२९ जेठ २०८३, शुक्रबार
राजावादीहरूको आत्मरति

पूर्वपञ्चहरूको विनासाइतको हर्षबढाइँ र गणतन्त्रवादीहरूको लाचारी

‘गणतन्त्रपछिका सरकारको असफलता देखेर राजावादीहरू सल्बलाउन थालेका छन्’
असोज २८, २०८१
काठमाडौं
पूर्वपञ्चहरूको विनासाइतको हर्षबढाइँ र गणतन्त्रवादीहरूको लाचारी
पूर्व राजाको हातबाट टीका लगाउँदै मनिषा कोइराला

दशैंको टीका लगाउन निर्मल निवासमा भेला भएका दुई–चारसय पूर्वपञ्चहरूको लाइन देखेर कतिपयले फेरि एकपटक राजतन्त्र फर्काउने ‘सपना’ देख्न थालेका छन् । 

दशैंको केही दिन पहिले पूर्व राजपरिवारका सदस्यले गरेको भुटान भ्रमणको सन्दर्भ समेत जोडेर फेरि एकपटक नेपालमा राजतन्त्र ब्यूँताउने बेमौसमी बहस शुरू भएको छ । 

त्यस्तो बतासे परिकल्पनाको नेतृत्वचाहिँ पूर्व पत्रकार रवीन्द्र मिश्रले गरेका छन्, जो अहिले राप्रपाको वरिष्ठ उपाध्यक्ष छन् । ज्ञानेन्द्रसँग टीका लगाउन पाएकोमा हर्ष विभोर मिश्रले लेखे, ‘यही वर्ष नारायणहिटीमा टीका लगाउन पाइएला भनेको एक वर्ष ढिला हुने देखियो । अर्को वर्ष त पक्का हुन्छ भन्नेमा विश्वस्त छु !’ 

महजोडीलाई माथ गर्ने रवीन्द्र मिश्रको प्रहसनले स्वयं पूर्वराजालाई समेत अप्ठ्यारो परेको हुन सक्छ । मानौं कि, पूर्वराजा नारायणहिटी फर्किने साइत जुरिसकेको छ ।

रवीन्द्र मिश्रजस्तो देश दुनियाँ र भूराजनीति बुझेको व्यक्तिले अर्को वर्ष देशमा राजतन्त्र फर्किएर नारायणहिटीमै टीका लगाउने सपना देख्नु ‘फिक्सन’जस्तै हो । 

थोरै चर्चा गरौं– कुन अवस्थामा नेपालमा राजतन्त्र फर्किन सम्भव होला ? 

ज्ञानेन्द्र शाह (पूर्वराजा) नारायणहिटीबाट नागार्जुन हुँदै निर्मल निवास पुर्‍याउन काठमाडौंमा कति ठूलो आन्दोलन भएको थियो ? राजतन्त्र जोगाउन दरबारप्रति बफादार त्यो बेलाको शाही नेपाली सेनाले कति बल गरेको थियो होला ? त्यसका बाबजुद लाखौं जनता सडकमा ओर्लिए । परिस्थिति राजनीतिक दलका नेताले सम्झौता गरेर पनि नटुंगिने अवस्थामा पुगिसकेको थियो । 

काठमाडौंका जनताले चक्रपथ घेराउ गरेपछि सरकारको समेत नेतृत्व गरेका राजा आफैं झुके । संसद् पुनःस्थापना हुँदै जनताको अभिमतबाट त्यसपछि गणतन्त्र स्थापना भयो । तत्कालीन राप्रपा नेपालका ४ सांसदबाहेक सबैले गणतन्त्रको पक्षमा मतदान गरेका थिए । अर्थात्, ९९ प्रतिशत जनप्रतिनिधिको समर्थनमा देशमा गणतन्त्र स्थापना भएको थियो । 

कुनै पनि व्यवस्था उल्टाउन त्यो व्यवस्था ल्याउन भएको भन्दा ठूलो आन्दोलनको आवश्यकता पर्छ ।

राजतन्त्र फिर्ता गर्न २०६२/०६३ सालको जन–आन्दोलनलाई माथ गर्ने आन्दोलन आवश्यक पर्छ । के निकट भविष्यमा त्यति ठूलो आन्दोलन नेपालमा हुँदैछ ? 

