
माओवादी घटक दलहरूबीच २०६४ सालको विरासत फर्काउने गरी पार्टी एकता गर्नेबारे छलफल अगाडि बढेको छ । यसअघि पनि माओवादीहरूले रणनीतिक रूपमा एकताको चर्चा गर्ने र सेलाउने गरेको थियो । तर, यसपटक भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द विप्लव दुवैले पुरानो प्रभाव फर्काउन माओवादी घटकबीच पार्टी एकता गर्ने उद्घोष गरेका छन् ।
सशस्त्र युद्ध गरेर संविधानसभा संविधान, गणतन्त्र, संघीयताजस्ता मुद्दा स्थापित गरेको दाबी माओवादीले गर्दै आएको छ । जनताका यिनै मुद्दा स्थापित गरेको दाबी गर्दै माओवादी धारका दलहरूले फेरि पुरानो विरासत फर्काउने गरी पार्टी एकता गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
माओवादी घटकबीच देखिने गरी एकताको संस्थागत प्रयास भएको छैन । तर, यसपटक नयाँ ढंगले अगाडि बढ्न खोजेको संकेत दिएका छन् । यसअघिदेखि माओवादीमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन एकताविरोधी हुन् भन्ने भाष्य थियो । तर, यसपटक उनै शर्माले विप्लवसँग एकताको प्रयास गरेका छन् । यसमा पुनको पनि विरोध नभएको बताइन्छ ।
शर्माले केही दिनअगाडि कपिलवस्तुस्थित विप्लवको निवासमै पुगेर माओवादी घटकबीच एकताको प्रस्ताव गरेका हुन् । यसअघि पनि विप्लव माओवादीसँग एकता गर्न लालायित थिए । तर, अध्यक्ष प्रचण्डले हरियो झण्डा देखाएका थिएनन् । तर, यसपटक प्रचण्डको समेत सहमति लिएर शर्मा विप्लवलाई भेट्न उनको निवासमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शर्माले भेट्नुअघि विप्लवले प्रचण्डसँग पटक–पटक एकताबारे छलफल गरेका छन् । पछिल्लो समय माओवादीले आफ्नो धाराका दलबीच एकताबारे केन्द्रीय कमिटीबाट महत्त्वपूर्ण निर्णय लिने बताउँदै आएको छ । विप्लवदेखि डा. बाबुरामसम्मका नेताहरू माओवादीको निर्णयको पर्खाइमा रहेको नेताहरू बताउँछन् ।
शर्माले भेटपछि वामपन्थी एकतालाई बलियो बनाएर जानेबारे कुराकानी भएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । त्यही भेटपछि शनिबार चितवनमा दण्डपाणि (बेपत्ता योद्धा) स्मृति भवन निर्माणका लागि आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डदेखि विप्वलवसम्मले एकतामा जोड दिएका थिए ।
प्रचण्डले माओवादी घटकहरूबीचको एकता चाँडै टुंगोमा पुग्ने बताए । माओवादीबाट फुटेर अहिले नेकपाको महासचिव रहेका विप्लवले त झन् माओवादीहरू एकताबद्ध भए २०६४ सालको जस्तै पहिलो दल बन्ने गरी परिणाम ल्याउन सक्ने बताएका थिए ।
माओवादी उपाध्यक्ष पम्फा भुसाल नवीन ढंगले माओवादी घटकबीच एकताको प्रक्रिया अगाडि बढ्ने बताउँछिन् । ‘यसअघि फागुनतिर हामीले वार्ताका लागि भनेर समिति पनि बनाएका थियौं । तर, त्यसले एकताका लागि प्रभावकारी काम अगाडि बढाएन । अब तिहारपछि बस्ने माओवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकताबारे महत्त्वपूर्ण निर्णय लिन्छ,’ भुसालले लोकान्तरसँग भनिन्, ‘हामीबीच सिद्धान्तमा मतभेद छैन । संगठनमा कसलाई कुन पदमा ल्याउने भन्नेमा अलिकति समस्या हो । वार्ताको टेबलमा बसेपछि यो पनि मिल्छ ।’

कसरी हुँदैछ विप्लवसँग माओवादीको एकता ?
