
अविरल वर्षापछि आएको पहिरोमा परी आमाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा ५ वर्षीय बालकलाई काजकिरियामा राखिएको छ ।
असोज १२ गते पनौती– १ भञ्ज्याङमा पहिरोमा परी मृत्यु भएकी रामप्रसाद सापकोटाकी ३१ वर्षीया छोरी सविताको मृत्यु भएको थियो ।
बाबुको पहिचान नखुलेपछि सविताकै ५ वर्षीय छोरालाई किरियाकर्ममा राखिएको हो ।
असोज १२ गते शनिबार बिहान सुतेकै ठाउँमा रामप्रसादका ३१ वर्षीया छोरी सविता र रश्मिलालाई पहिरोले पुरेको थियो । भोलिपल्ट आइतबार मात्रै दुवैको शव भेटिएपछि दाहसंस्कार गरिएको थियो ।
तर जेठी छोरीको विवाह गरेका श्रीमान्को कुनै पत्तो नै नलागेपछि उनका ५ वर्षका छोरालाई नै किरियाकर्ममा राखिएको हो । १० दिनबाट राखेर १२ दिनमा सकाउने गरी किरियाकर्ममा राखिएको स्थानीय तुलप्रसाद सापकोटाले जानकारी दिए ।
‘छोरीको श्रीमान्तिरको कुनै सम्पर्क र सम्बन्ध नै नभएको अवस्था हो । गोत्र परिवर्तन भएपछि बाबुले पनि किरियाकर्म गर्न नमिल्ने रहेछ,’ सापकोटाले लोकान्तरसँग भने, ‘श्रीमान् बच्चा जन्मिनु अघिदेखि नै सम्पर्कमा आएका रहेनछन् ।'
घटनापछि १० दिनको दिन कर्ममा राखेर १२ दिनमा किरियाकर्म सकाउने तयारी भएको उनले बताए ।
किरियाकर्म गराउने गुरु राममणि अधिकारीले पनि घरथर केही पहिचान नभएकोले दुःखमा रहेको परिवारलाई एउटा कर्म फुकाइदिन ५ वर्षको बच्चालाई किरियाकर्ममा सहभागी गराएको जानकारी दिए ।
‘पहिरोमा परी आमाको दुःखद निधन भयो । उनको परिवारको पहिचान केही खुलेको छैन । सुत्केरी भएको तीन दिनमा श्रीमान् श्रीमती र बच्चा छोडेर हिँडेको भन्नेसम्म सुन्यौं । तर घरथर केही जानकारी भएन,’ अधिकारीले लोकान्तरसँग भने, ‘कुण्डली हेरेपछि नाम जुराइदिएको थिएँ । सिंगो परिवार दुःखमा छ । यसबाट प्रक्रिया फुकाइदिन मात्रै यो गरिएको हो ।’
१० दिनबाट १२ दिनमा किरियाकर्म सकाइदिने अधिकारीले जानकारी दिए ।
‘ १०औं दिनको पिण्ड दिन लगाएर सेतो कपडामा राखिएको हो । भोलि पानी दिएपछि पर्सी १२ औं दिनको दिन पिण्ड दिएपछि यो किरियाकर्मको प्रक्रिया सकिन्छ,’ अधिकारीले भने ।
अधिकारीले सामाजिक सञ्जालमा लेख्दै के भोगिँदैछ आफैंलाई थाहा छैन भन्दै दुःख प्रकट गरेका छन् ।
‘के भोगिँदैछ आफैंलाई थाहा छैन गएको बाढी पहिरोमा परी धेरै जनधनको क्षति दु:खद घटनामा मृत्यु भएकी आमाको आफ्नो संस्कारअनुसार ५ वर्षको बालक किरिया गर्दै । आफू जन्मेपछि बाबु अर्कै केटी लिएर हराए । आमाले माइतमा बसी ज्याला गर्दै पालेकी थिइन्,’ अधिकारीले लेखेका छन् ।
५ वर्षीय बालककी आमासँगै सानीमाको पनि मृत्यु भएको र हजुरआमा पनि घाइते भएर अस्पतालमा रहेको अधिकारीले जनाएका छन् ।
बच्चालाई सहारा नभएको भन्दै अधिकारीले शिक्षा, स्वास्थ्यका लागि सहयोगी गरिदिन पनि अपिल गरेका छन् ।
घरमा सुतिरहेका बेला दुई दिदीबहिनीको पहिरोमा परी ज्यान गएको थियो ।
बचाउन जाँदा आमा घाइते भएकी थिइन् । मेरुदण्डमा गम्भीर चोट लागेको उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
पनौती १ मा भारी बोकेरै रामप्रसाद सापकोटाले ५/६ जनाको परिवारको गुजारा गर्दै आएका छन् ।