
आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिवार पोखरामा शक्ति प्रदर्शन गर्यो । पोखराको मानवअधिकार चौकमा केन्द्रीय नेतादेखि कार्यकर्तासम्म भेला भएर लामिछाने निर्दोष रहेको ठोकुवा गरे । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल वास्तविक सहकारी ठग रहेको दाबीसहितकाे प्लेकार्ड प्रदर्शनकारीको घाँटीमा झुण्डिएको थियो । उनीहरूले लामिछानेलाई ‘इगो’ साँधेर पक्राउ गरिएको दाबी गरे ।
विरोध कार्यक्रममा सम्बोधन गर्ने रास्वपाका अधिकांश नेता नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध आक्रामक देखिए ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गरेर सरकारसँगै कांग्रेस महामन्त्री थापा पनि नांगिएको टिप्पणी गरे ।
‘धन्यवाद गगन थापा ! तिमी पनि नांगियौं । किनकि, तिमी यो देशमा युवाले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएका मान्छे थियौ । एउटा दलको रुपमा नयाँ राजनीतिक अभ्यास गर्न चाहने र केही पढेलेखेका मान्छे आउँदै गर्दा तिमी आत्तियौ,’ आक्रोशित हुँदै उनले भने ।
सरकारले सहकारीको समस्या समाधान गर्न नभई राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरेको उनको आरोप थियो ।
‘यदि यिनीहरूको उद्देश्य सहकारी समस्या समाधान गर्न भएको भए ८७ अर्बको चर्चा गर्थे । तर यिनीहरू ८७ अर्बको चर्चा गर्दैनन् । यिनीहरू केवल रवि लामिछानेको चर्चा गर्छन् । किनकि यो राजनीतिक प्रतिशोध हो,’ उनले थपे ।
रास्वपाकी नेतृ डा तोसिमा कार्कीले सरकार सहकारीपीडितको पक्षमा नरहेको ठोकुवा गरिन् । पक्राउ परेका पार्टी सभापति लामिछाने सहकारी ठगी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश पोखिन् । ‘सम्पूर्ण सहकारीको रकम फिर्ता गर्ने तपाईँसँग हिम्मत छ ?,’ उनले प्रश्न गरिन् ।
सांसदसमेत रहेकी कार्कीले सरकारको १०० दिने उपलब्धि लामिछानेलाई पक्राउ गर्नु मात्रै रहेको भन्दै व्यंग्य गरिन् ।
‘तपाईँको सरकारको प्राथमिकता के हो ? १०० दिने उपलब्धि के हो ? व्यक्ति समाउने ? यही हो तपाईँको उपलब्धि ? यसका लागि हामीले प्रधानमन्त्री बनायौँ ?,’ उनको प्रश्न थियो ।
कार्कीले कांग्रेस उपसभापति गुरुङ र लेखा समितिका सभापति पोखरेललाई सरकारले जोगाएको आरोप लगाइन् । पार्टी सभापति लामिछाने दोषी देखिए कारबाही भोग्न तयार रहेको उनको भनाइ थियो । सभापतिलाई पक्राउ गर्दैमा रास्वपा नसकिने उनले दाबीसमेत गरिन् ।
‘हामी व्यक्तिलाई जोगाउन लागेका होइनौँ, अभियान जोगाउन यहाँ आएका हौँ । सभापतिलाई जेल हाल्दैमा पार्टी ढल्दैन । जति जिस्काउनु हुन्छ, हामी त्यति नै बलिया हुन्छौँ । जति चिढ्याउनु हुन्छ, अझ शक्तिशाली हुन्छौँ,’ उनले भनिन् ।
पार्टी उपसभापति डा स्वर्णिम वाग्लेले पनि ‘इगो’ साँधेर सभापति लामिछानेलाई पक्राउ गरिएको जिकिर गरे । राजनीतिक पूर्वाग्रह राखेर पक्रिएकाले राजनीतिक रुपमै प्रतिकार गर्ने उनले चेतावनीसमेत दिए ।
‘यिनीहरूको उद्देश्य रवि लामिछानेलाई डाम्नु थियो । एक–दुई दिन भएपनि हिरासतमा कोचेर देखाउँछु भन्ने इगो साँध्नु थियो,’ उनले भने, ‘डर त के हो भने– कानूनलाई बंग्याएर, तोडेर र अनेक पूर्वाग्रह राखेर हाम्रो राजनीतिक अभियानलाई सकाउने अभियान शुरू भएको छ ।’
प्रदर्शनका क्रममा बोल्ने रास्वपाका प्रायः सबै नेताले विवादित व्यवसायी मीनबहादुर गुरुङसँग एमालेको साँठगाँठको विषयलाई जोड दिए । एमालेको पार्टी कार्यालय निर्माणमा गुरुङले गरेको भनिएको सहयोगलाई उनीहरूले घुसको संज्ञा दिए । सोही ‘घुसकाण्ड’लाई ‘डाइभर्ट’ गर्न लामिछानेलाई पक्राउ गरिएको उनीहरूको आरोप छ ।
पोखराको सूर्यदर्शन बचत तथा ॠण सहकारी संस्थाबाट अनधिकृत रुपमा पैसा ल्याएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको संसदीय विशेष छानबिन समितिले औँल्याएका आधारमा त्यसका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई नेपाल प्रहरीले शुक्रवार साँझ पक्राउ गरेको थियो । उनलाई सडकमार्ग हुँदै शनिवार बिहान कास्की ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आइतवार अदालतमा पेश गरिने छ ।
संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा लामिछानेका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी यसअघि नै पक्राउ परिसकेका छन् ।