३० जेठ २०८३, शनिबार
डिजिटल क्रान्ति

मानिसहरूको दैनिकी बनिसकेको क्यूआर कोडको कहानी– 'डेन्सो वेभ'देखि बैंकिङ कारोबारसम्म

असोज २३, २०८१
काठमाडौं
मानिसहरूको दैनिकी बनिसकेको क्यूआर कोडको कहानी– 'डेन्सो वेभ'देखि बैंकिङ कारोबारसम्म

नेपालमा मात्र होइन, विश्वभर आममानिसको दैनिकी बनिरहेको क्यूआर कोड (क्विक रेस्पोन्स कोड) आजको युगमा सबैभन्दा परिवर्तनकारी आविष्कारमध्ये एक हो ।

सन् १९९० को दशकमा जापानमा अटोमोबाइल पार्ट्सको ट्र्याकिङका लागि विकास गरिएको यो कोड अहिले विश्वव्यापीरूपमा मार्केटिङ, भुक्तानी, शिक्षाजस्ता धेरै क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

राष्ट्र बैंकका अनुसार नेपालको फाइनान्सियल सेक्टरमा आइएमई पेले सन् २०१७ बाट र फोन पेले सन् २०१८ बाट यसको प्रयोग गर्न थालेका थिए ।

त्यस्तै, नेपालमा हिमालयन बैंकले सन् २०१७ मा युनियन पे इन्टरनेसनलसँगको सहकार्यमा पहिलोपटक क्यूआर कोडमा आधारित भुक्तानी सेवा ल्याएको थियो ।

यही समयदेखि नेपालमा क्यूआर कोड प्रविधि लोकप्रिय हुँदै गयो र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि यो प्रणाली अपनाउन थाले । अहिले यो मानव जीवनको एउटा अभिन्न अंग बनेको छ ।

नेपालमा दशैंमा दक्षिणा पनि क्यूआर कोडबाटै दिने प्रचलनसमेत शुरू भएको छ ।

कसरी भयो यसको उत्पत्ति ?

क्यूआर कोडलाई सन् १९९४ मा जापानको टोयोटाको सहायक कम्पनी डेन्सो वेभले अटोमोबाइल पार्ट्स ट्र्याक गर्न प्रयोग गरेको थियो ।

त्यसअघि विश्वव्यापी रूपमा बारकोडको प्रयोग हुन्थ्यो ।

सीमित जानकारी मात्र स्टोर गर्न सकिने परम्परागत बारकोडको क्यूआर कोडलाई दुई-आयामिक संरचनामा धेरै जानकारी भण्डारण गर्न सकिने गरी डिजाइन गरिएको थियो ।

यो संरचनाले धेरै डाटा भण्डारण गर्न र विभिन्न कोणबाट छिटो स्क्यान गर्न सक्ने क्षमता दिएको थियो, जसका कारण अहिले औद्योगिक लगायत विभिन्न क्षेत्र थप प्रभावकारी बनेका छन् ।

क्यूआर कोडको मुख्य विशेषता भनेको यसको म्याट्रिक्स डिजाइन हो, जसमा कालो रंगका वर्गहरू सेतो ग्रिडमा व्यवस्थित गरेर राखिएका हुन्छन् ।

क्यूआर आंशिक रूपमा बिग्रिएको भए पनि छिटो र सही स्क्यान गर्न सजिलो बनाउँछ ।

यसले वेबसाइटको लिंक, सम्पर्क जानकारीजस्ता विभिन्न प्रकारका डाटा भण्डारण गरेको हुन्छ, जसका कारण यो विश्वव्यापी प्रचलनमा आएको छ ।

क्यूआर कोडको आगमनभन्दा पहिला अमेरिका र युरोपलगायतका देशमा विभिन्न प्रकारका बारकोड प्रणालीहरू प्रचलनमा थिए ।

यीमध्ये सबैभन्दा प्रसिद्ध यूपीसी(युनिभर्सल प्रोडक्ट कोड) थियो, जुन मुख्यरूपमा उत्पादित सामग्रीहरूको ट्रयाकिङ र स्क्यानिङका लागि सुपर मार्केटमा प्रयोग हुन्थ्यो ।

यूपीसी बारकोड प्रणाली सीमित जानकारी मात्र स्टोर गर्न सक्ने एक-आयामिक प्रणाली थियो ।

तर, क्यूआर कोड भने दुई-आयामिक प्रणाली बनेर आयो । यसको प्रयोगले वेबसाइट, सामाजिक सञ्जाल, मिडिया प्रोफाइल, प्रमोसनल अफर र अनलाइन सामग्रीमा सजिलै पहुँच पाउन सक्ने अवस्था आएको छ ।

लोकप्रियता बिस्तारै बढेपछि क्यूआर कोड रेस्टुरेन्टको मेन्यु, टिकटिङ सिस्टम, इनभोइस र अन्य पेमेन्ट प्रणालीहरूमा व्यापकरूपमा प्रयोग हुन थाल्यो ।

कोभिड- १९ को महामारीको समयमा यसको प्रयोग झनै बढ्यो । एक अर्कासँग नछोई काम गर्नुपर्ने भएकाले यसको प्रयोग अत्यधिक प्रभावकारी सावित भयो ।

क्यूआर कोडले कसरी काम गर्छ?

