
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ ।
म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो ।
शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घण्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा अञ्जु थापाको भनाइ छ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बेनी अस्पतालको ओपिडी सेवाबाट ७३ हजार नौ सय ३० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । यसअघि आव २०७९/८० मा ५० हजार दुई सय ८१ र आव २०७८/७९ मा ४० हजार एक सय १० जनाले ओपिडी सेवाबाट स्वास्थ्योपचार गराएका थिए ।
गत वर्ष सात हजार पाँच सय ७२ जनाले अस्पतालको आकस्मिक सेवा लिएका छन् भने दुई हजार दुई सय ६५ जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेको उनको भनाइ छ । त्यस्तै गत वर्ष कुल तीन सय ७० महिला बेनी अस्पतालमा सुत्केरी भएकामा ९६ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ ।
गत वर्ष बेनी अस्पतालमा ९८ जनाको मुख्य शल्यक्रिया गरिएको छभने नौ हजार छ सय ३६ जनाले युएसजी सेवा लिएका छन् । चार हजार १३ जनाले इसिजी सेवा लिएकामा १५ हजार आठ सय ९५ जनाले एक्सरे सेवा पाएका छन् । अस्पतालको सुविधासम्पन्न भवन निर्माणधीन अवस्थामा रहेकाले भौतिक पूर्वाधार र जनशक्ति अभावका बीचमा सेवा विस्तार गरी बिरामीलाई सहजता प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।