अनि दुर्गा प्रसाईंको जस्तो असंगठित आन्दोलनले नेपालमा राजतन्त्र फर्काइदिन्छ ? असम्भव !

त्यो बेला जनआन्दोलनको नेतृत्व गरेका ७ दल प्लस माओवादीले अपिल गर्दा पनि फेरि त्यसको एकतिहाइ जनता आन्दोलनमा आउन सम्भव छैन ।

आफैंमा थकित पूर्वपञ्चको केही झुण्डसँग राजतन्त्र फिर्ता ल्याउने आन्दोलन गर्ने ताकत शायद बाँकी छैन ।

मनीषा कोइराला र रवीन्द्र मिश्रजस्ता ‘सोसल मिडिया सेलिब्रेटी’हरू दशैंको टीका थाप्न निर्मलनिवास पुगेपछि दशैंको फुर्सदिलो समयमा राजतन्त्रबारे बहस स्वभाविक छ । 

null

गणतन्त्रवादीहरूको लाचारी !

नाम मात्रको ‘कागजी’ गणतन्त्रबाट के नागरिक सन्तुष्ट छन् त ? बिल्कुल छैनन् । गणतन्त्रपछिका कुनै पनि सरकारले जनतालाई सन्तुष्टि दिने ढंगले काम गरेका छैनन् ।

अहिलेका ‘टाइमपास’ सरकारका कार्यक्षमतालाई अंक दिनु पर्दा १०० मा १० नम्बर दिन पनि कन्जुस्याइँ गर्नुपर्छ । 

गणतन्त्र स्थापनाका १७ वर्षमा आलोपालो सरकारको नेतृत्व सम्हालेका दलहरूको कार्यशैली सम्झनलायक छैन, किन्तु राजतन्त्रको भन्दा त बेटर छ ।

निरंकुश राजतन्त्रकालमा नागरिकमाथि भएको ज्यादती यो पुस्ताले अझै बिर्सिसकेको छैन । 

गणतन्त्रका कमजोरी छन्, तर यो व्यवस्थामा फिल्टर हुँदै सक्षमहरू नेतृत्वमा पुग्नेछन् । देशमा अक्षम शासन चलाइरहेकाहरू निकट भविष्यमै बाध्यकारी अवकाशमा जाँदैछन्, सम्भवतः २०८४ सालको चुनावबाट ।

शासन सञ्चालनका पात्रहरू ‘नालायक’ नै भएपनि जनताका छोरा–छोरी राष्ट्रपति बन्न पाउने व्यवस्था खराब हुँदै होइन । शासनमा हालीमुहाली गरिरहेका व्यक्तिको कमजोरीको दोष व्यवस्थालाई दिन मिल्दैन, बरु सक्षमलाई अवसर देऊ भनेर दबाब सिर्जना गर्नुपर्छ । राजनीतिक दलका सदस्य र प्रगतिशील युवाको डिस्कोर्स अब यतातर्फ हुनुपर्छ । 

गणतन्त्र समकालीन नेताहरूले युद्ध लडेर ल्याएको पेन्सन होइन कि उनीहरू मर्दा लिएर जाने । गणतन्त्र जनता जुरुक्क उठेपछि आएको परिवर्तन हो, यसमा जनताको हिस्सेदारी छ । आफूलाई गणतन्त्रको ठेकेदार दाबी गरिहेकाहरूको शेखपछि पनि यो व्यवस्था रहिरन्छ । झन् उन्नत बन्दै जानेछ ।

