२३ जेठ २०८३, शनिबार
पर्दा पछाडिको दृश्य

सन्तोषले 'सर्ट फिल्म' बनाउन लेखेको कथा यसरी बन्यो ‘१२ गाउँ’

कात्तिक १०, २०८१
विराटनगर
सन्तोषले 'सर्ट फिल्म' बनाउन लेखेको कथा यसरी बन्यो ‘१२ गाउँ’

यतिबेला नेपाली चलचित्र ‘१२ गाउँ’ले दर्शकको मन जितेको छ । दशैँको फूलपातीमा रिलिज भएको चलचित्रले जति शो पाएको छ, सबैमा उत्कृष्ट अकुपेन्सीसहित प्रदर्शन भइरहेको देखिन्छ । ‘एक्सन फिल्म’ १२ गाउँको प्रदर्शन स्वदेशमा मात्र नभएर यूएईलगायत देशमा पनि भइरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालदेखि गाउँ–शहरसम्म जताततै यसको चर्चा छ । यसै चलचित्रबाट समीर भट्ट ‘नयाँ हिरो’को रूपमा उद्योगमा उदाएका छन् । उनको चर्चा ‘१२ गाउँ’ चलचित्रभन्दा बढी छ ।  

एक्सन अभिनेता विराज भट्टले निर्माण गरेको ‘१२ गाउँ’को कथा भने विराटनगरका सन्तोष सरकारले लेखेका हुन् । चलचित्रमा उनले कथासँगै पटकथा, संवाद पनि लेखेका छन् । साथै उनले चलचित्रमा अभिनय पनि गरेका छन् । 

विराटनगर महानगरपालिका–११ निवासी उनी २६ वर्षदेखि चलचित्र क्षेत्रमा कार्यरत छन् । विसं २०५४ सालमा ‘होस्टेल’ नामक सिरियलदेखि उनले आफ्नो कला यात्रा शुरू गरेका थिए । यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुने गथ्र्याे । मैथिली र थारूलगायत धेरै चलचित्रमा उनको मुख्य भूमिका रहेको छ । त्यसपछि उनले ‘म पर्खिरहन्छु’ नाम चलचित्र निर्देशन गरे । त्यो चलचित्र विराटनगरमै बनेको थियो । 

सन्तोषको यात्रा त्यतिमै सीमित भएन । उनले ‘रङ्गेली’ नामक चलचित्रमा खलनायक (भिलेन)को रोल गरेका थिए । यो चलचित्रमा दयाहाङ राई, मेरुना मगर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रका धेरै विधामा काम गरेको अनुभव बटुलेका सन्तोषलाई कला लेख्नै सहज लाग्छ । आफूलाई चलचित्रको कथा लेख्न लामो समय नलाग्ने उनी बताउँछन् । ‘म ७/८ दिनमै फिल्मको कथा लेखिसक्छु,’ उनले भने । 

अहिलेको ‘१२ गाउँ’को कथा सन्तोषले ‘सर्ट मुभी’ बनाउनेगरी लेखेका थिए । तर, उनलाई कथा राम्रो लागेकाले त्यसलाई फिचर फिल्म (ठूलो पर्दाको चलचित्र) नै बनाउन मन लाग्यो । यसका लागि उनले भारतको मुम्बईका आफ्ना साथी रज्जा खानलाई भेटे । सन्तोषका साथी रहेका रज्जा बलिउडका चलचित्र निर्माता हुन् । ‘फिल्म बनाउन मसँग एउटा राम्रो स्टोरी छ भनेर रज्जाजीलाई सुनाए,’ उनले भने, ‘उहाँले सन्तोषजी स्क्रिप्ट बनाउनुहोस्, हामी फिल्म बनाऊँ भन्नुभयो । उहाँले हिन्दी फिल्म बनाऊँ भन्नुभएको थियो ।’

null

यसपछि सन्तोषले स्क्रिप्ट पनि लेखे । तर, दुर्भाग्यवश सोहीबेला रज्जाका बुवाको मृत्यु भयो । यस्तो घटना क्रममा आफू आत्तिएको सन्तोषले बताए । किनकि उनले करेन्ट स्टोरी बनाउनेगरी कथा लेखेका थिए । ‘करेन्ट स्टोरी भएकाले रोकेर राख्न नमिल्ने थियो,’ उनले सुनाए ।  

यसपछि सन्तोषले विकल्प खोजेर भए पनि चलचित्रको कथा नमार्ने सोचे । अनि विराज भट्टलाई सम्झिए । विराजसँग सन्तोषको करिब चार वर्षअगाडि चिनजान भएको थियो । सन्तोषलाई विराजसँग रज्जाले नै भेट गराइदिएका थिए ।  रज्जा र विराज पनि साथी हुन् । 

रज्जा विराटनगर आउनासाथ विराट पनि त्यहीँ पुग्ने गरेका थिए । त्यतिबेला विराजलाई सन्तोषले ‘मुटके सांसद जिन्दाबाद’ नामक चलचित्र बनाऊँ भनेर त्यसको कथा तथा स्क्रिप्ट पनि सुनाएका थिए । ‘विराजजीले पहिलो भेटमै कथा मन पराएर काठमाडौं आउन आग्रह गर्नुभएको थियो,’ उनले भने ‘यो फिल्म बनाउँ भन्नुभयो । तर, म समयमा काठमाडौं जान नसकेपछि काम रोकियो ।’