क्यूआर कोडले कुनै पनि जानकारीलाई मेसिनले पढ्न सक्ने ढाँचामा रूपान्तरण गर्छ ।

यसलाई स्मार्टफोन वा ट्याब्लेटबाट सजिलै स्क्यान गर्न सकिन्छ । स्क्यान गर्ने प्रक्रियामा क्यूआर कोडको तस्वीर लिएर त्यसमा भएको डाटा डिकोड गरिन्छ ।

आधुनिक स्मार्टफोनमा क्यूआर कोड स्क्यान गर्न इनबिल्ट उपकरण राखिएको हुन्छ वा विशेष एपहरू प्रयोग गरिन्छ । प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरेपछि सो कोडमा समावेश जानकारीतर्फ तुरुन्तै पठाउने पठाइन्छ ।

यसको सरलता र प्रभावकारिताले क्यूआर कोडलाई विभिन्न क्षेत्रमा फैलिन दिएको छ, जसले गर्दा व्यवसाय र व्यक्तिहरूले यसलाई जानकारी आदानप्रदान गर्ने सजिलो साधनका रूपमा लिएका छन् ।

क्यूआर कोडको व्यापक प्रयोग

ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर तुरुन्तै उत्पादनहरूको बारेमा जानकारी लिन वा कम्पनीको वेबसाइट वा सामाजिक सञ्जालमा जान सक्छन् । यसको प्रयोगले अनुसन्धानका लागि महत्त्वपूर्ण तथ्यांक प्रदान गर्दछ ।

क्यूआर कोडले वित्तीय कारोबारमा ठूलो प्रभाव पारेको छ ।

विश्वभरका मोबाइल भुक्तानी प्रणालीहरूले क्यूआर कोडलाई पैसा स्थानान्तरण गर्न वा केही सामान खरिद गर्न सुरक्षित विकल्पका रूपमा प्रयोग गर्दै आएका छन् ।

शिक्षा क्षेत्रमा पनि क्यूआर कोडले क्रान्ति नै ल्याएको छ । शिक्षकले विद्यार्थीलाई कुनै जानकारी दिन, असाइनमेन्ट वा थप शैक्षिक सामग्रीहरू प्रदान गर्न यसको प्रयोग गर्ने गरेका छन् ।

संग्रहालयहरू वा ऐतिहासिक स्थलहरूमा यसले आगन्तुकलाई त्यहाँको बारेमा विस्तृत जानकारी दिन डिजिटल गाइडको रूपमा काम गर्छ ।

चिकित्सा क्षेत्रमा क्यूआर कोडले बिरामी र औषधिको जानकारी लिन, प्रशासनिक प्रक्रियालाई सरल बनाउन मद्दत गरिरहेको छ । कोभिड १९ महामारीको समयमा क्यूआर कोडले खोपको रेकर्ड व्यवस्थापन गर्न र कन्ट्याक्ट ट्रेसिङ्मा सहयोग पुर्‍याएको थियो ।

अहिले कुनै महत्त्वपूर्ण इभेन्टको टिकट र जहाजको बोर्डिङ पासमा पनि क्यूआर कोडको व्यापक प्रयोग भइरहेको छ । कारोबारलाई पेपररहित बनाउन यसको महत्त्वपूर्ण भूमिका रहेको छ ।

यसको भविष्य

यो आममानिसको दैनिकीको एउटा अभिन्न अंग बनिसकेको छ । यसको क्षमता बढाउन यसलाई गतिशील प्रकारको बनाउने प्रयास भइरहेको छ ।

क्यूआर कोडको प्रयोगलाई विस्तारित वास्तविकता (Augmented Reality) ब्लकचेनजस्ता नयाँ प्रविधिहरूसँग एकीकृत गरेर यसको कार्यक्षमतालाई बढाउने प्रयास पनि भइरहेका छन् ।  

यद्यपि यसमा बढिरहेको निर्भरतासँगै गोपनीयता र सुरक्षासम्बन्धी विषयहरू पनि यदाकदा उठ्ने गरेका छन् । यसको प्रयोग साइबर अपराधमा हुने गरेको छ ।

क्यूआर कोडमा गलत मनासय राखिएका वेबसाइटका लिङ्क इम्बेड गर्ने र फिसिङ् वा मालवेयर डाउनलोड गराएर बैंक एकाउन्ट खाली गरिदिनेजस्ता काम हुने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले यसको प्रयोग गर्दा सुरक्षाबारे बेलाबेलामा सर्वसाधारणलाई सूचित गरिरहेको हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्