भुटान भ्रमणको अन्तर्य 

पूर्वराजाले गरेको भुटान भ्रमण र त्यहाँ पाएको ‘सम्मान’लाई लिएर चर्चा चलिरहेको छ । राजनीतिक दलका नेताले समेत यो भ्रमणबारे टिप्पणी गरेर चर्चामा ल्याइदिएका छन् । 

स्वयं ज्ञानेन्द्र शाहले भ्रमणलाई पारिवारिक भनेका छन् । आफ्नो भ्रमणबारे शाहले दशैंको टीकापछि भनेका छन्– ‘हालै म भुटान गएको थिएँ, त्यसको चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो । त्यहाँको राजपरिवार र भुटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रतालाई मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो । त्यहाँँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद र कृतज्ञता दिन चाहन्छु ।’

तर, यहाँ उनको भ्रमणलाई लिएर अनेक थरी चर्चा हुने गरेको छ । कसैको इसारामा ज्ञानेन्द्र इत्यादि । भुटान भ्रमण ज्ञानेन्द्रको पारिवारिक थियो ।

पाहुनालाई सम्मान दिइनु सामान्य शिष्टाचार थियो । भुटान भ्रमणमा गएको, त्यहाँ उनलाई नेपालमा राजतन्त्र ब्यूँताउने आश्वासन दिइएको, आदि 

आफ्ना नागरिकलाई शरणार्थी बनाएर लखेटेजस्तो नेपालमा राजतन्त्र फर्काउने ताकत भुटानसँग छैन, न त स्वदेशको परिस्थिति त्यस्तो छ ।

२१ औं शताब्दीको आधुनिक जमानामा १८ औं शताब्दीमा जस्तो बलजफ्ती राजा थापना गर्ने कुरा सम्भव छैन । जनताले नै नरुचाएपछि कसैको जोडबलले राजतन्त्र फर्किन सम्भव हुने छैन । लोकतान्त्रिक मुलुकमा त्यो जोखिम मोल्न कुनै अदृश्य शक्ति तयार हुने अवस्था पनि देखिएको छैन । 

पूर्वराजाको भ्रमणबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि असान्दर्भिक टिप्पणी गरे– ‘संकटको अभिव्यक्ति’ भनेर । 

‘मलाई कहीँ कतै राजा आउँछन् भन्ने लाग्दैन । त्यो सम्भव छैन । इतिहासको विकासका दृष्टिकोणले राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौं । गणतन्त्रमा गएका जनता राजतन्त्रमा फर्किन विश्व इतिहासमा अपवाद हो । तर, संकटको अभिव्यक्ति गरेको छ,’ सम्पादकहरूसँगको भेटमा प्रचण्डले भनेका थिए । 

पूर्वराजाको भ्रमण कसरी आन्तरिक संकट हो ? पूर्वराजाको भ्रमणले आन्तरिक राजनीतिमा संकट भन्नु गणतन्त्रवादीको नालायकी र लाचारी हो । आफ्नो कमजोरी लुकाउन अरूलाई आरोप लगाउने या षड्यन्त्र देख्ने नेपाली रोग बनिसकेको छ । पूर्वराजा सल्बलाउँदा आन्तरिक संकट कसरी आउँछ भनेर गणतन्त्रवादीले समीक्षा गर्नुपर्दैन ?  

‘गणतन्त्र’को खोल ओडेर राज्यस्रोतमाथि यस्तै लुट कायम रह्यो भने भविष्यमा व्यवस्थामाथि संकट नपर्ला भन्न सकिँदैन । तर, एउटा कुरा ठोकेर भन्न सकिन्छ– रवीन्द्र मिश्रले अर्को वर्ष र आगामी वर्षहरूमा नारायणहिटीमा ‘राजा’बाट टीका लगाउने अवसर पाउने छैनन् । यो विना साइतको हर्षबढाईं धेरै दिन टिक्ने छैन ।

salt training

कमेन्ट गर्नुहोस्