
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा विरोधाभाषपूर्ण टिप्पणी गरेका छन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले रवि गोरखा मिडियामा आएको करोडौं रकम अपचलनमा मुछिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।
समितिको प्रतिवेदनमा माओवादीकै सदस्य लेखनाथ दाहालले पनि हस्ताक्षर गरेका थिए ।
गोरखा मिडियामा आएको रकमको दायित्व आफूले लिने रविले नै बताएका छन् । तर, प्रचण्डले आइतबार चितवन पुगेर उनको बचाउ गरेका छन् ।
‘सहकारीको विषयमा छानबिन गर्न कार्यदल बनाउनुपर्छ भन्नेमा म पनि हो । रविजी पनि हो । बरु कार्यदल बनाउनु हुँदैन र विरोध छ भनेर बोल्ने केपी ओलीजी नै हो,’ प्रचण्डले भने, ‘कार्यदलले सहकारी ठगीमा रविलाई आरोपित गरेको छैन । गोरखा मिडियासँग सम्बन्धित विषयमा केही चिज छ भनिएको छ ।’
प्रचण्डले यस्तो दाबी गरे पनि छानबिन समितिले भदौ ३१ गते सार्वजनिक गरेको प्रतिवेदनले रविमाथि कारबाही गर्न स्पष्टरूपमा सिफारिस गरेको थियो ।
‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ छानबिन समितिले भनेको थियो ।
समितिको यो प्रतिवेदनपछि रवि स्वयंले गोरखा मिडियामा आएको रकमको कानूनी, आर्थिक र सबै खालको दायित्व निभाउने सार्वजनिक रूपमा बताएका थिए । रास्वापाले पनि निर्णय गर्दै समितिको यो निर्णय पार्टीले मान्ने बताएको थियो । समितिमा रहेका रास्वपाका सदस्य शिशिर खनालले पनि हस्ताक्षर गरेपछि रविलाई कारबाही गर्ने स्पष्ट लेखिएको प्रतिवेदन सर्वसम्मत बनेको थियो ।
रवि आरोपित नभएको बताएका प्रचण्डले विरोधाभाष देखाउँदै आफूले केही कुरा नरोकेको पनि बताए ।
‘मैले भनेर पक्रने वा नपक्रने होइन । सम्बन्धित निकाय छन् । मैले रविलाई गलत ढंगले क्लिन चिट दिने काम गरेको छैन,’ प्रचण्डले स्पष्टीकरणको शैलीमा भनेका थिए, ‘प्रधानमन्त्री हुँदा पनि रविको बारेमा प्रमाण छ भने भन्नुस् भनेर तीनवटै सुरक्षा संयन्त्रलाई भनेको हुँ । पोखरामा पनि समस्या छ भने भन्नुस्, संसद्मा जवाफ दिन्छु, भनेको थिएँ । तर, मैले रोकेर रोकिने कुरा पनि होइन । मैले रोकेको पनि छैन ।’
चितवनमै प्रचण्डले अदालतबाट रविले ‘क्लिन चिट’ नपाएको पनि बताए ।
‘तर, मैले के सुनेको छु भने अदालतले नै क्लिन चिट दिन तयार भएको छैन । यस्तो आधार छैन भनेर पोखराकै अदालतले भन्यो भन्ने मैले सुनेको छु,’ प्रचण्डले भने ।
२०७९ को चुनावपछि पुस १० गते प्रचण्डकै नेतृत्वमा सरकार बनेदेखि रवि गृहमन्त्री बनेका थिए । नागरिकता प्रकरणमा उनको पद गयो । तर, पछि फेरि प्रचण्ड नेतृत्वकै सरकारमा गृहमन्त्री भए ।
पछिल्लोपटक कांग्रेस र एमालेको समीकरण बनेपछि माओवादी र रास्वपा एक ठाउँमा उभिए ।
प्रचण्डलाई विश्वासको मतमा रास्वपाले समर्थन गरेपछि दुई दलबीच विपक्षी मोर्चामा एकै ठाउँमा उभिने स्थिति सिर्जना भएको थियो । त्यसयता प्रचण्डले सार्वजनिकरूपमा रविको बचाउ गर्दै आएका छन् । माओवादी नेता माधव सापकोटा सहकारी प्रकरणमा संलग्न भए पनि समितिले नै पर्याप्त प्रमाण जुटाउन नसकेको बताउँछन् ।
‘रविको विषयमा सिधा देखिने कुरा के हो भने उनी सहकारी प्रकरणमा संलग्न छन्, प्रमाण देखिएन,’ सापकोटाले लोकान्तरसँग भने, ‘कारबाही भनिए पनि घुमाएर कुरा गरिएको छ । रविले प्रबन्ध निर्देशकका रूपमा चेक काटेर खर्च गरेकाले त्यसको दायित्वमा संलग्न भनिएको हो । यसको दायित्व आफैंले बोक्छु भनेपछि अरूले अब टिप्पणी गरिरहन नपर्ला ।’
उनले रविलाई राजनीतिकरूपमा बदनाम गर्न प्रतिवेदनको भाषा त्यस्तो बनाइएको पनि बताए ।
माओवादीकै अर्का एक नेता रविको बचाउभन्दा पनि कांग्रेस र एमालेले पेलेपछि विपक्षीलाई बलियो बनाउने दाउ प्रचण्डले हेरेको बताउँछन् । ‘हाम्रो अध्यक्षको शैली नै यस्तै हो । हिजो कहिले कांग्रेस, कहिले एमाले ठीक भयो । आज दुवैले साथ नदिएपछि रास्वपासँग उहाँको निकटता देखिन्छ,’ माओवादीका ती नेता भन्छन्, ‘हाम्रो अध्यक्ष पार्टीभित्रै त खेल्नुहुन्छ, अरू दलबीच पनि खेल्नु कुन नयाँ तरिका भयो र ?’
आफ्नो ३२ र रास्वपाको २१ सीट हुँदा विपक्षमा ५० भन्दा बढी सांसद पुग्छन् । यसैले पनि प्रचण्डले विपक्षी मोर्चा बलियो बनाउने र सत्तापक्षमा दबाब बनाउने रणनीति लिएका छन् ।
प्रचण्डले बालेन, रवि र दुर्गा प्रसाईंलाई चलाएको आरोपबारे पनि बोलेका छन् ।
‘प्रधानमन्त्रीले खुलेआम भन्नुभयो, बालेन, रवि, दुर्गा प्रसाईं सबैलाई प्रचण्डले चलाएको हो भनेर । त्यो सत्य होइन,’ प्रचण्डले भनेका छन्, ‘तर, एउटा सत्य के हो भने बालेन र हर्कले चुनाव जित्दै गर्दा लोकतान्त्रिक गणतन्त्रका नयाँ फूलहरूलाई संरक्षण गर्नुपर्छ भनेकै हो । त्यो भनाइप्रति म अहिले पनि दृढ छु ।’