०७ असार २०८३, आइतबार

डेंगु संक्रमणबाट गण्डकीमा ७ को मृत्यु

असोज २३, २०८१
कास्की
डेंगु संक्रमणबाट गण्डकीमा ७ को मृत्यु

डेंगु संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म ३ पुरुष र ४ महिला गरी ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । 

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  कास्कीमा भदौ २१, असोज २ र १४ गते क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगु संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार ४ सय ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

गत जनवरीमा जम्मा ७० जनामा डेंगु देखिएकामा त्यसयताका नौ महिनामा संक्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो ।

अधिकृत शर्माले गत जुलाईयता डेंगुको संक्रमण दर बढ्दै गएको बताए । जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेंगु देखिएको उनले जानकारी दिए ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार ५ सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा २ जनामा उक्त रोगको संक्रमणको पुष्टि भएको छ ।

तनहुँमा २८ सय ६१, पर्वतमा ११ सय ४६, गोरखामा ६ सय ६४, बागलुङमा ५ सय ३९, स्याङ्जामा ४ सय ४३, म्याग्दीमा २ सय १३, नवलपुरमा १ सय ८१, लमजुङमा १ सय २० र मुस्ताङमा ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

असारदेखि कात्तिकसम्म डेंगु संक्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेंगु संक्रमण हुने गरेको चिकित्सक बताउँछन् ।

समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरूको सुझाव छ । डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको संक्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्