चितवन, १९ कात्तिक- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाँदरमुढे घटनापछि शनिबार दोस्रो पटक माडी पुगे । जिल्लाको क्षेत्र ३ बाट उम्मेदार बनेपछि चुनावी प्रचारको सिलसिलामा माडी पुगेका हुन् । यसअघि ०६९ फागुन १७ गते महोत्सव उद्घाटन गर्न आए पनि त्यसयता पाइला राखेका थिएनन, कान्तिपुरमा खबर छ ।

त्यो बेला बाँदरमुढे घटनाका पीडितले कालो झन्डा देखाएर विरोध जनाएका थिए । पीडितलाई प्रहरीले नियन्त्रणमा लिएपछि मात्र दाहालले महोत्सव उद्घाटन गरेका थिए । शनिबार दोस्रो पटक भने दिवाकर–तीर्थकुमारी भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको उद्घाटन गर्न पुगे । तर कार्यक्रममा पीडित देखिएनन् । उनीहरूले माग सम्बोधनका लागि माओवादी केन्द्रका नेता अमिक शेरचन र धनीराम पौडेललाई भेटेका थिए । सँगै बसेर छलफल गरे । पीडितले विभिन्न १२ बुँदे माग अगाडि सारेको र ती मागका बारेमा माओवादी अध्यक्ष दाहाललाई जानकारी गराइएको थियो ।
भाषणका क्रममा अधिकांश समय माडीको विकास गर्न आफू तयार रहेको बताउँदै दाहालले यहाँका समस्या समाधानमा आफू लागिपर्ने दाबी गरे । उनले बाँदरमुढे घटनाका पीडितलाई फकाउँदै उनीहरूको माग सम्बोधनका बारेमा सकारात्मक रहेको बताए । बाँदरमुढे घटनाका मुख्य दोषीहरूलाई कारबाही गर्ने जनाए । जनयुद्धकालीन अवस्थामा राज्य र तत्कालीन विद्रोही पक्षबाट भएका गल्ती, कमजोरी र त्यसबाट हुन गएको क्षतिका बारेमा छानबिन हुने आश्वासन दिए ।