१२ वर्षअगाडि माओवादीबाट बाहिरिएका विप्लवको नेकपा एकताका लागि सबैभन्दा लालयित भएको बताइन्छ । यसअघि माओवादी सत्तामै हुँदा विप्लवले एकतका लागि पार्टी निर्णय गराएका थिए ।
‘दुई वर्ष अगाडिदेखि नै विप्लवसँग एकताबारे छलफल चलेको हो । माओवादी सत्तामा हुँदा विप्लवलाई ल्याउँदा सत्तामा जान हतारो भयो भन्ने सन्देश जाने डर थियो । साथै, विप्लवहरू उहिल्यै पार्टी एकता गर्ने भनेर निर्णय गरेर बसेका छन्,’ माओवादी स्रोतले भन्यो, ‘प्रचण्डको व्यस्तता, जनार्दन र वर्षमानहरूको व्यवस्थापनले केही ढिलाइ भएको हो । अब तिहारलगत्तै बस्ने माओवादी केन्द्रीय कमिटी बैठकले विप्लव र बाबुरामसँग फुटेको महेन्द्रराय यादव नेतृत्वका दलसँग पार्टी एकता गर्छ ।’
वैद्य हुँदै फुटेका धमेन्द्र बास्तोलासँग पनि वार्ताको प्रयास अगाडि बढेको ती नेता बताउँछन् ।
‘विप्लव, महेन्द्र यादव र गंगानाराणहरूले एकता गर्ने पक्का हो । तर, बाबुराम र धमेन्द्रहरूसँग सिरियस वार्ता भएको बुझेका छैनौं,’ ती नेताले भने, ‘अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको सम्मेलन स्थगित गरेको पनि विप्लवको पार्टीलाई ल्याएर गर्नलाई हो भन्ने भित्री हल्ला छ ।’
विप्लवलाई महासचिव दिने ती नेता बताउँछन् ।
‘सम्भवतः जनार्दन र वर्षमानलाई उपाध्यक्षमा ल्याएर विप्लवलाई माओवादीको महासचिव बनाउने तयारी भएको छ,’ माओवादीका ती नेताले भने, ‘पुराना उपाध्यक्षहरूलाई बिदाइ गरेर नयाँलाई अवसर दिने तयारी छ ।’
वरीयतामा माथि रहने भएपछि जनार्दन र वर्तमानले विप्लवलाई शक्तिशाली महासचिव मान्न समस्या नहुने बताएको पनि माओवादी स्रोत बताउँछ ।
माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले बलियो माओवादीका लागि एकताको प्रयास हुनैपर्ने बताए । ‘हिजो हामी सँगै थियौं । जुटेर फेरि एकता गरौं । गुमेको विरासत फर्काऊँ भनेर प्रयास भएका छन्,’ पोखरेलले भने, ‘प्रयास शुरू भएका छन् । यसले विस्तारै संस्थागत आकार लिँदै परिणामसम्म पुग्ने आधार बनाउँछ ।’
सशस्त्र द्वन्द्वपछि भएको २०६४ को निर्वाचनमा माओवादीले ६०१ मा २४० सिट जित्दै सनसनी मच्चाएको थियो । प्रत्यक्षका २४० सिटमा माओवादीले १२० सिट जितेको थियो । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ११० र एमालेले १०३ सिट जितेका थिए । तर, माओवादी त्यसयताका निर्वाचनमा निरन्तर कमजोर बन्दै आएको छ ।
माओवादी २०७० मा ८०, २०७४ मा ५३ र २०७९ को निर्वाचनमा ३२ सिटमा सीमित हुन पुगेको थियो । २०७० यताका चुनाव माओवादीले कि एमाले, कि त कांग्रेससँग मिलेर लड्दै आएको छ । पछिल्लोपटक प्रचण्डलाई विस्थापित गरेर कांग्रेस र एमालेले सरकार बनाएका छन् । यतिमात्रै होइन, २०८४ को चुनावमा गठबन्धन नगर्ने यी दुवै दलको अहिलेसम्मको संस्थागत निर्णय छ । त्यसैले पनि माओवादी दबाबमा देखिन्छ ।
यसबीचमा डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसहितका नेताले पार्टी विभाजन गरेपछि माओवादी झन् धराशायी बन्दै गएको हो । माओवादीमा विभाजन र विग्रहको पहिरो नरोकिएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापाहरू एमालेमा पुगेका थिए ।
माओवादीबाटै विभाजन भए पनि मोहन वैद्य नेतृत्वको पार्टी क्रमशः कमजोर र धराशायी हुँदै गएको छ । कुनै समय बाबुरामको नामले माओवादी चिनिन्थ्यो । तर, उनै बाबुराम यो दलमा छैनन् । माओवादीको मूलधबारबाट अलग भएपछि नयाँ शक्ति, जसपादेखि नेसपासम्म पुगेका बाबुराम ठूलो राजनीतिक ‘सीन’मा छैनन् ।
उनले पनि यसअघि माओवादी धारका दलबीचको एकतामा जोड दिँदै आएका थिए । २०७९ को चुनावमा बाबुरामले प्रचण्डका लागि गोरखा २ को निर्वाचन क्षेत्र छोडिदिए । तर, पनि प्रचण्डले बाबुरामका लागि एकताको हरियो झण्डा देखाएका छैनन् । उनीमात्रै होइन, तराई मधेशमा कुनै समय माओवादीको राम्रो प्रभाव बनाएका प्रभु साह पनि माओवादीभन्दा धेरै पर पुगेको नेताहरू बताउँछन् ।
