ,' एक प्रयोगकर्ताले लोकान्तरसँग भने, 'त्यहाँ धेरैपटक मेरो गाडी चेक भयो । प्रत्येकपटक ठीक भयो भनेर दिन्थे, अनि एकदुई दिनमा उस्तै समस्या देखिन थाल्यो ।'

उनले डीपल छाडेर अर्को गाडी लिइसकेका छन् । ७२ लाख खर्चेर किनेको डीपल अहिले उनलाई घाँडो भएको छ । उनले आफ्नो नाम भने व्यावसायिक मर्यादा कायम राख्ने भन्दै उल्लेख गर्न चाहेनन् ।

इको मोडमा गाडीले सामान्य उकालोसमेत तान्न अप्ठ्यारो मानेपछि स्पोर्ट्स मोडमा लैजानुपर्ने अनि बढी ब्याट्री खपत हुने समस्या देखिने गरेको उनको भनाइ छ । डीपल एस ०७ ले एकपटकको फूल चार्जमा ४ सय १० किलोमिटर रेन्ज दिने दाबी गरिएको भएपनि उनले ३ सयभन्दा बढी रेन्ज कहिल्यै पाएका छैनन् ।

त्यस्तै, डीपल एस ०७ का अर्का प्रयोगकर्ताले आफ्नो गाडी बेचिदिन भनेर तेज एन्ड करन इन्टरप्राइजेजमा छाडेका छन् ।

उक्त इन्टरप्राइजेजले सेकेन्ड ह्यान्ड चारपांग्रे सवारी खरिद बिक्री गर्ने गर्छ । इन्टरप्राइजेजका एक कर्मचारीले भने, 'बिकेपछि पैसा दिनुहोला भनेर यहाँ गाडी छाडेर जानुभएको छ । हामीले हेर्दा सबै ठीक छ ।'

null

उक्त गाडी बिक्रीका लागि हाम्रो बजारको वेबसाइटमा समेत राखिएको छ, जसमार्फत सामान्यतया सेकेन्डह्यान्ड सामग्री किनबेच हुन्छ ।

प्रिमियम भनेर किनेको गाडी चुहिने परेपछि !

यसबाहेक कतिपय प्रयोगकर्ताले गाडीमा पानी चुहिने समस्या रहेको बताएका छन् । अंकित नामका एक फेसबुक प्रयोगकर्ताले गाडीको ढोका पूरै सील नहुने, ठूलो पानी पर्दा भित्र छिर्ने, सनरूफबाट पनि पानी चुहिने समस्या देखिएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै, चांगन नेपालकै आधिकारिक फेसबूकमा कमेन्ट गर्दै राजीव खायमलीले यसको सस्पेन्सन ठीक नभएको बताएका छन् ।

एक त नेपालको अफरोडमा डीपलको ग्राउन्ड क्लियरेन्स जम्मा १ सय ७५ एमएम, त्यहाँमाथि सस्पेन्सन ठीक नहुँदा दाबी गरिएजस्तो लक्जरी फील हुँदैन ।

दुई महिनादेखि डीपल एस ०७ चढिरहेकी सानु दाहाल भन्छिन्, 'गाडी त ठीकै हो । तर, घाम लाग्दा सनरूफबाट सिधै लाइट भित्र आउँछ । निकै अप्ठेरो बनाउँछ । अनि ग्राउन्ड क्लियरेन्स राम्रो छैन ।'

डीपल एस ०७ मा समस्यैसमस्या देखिन थालेपछि आयातकर्ता विष्णु अग्रवाल यतिबेला हैरान छन् । दिनहुँजसो उनलाई गाडीमा समस्या देखिएको भनेर दर्जनौं फोन आउने गरेको स्रोत बताउँछ ।

भर्खरै सम्पन्न नाडा अटो शोमा डीपलका अरू गाडी पनि ल्याउने तयारी उनको थियो । तर, उनले अर्को एउटा मात्र नयाँ डीपल एल ०७ भित्र्याएका छन् ।

नाडामा नयाँ डीपलको बूकिङ त्यति राम्रो भएन । नेपाली बजारलाई प्रयोगशाला बनाएका अग्रवालले डीपलको समस्या खुल्दै गएपछि अरू कम्पनीको ईभीमा आँखा लगाइरहेको निकटस्थहरू बताउँछन् ।

नाडामा उनले दुईपांग्रे सवारी यामाहासँगै चारपांग्रे फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, अवतार र सेरेस लगायतका ब्रान्डहरू उतारे । तर, कुनै पनि सवारीको बूकिङ उत्साहप्रद भएन ।

३० लाख बढी गैरकानूनी मुनाफा

डीपल एस ०७ को एउटा युनिटमा अग्रवालले ३० लाखभन्दा बढी मुनाफा खाने गर्छन् ।

कारन्यूज चाइना(carnewschina.com)का अनुसार विद्युतीय सेग्मेन्टतर्फ डीपल एस ७ को मूल्य २६ हजार ४ सय डलरदेखि २८ हजार २ सय डलरसम्म पर्छ ।

जबकि डीपल एस ०७ को मूल्य नेपाली बजारमा ७५ लाख राखिएको छ । कार निर्माता देश चीनमा यसको मूल्य जम्मा २६ हजार ४ सय डलर अर्थात आजको सटही दरमा ३५ लाख, २३ हजार मात्र पर्छ ।

चीनमा जनवरी १, २०२४ देखि डिसेम्बर ३१, २०२५ सम्म किनिएका विद्युतीय सवारीमा कर लाग्दैन ।

नेपालमा गत आर्थिक वर्ष २०८०/८१ मा ५० देखि १०० किलोवाटसम्मको विद्युतीय सवारीलाई १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क मात्र लाग्ने गर्थ्यो ।

३५ लाख २३ हजारमा पाइने गाडीमा १५ प्रतिशत भन्सार जोड्दा ४० लाख ५२ हजार हुन्छ । त्यसमा थप १० प्रतिशत अन्तःशुल्क जोड्दा उक्त गाडीको मूल्य जम्मा ४४ लाख ५७ हजार हुन आउँछ । तर, त्यसको झण्डै दोब्बर मूल्यमा बिक्री हुँदै आएको छ ।

लूटको साम्राज्य

अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीले चांगनको डिलरसँगै यामाहा, निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको लाइसेन्स लिएको छ ।

यसअघि मोरङ अटो वर्क्स नामको उनको कम्पनीले २ करोड ७० लाखभन्दा बढी नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको खुलेको थियो ।

भ्याट ठगी गरेर राज्यलाई लुट्ने र बढी मूल्यमा सामान बेचेर उपभोक्ता ठग्ने अग्रवालबारे लोकान्तरले शृंखलाबद्ध समाचार लेख्दै आइरहेको छ ।

हेर्नुहोस्, थप समाचार :

नेपाली उपभोक्ताको ढाड सेक्दै विष्णु अग्रवाल : यामाहा बाइकमा दोब्बरसम्म लूट !

टेस्लाको लोगोसँग मिल्ने चाइनिज गाडी 'डीपल' : वास्तविक मूल्यभन्दा दोब्बर असुल्छन् विष्णु अग्रवाल

सोह्रखुट्टेको उकालो नतानेपछि फिर्ता भए सेरेसका ईभी– सस्तो भनेर उपभोक्ता ठगी

डीपल ईभीमा कर छली: चीनमा बनेको १६० किलोवाटको मोटर भन्सारसम्म आउँदा ९९

salt training

कमेन्ट गर्नुहोस्