ओमोडा एन्ड जेइको कम्पनीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले एक दिनमा ‘जेइको जेसिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाका १०० भन्दा धेरै युनिट डेलिभरी गर्न सफल भएको छ । बहुप्रतीक्षित जेइको जेसिक्स गत अगस्टमा नाडा अटो शोमा सार्वजनिक गरिएको थियो ।
पूर्णरुपमा विद्युतीय जेइको जेसिक्स नेपालमै पहिलो अफ–रोड इलेक्ट्रिक एसयूभी हो । यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयावधिमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।
‘नेपाली अफ–रोड ड्राइभिङमा रूचि राख्नेहरूले गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जका चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए,’ कम्पनीले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।’
त्यति मात्र होइन, ओमोडा ई–५ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । भर्खरै नाडा अटोशोमा ओमोडा ई५ डीएलएक्स ओमोडा ई५ एलयूएक्सको संस्करण हो ।
जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ–रोड अवस्थाका लागि उपयुक्त हुने गरी डिजाइन गरिएकाले गर्दा पनि नेपाली अफ–रोड पारखीहरूका लागि यो गाडी रोजाइमा परेको कम्पनीको भनाइ छ । २७१५ मिलिमिटरको ह्विलबेस, १८ (वा१९) इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडका लागि उपयुक्त विशेषता हो ।
कम्पनीका अनुसार चालकसहित ५ यात्रु क्षमता रहेको यस गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८– १२ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम तथा इजी–क्लिनिङ डिजाइनसहितको इन्टेरियर छ । ‘यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ, जुन आपत्कालीन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ । जेसिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिग्री क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्यागजस्ता सुविधाहरूका साथ उच्चतम सुरक्षा प्रदान गर्छ,’ कम्पनीले भनेको छ ।
जेसिक्सले यसको रगेड बडीसँगै अफ रोडका लागि शक्तिशाली पर्फमेन्स दिने कम्पनीको दाबी छ । जेसिक्स दुईवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर–ह्विल–ड्राइभ । र दोस्रो १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्ट ।
यो गाडीले ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री रहेको जेसिक्सले ५०१ किमीको सीएलटीसी–रेन्ज प्रदान गर्छ । गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डीसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध छन् ।