विभाजनको लहरो र निर्वाचनमा निरन्तरको ओरालो यात्राले माओवादी घटकका सबै दललाई अहिले एकता चाहिएको छ । यसअघि विभाजनलाई खुला रूपले छाडिदिएका प्रचण्डले एकता गर्न चाहनेलाई पनि वास्ता गरेनन् । तर, पछिल्ला तीनवटा निर्वाचनमा भोगेको नमीठो पराजय र नयाँ शक्तिको रूपमा रास्वपाको उदयपछि माओवादी थप चुनौतीमा रहेको बोध प्रचण्डमा देखिन्छ । यसैले माओवादी धारलाई पुनर्गठन नगरे स्थिति थप प्रतिकूल हुने उनको बुझाइ रहेको नेताहरू बताउँछन् ।
‘हामी सबै एकताबद्ध भएर समाजवादी क्रान्ति गर्न लाग्नुपर्ने अवस्था आएको छ । शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भएको थियो । तर, त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै बिन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण हाम्रो थियो,’ प्रचण्डले शनिबार चितवनमा भनेका छन्, ‘हामी अहिले एकताबद्ध भएर जानुपर्छ भन्ने बिन्दुमा पुगेका छौं । सबैलाई एकताबद्ध गराएर समाजवादी क्रान्ति पूरा गर्छौं ।’
माओवादी सचिव गणेश साह माओवादी घटकबीच एकता हुनुपर्छ भन्ने सैद्धान्तिक मत भए पनि व्यावहारिक रूपले निकै कठिन भएको बताउँछन् ।
‘हिजोको विरासत र रजगज फर्काउन पूर्व घटकबीच एकता गरौं र अझै एउटा बलियो माओवादी पार्टी बनाऊँ भनेर सैद्धान्तिक रूपमा लाग्नु स्वाभाविक विषय हो,’ साहले लोकान्तरसँग भने, ‘अहिले प्रचण्डले पार्टी एकताका लागि सैद्धान्तिक रूपले आह्वान गर्नु राजनीतिक नारा हो । तर, व्यवहारिक रूपले माओवादी पार्टीहरूबीच एकीकरणले मूर्त रूप लिइहाल्ला जस्तो लाग्दैन ।’
पार्टीहरूको नेतृत्वमा रहेको सामन्तवादी चरित्र, व्यक्तिगत इगो र पार्टीभित्र पदको लेखाजोखाले विभाजन जस्तो एकीकरण कठिन हुने साह बताउँछन् । सैद्धान्तिक रूपमा एकता भन्ने तर यसको मोडालिटीमा प्रवेश नगर्ने शैलीले पनि समस्या पारेको साह बताउँछन् ।
‘अहिलेको पार्टीको नेतृत्वको चरित्र सामन्तवादी छ । व्यक्तिगत इगोले हाबी छ । यसैले कम्युनिस्ट र माओवादीहरूबीच आन्दोलनका लागि मोर्चा बन्न सहज छ । तर, एकीकरणका लागि सहजता छैन,’ साह भन्छन्, ‘हिजो पार्टी फुटाउँदा एकअर्कालाई अराजनीतिक तहसम्मको आरोप लगाएका छन् । कुन पद दिने भन्ने इगो, आन्तरिक प्रभाव कस्तो पर्ने भन्ने लेखाजोखा धेरै भएको छ । एकताको मोडालिटीबारे कुरा भएको छैन ।’
एकता नै गर्ने हो भने विप्लव भने आउन सक्ने उनी बताउँछन् ।
‘यसअघि प्रयास गरे पनि नभएपछि बाबुराम, महेन्द्र यादव र प्रभु साहहरू एकताको प्रयासबाट धेरै टाढा पुगिसके । विप्लवलाई सुन्दा आउला आउलान् जस्तो देखिन्छन्, तर सजिलो गरी आइहाल्लान् भन्ने पनि लाग्दैन,’ साह भन्छन्, ‘एक अर्काप्रति पूर्ण विश्वास जगाउने र गाँठो फुकाउने काम प्रचण्ड र विप्लवको हो । तर, कम्युनिस्टहरू सके एउटा मोर्चा बनाएर अगाडि बढे पनि यसलाई पनि उपलब्धि मान्नुपर्छ । नत्र माओवादीहरूबीचको एकता प्रचण्डको सेना समायेजानभन्दा पनि गाह्रो काम हो ।’
शान्ति प्रक्रियामा आइसकेपछि पार्टीको लोकतान्त्रीकरण नगरी कम्युनिस्ट पार्टी चलाउन असम्भव हुने साहको मत छ । प्राध्यापक लोकराज बराल कम्युनिस्टहरू मिल्नै नसक्ने र मिले टिक्नै नसक्ने नियतिले घेरिएको बताउँछन् ।
‘पार्टी निरन्तर कमजोर भएपछि रणनीतिक हिसाबले पार्टी एकताको रटान माओवादीका अध्यक्ष प्रचण्डदेखि नेकपाका विप्लवसम्मले लगाएको देखिन्छ । तर सैद्धान्तिक कुराबाहेक व्यावहारिक हिसाबले मिल्ने भनेर वार्ता र संवाद गरेको देखिएको छैन,’ बराल भन्छन्, ‘कम्युनिष्टहरू सकेमसम्म मिल्दैनन्, मिले पनि टिक्दैनन् भन्ने हिजो पुष्पलालदेखि रायमाझीहरूको इतिहास छ । अहिले स्वार्थले मिले पनि यिनीहरू टिक्दैनन् ।’