
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अदालत अवहेलना मुद्दा फिर्ता हुने भएको छ । बार अध्यक्षको अभिव्यक्तिले अदालतको अवहेलना भएको प्रतिवेदन तयार पारेर सर्वोच्चमा दर्ता गरेका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् ।
उनले आफू जीवनभर प्रजातन्त्रका लागि लडेको आफ्ना पिताले पनि यसकै लडाइमा जीवन गुजारेको भन्दै प्रतिवेदन दर्तापछि निदाउँन नसकेको उल्लेख गरेका छन् । उनले नेपाल बार एशोसिएशन प्रजातन्त्रको हिमायति संस्था भएको पनि उल्लेख गरेका छन् ।
बुधवार मध्यरातमा सार्वजनिक वक्तव्य दिँदै घिमिरेले अब आफू कसैको प्यादा नबन्ने नचाहेको बताएका छन् । 'म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैं यसकै लडाइ लड्नुभयो,' उनले लेखेका छन्, 'बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ ।
उनले अदालत खुलेलगत्तै आफ्नो भनाइसहित प्रतिवेदन फिर्ताको निवेदन दिने बताएका छन् । दशैं बिदाका कारण घटस्थपनादेखि कोजाग्रतसम्म अदालत बन्द रहने गर्दछ ।