यसपछि पनि सन्तोषलाई कथा मर्लाकी भन्ने पीरले छोडेन । यसपछि उनले विराजलाई फोन गरे । ‘उहाँले पनि काठमाडौं आउनुहोस् भन्नुभयो । काठमाडौं गएर विराजजीलाई स्टोरी सुनाएँ । उहाँले यो फिल्म बनाऊँ, बरु स्क्रिप्टलाई अझै माझौँ भन्नुभयो । त्यसपछि मैले दुईवटा पार्ट बनाएर लेखेँ,’ उनले भने ।  

कथा लेख्नका बाबजुद पार्ट–२ बनाउने या नबनाउने भनेर अन्योलता छाएको सन्तोषले बताए । उनका अनुसार पहिलो पार्टमा समीर थिएनन् । यसपछि एउटै पार्ट बनाउने निष्कर्षसहित समीरलाई ‘इन्ट्री’ गराइएको उनको भनाइ छ । ‘पहिलो फिल्म फ्लप भयो भने दोस्रो बन्दैन । यसैले एउटै पार्ट बनाऊँ भनेर सल्लाह भयो । नाम १२ गाउँ जुराइयो,’ उनले भने, ‘अनि क्यारेक्टरको खोजी गर्दा विराजका छोरा समीरलाई इन्ट्री गराइएको हो ।’ 

दोस्रो पार्टमा सन्तोषले बाल्यकालका विषयबस्तु तथा ‘पावरफुल सिन’ झल्किने गरी कथा लेखेका थिए । दुई पार्ट एउटै बनाउँदा त्यो चलचित्रमा छुटेको उनले बताए । दुईवटै पार्ट बनाएको भए पनि दर्शकले अहिलेजस्तै मनोरञ्जन पाउने उनको दाबी छ ।  

नेपाली चलचित्र उद्योगलाई भारतसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरमा लाने भन्ने आफ्नो सोच रहेको सन्तोषले बताए । ‘नेपाली इन्डस्ट्रीमा धेरै पैसा छैन । लगानीकर्ताले धेरै लगानी गर्न सक्ने अवस्था छैन । बजार पनि सानो छ । आफ्नो स्रोत–साधनले कति गर्न सकिन्छ भन्ने हो । कथाबस्तु पनि त्यसैमा आधारित भएर लेख्ने गरेको छु,’ उनले भने ।

‘१२ गाउँ’को कथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रलाई समेटेर लेखिएको सन्तोषले बताए । त्यसैमा एउटा काल्पनिक गाउँ पनि समेटिएको थियो । ‘कोही छिर्न तथा निस्कन नसक्ने गाउँ सम्झेर त्यसैको परिधिमा रही मैले कथा लेखेको हुँ,’ उनी भन्छन् । 

दर्शकलाई ‘सस्पेन्स’ राख्नेगरी चलचित्रको नाम ‘१२ गाउँ’ राखिएको सन्तोषले बताए । ‘१२ वटा गाउँ वा एउटै गाउँको कथा के हो भनेर छुट्याउनकै लागि भनेर फिल्म हलसम्म पुग्नैपर्ने बाध्यता होस् भन्ने हेतुले यस्तो शीर्षक राखेको हुँ,’ उनले भने । 

फिल्ममा देखाइएको गाउँ भने मकवानपुर र सिन्धुलीको सीमानामा भन्ने ठाउँको फापरबारी भन्ने ठाउँको हो । त्यो कथा अनुसारको लोकेसन त्यहाँ भेटिएको सन्तोषले बताए । ‘१२ गाउँ’का धेरै डायलग (संवाद) हिट भएका छन् । सन्तोषले डायलग लेख्दा ‘गल्ती नगर अर्जुन, फेरि जाला नि चट्टै’ भनेर लेखेका थिए  ।

त्यसमा विराजले जान्छ होइन, तर जान्छ चट, चट, चट’ भनेर थपेका थिए ।  ‘डायलग बनाउन मेरो र विराजजीको बराबरी भूमिका छ,’ सन्तोष भन्छन् ।

रिलिजको दुई दिनअगाडिसम्म भने फिल्म चल्दैन कि भन्ने डर लागेको उनी बताउँछन्  । ‘ट्रेलर सबै हिट भइसकेका थिए । हलमा लागेपछि लेखकको काँधमा आउँछ । यदि स्टोरी राम्रो छैन भने त्यो फिल्म चल्दैन । स्टोरीमा नौलोपन भएकाले दर्शकले मन पराए,’ उनको भनाइ छ ।  

‘१२ गाउँ’का ‘साम्राज्य तेरो सिंहासन तेरो तर राज मेरो’, ‘निरंकुश प्रशासन र पराधिनको शक्ति कहिल्यै टिक्न सक्दैन,’ ‘एउटै जङ्गलमा दुईवटा बाघ कहिल्यै रहन सक्दैन’ जस्ता संवाद चर्चित भएका छन् । यी संवाद विशेषगरी टिकटकमा भाइरल भएका छन् । 

यो चलचित्रमा सन्तोषले भिलेनको रोल गरेका छन् । पूर्वदेखि पश्चिमसम्मका सबै फाइटर यो चलचित्रमा देखिएको उनले बताए ।  हिन्दी चलचित्रका लागि लेखेको कथा नेपालीमा उनुवाद गर्दा अलि बिग्रिएको र बनाउँदा समय लागेको उनले बताए । चलचित्र हिट हुँदा पनि सन्तोषको चर्चा भने कमै छ । जे भए पनि उनी दर्शकलाई राम्रो मनोरञ्जन दिन पाएकोमा खुसी छन् ।

salt training

कमेन्ट गर्नुहोस्