
नेपालका अदालतमा कुनै कुनै मुद्दा वर्षौंदेखि अल्झिराखेको त सुन्नु भएकै होला । तर, यस्तो नेपालमा मात्रै होइन भारतमा पनि हुँदो रहेछ ।
भारतको हिमाचल प्रदेशमा एउटा मुद्दाको १६ वर्षपछि फैसला सुनाइएको छ । अपराधको १६ वर्षपछि हिमाचल प्रदेश उच्च अदालतले फैसला सुनाएको हो ।
जग्गासम्बन्धी केही कागजपत्र तयार गराएवापत एक हजार भारू घुस लिएको आरोप लागेका स्थानीय पटवारीलाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । उच्च अदालतले तल्लो अदालतको फैसला बदर गरेको छ ।
विशेष न्यायालय हमीरपुरको फैसलालाई उच्च अदालतले कानुनविपरीत ठहर गर्दै खारेज गरेको हो । अभियोजन पक्षले अदालतमा पेश गरेको तथ्याङ्कअनुसार उजुरीकर्ता होसियार सिंह आईटीबीपीमा कार्यरत थिए । उनी १६ वर्षअघि हमीरपुर जिल्लाको दलछेडा गाउँ आएका थिए । उनको जग्गासम्बन्धी काम थियो ।
उनलाई पटवारीले पेपर बनाउन निकै ठूलो काम भएको र रातभरी लाग्न सक्ने बताएका थिए । उनले भोलिपल्ट दिउँसो १२ बजेदेखि १ बजेसम्म कागजपत्र तयार गर्ने बताएका थिए । पटवारीले पेपर तयार गर्न एक हजार घुस समेत मागेका थिए ।
उजुरीकर्ताले ठूलो रकम भन्दै इन्कार गरेपछि पटवारीले एक हजार नदिई कागज तयार गर्ने काम पूरा नहुने बताए । उजुरीकर्ताले घुस दिन नचाहेको भन्दै सतर्कतामा उजुरी गरेका थिए । त्यसपछि भोलिपल्ट सतर्कता टोलीले पटवारीलाई एक हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।