३० जेठ २०८३, शनिबार

अब प्रहरीले ‘पुलिस साइन्स’मा स्नातकोत्तर गर्न पाउने

प्रतिष्ठान र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर
भदौ २१, २०८१
काठमाडौं
अब प्रहरीले ‘पुलिस साइन्स’मा स्नातकोत्तर गर्न पाउने

नेपाल प्रहरीमा ‘मास्टर्स इन पुलिस साइन्स’ सञ्चालनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर डिल्लीराज शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

यो पढाइले प्रहरीको बृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने विश्वास प्रहरी मुख्यालयको छ ।

समझदारीपत्रमा हस्ताक्षर गरेपछि प्रहरी महानिरीक्षक कुँवरले यो पढाइले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएको बताए ।

उनले भने, ‘यो पढाइले प्रहरी संगठनमा खोज, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढीकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त छु ।’

उनले नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताए ।

त्रिविका डीन शर्माले समझदारीबाट प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे ।

समझदारीपत्रमा अक्षय कोष, एमपीएस कार्यक्रम सञ्चालन, शैक्षिक क्यालेन्डर, विभिन्न शुल्कहरू, विद्यार्थीहरूको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवं विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्