
बितेका १६ वर्षमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत एक लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख पाँच हजार ५४४ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।
कोरिया र नेपाल सरकारबिच सन् २००७ मा इपिएसमार्फत नेपाली युवा कोरिया लैजाने सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौता अनुसार सन् २००८ देखि नेपाली युवा इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थालेकोमा सात हजार २४३ महिलासहित एक लाख पाँच हजार ५४४ जना दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरेको वैदेशिक रोजगार विभाग इपिएस रोजगार शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ ।