
यतिबेला नेपाली चलचित्र ‘१२ गाउँ’ले दर्शकको मन जितेको छ । दशैँको फूलपातीमा रिलिज भएको चलचित्रले जति शो पाएको छ, सबैमा उत्कृष्ट अकुपेन्सीसहित प्रदर्शन भइरहेको देखिन्छ । ‘एक्सन फिल्म’ १२ गाउँको प्रदर्शन स्वदेशमा मात्र नभएर यूएईलगायत देशमा पनि भइरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालदेखि गाउँ–शहरसम्म जताततै यसको चर्चा छ । यसै चलचित्रबाट समीर भट्ट ‘नयाँ हिरो’को रूपमा उद्योगमा उदाएका छन् । उनको चर्चा ‘१२ गाउँ’ चलचित्रभन्दा बढी छ ।
एक्सन अभिनेता विराज भट्टले निर्माण गरेको ‘१२ गाउँ’को कथा भने विराटनगरका सन्तोष सरकारले लेखेका हुन् । चलचित्रमा उनले कथासँगै पटकथा, संवाद पनि लेखेका छन् । साथै उनले चलचित्रमा अभिनय पनि गरेका छन् ।
विराटनगर महानगरपालिका–११ निवासी उनी २६ वर्षदेखि चलचित्र क्षेत्रमा कार्यरत छन् । विसं २०५४ सालमा ‘होस्टेल’ नामक सिरियलदेखि उनले आफ्नो कला यात्रा शुरू गरेका थिए । यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुने गथ्र्याे । मैथिली र थारूलगायत धेरै चलचित्रमा उनको मुख्य भूमिका रहेको छ । त्यसपछि उनले ‘म पर्खिरहन्छु’ नाम चलचित्र निर्देशन गरे । त्यो चलचित्र विराटनगरमै बनेको थियो ।
सन्तोषको यात्रा त्यतिमै सीमित भएन । उनले ‘रङ्गेली’ नामक चलचित्रमा खलनायक (भिलेन)को रोल गरेका थिए । यो चलचित्रमा दयाहाङ राई, मेरुना मगर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रका धेरै विधामा काम गरेको अनुभव बटुलेका सन्तोषलाई कला लेख्नै सहज लाग्छ । आफूलाई चलचित्रको कथा लेख्न लामो समय नलाग्ने उनी बताउँछन् । ‘म ७/८ दिनमै फिल्मको कथा लेखिसक्छु,’ उनले भने ।
अहिलेको ‘१२ गाउँ’को कथा सन्तोषले ‘सर्ट मुभी’ बनाउनेगरी लेखेका थिए । तर, उनलाई कथा राम्रो लागेकाले त्यसलाई फिचर फिल्म (ठूलो पर्दाको चलचित्र) नै बनाउन मन लाग्यो । यसका लागि उनले भारतको मुम्बईका आफ्ना साथी रज्जा खानलाई भेटे । सन्तोषका साथी रहेका रज्जा बलिउडका चलचित्र निर्माता हुन् । ‘फिल्म बनाउन मसँग एउटा राम्रो स्टोरी छ भनेर रज्जाजीलाई सुनाए,’ उनले भने, ‘उहाँले सन्तोषजी स्क्रिप्ट बनाउनुहोस्, हामी फिल्म बनाऊँ भन्नुभयो । उहाँले हिन्दी फिल्म बनाऊँ भन्नुभएको थियो ।’

यसपछि सन्तोषले स्क्रिप्ट पनि लेखे । तर, दुर्भाग्यवश सोहीबेला रज्जाका बुवाको मृत्यु भयो । यस्तो घटना क्रममा आफू आत्तिएको सन्तोषले बताए । किनकि उनले करेन्ट स्टोरी बनाउनेगरी कथा लेखेका थिए । ‘करेन्ट स्टोरी भएकाले रोकेर राख्न नमिल्ने थियो,’ उनले सुनाए ।
यसपछि सन्तोषले विकल्प खोजेर भए पनि चलचित्रको कथा नमार्ने सोचे । अनि विराज भट्टलाई सम्झिए । विराजसँग सन्तोषको करिब चार वर्षअगाडि चिनजान भएको थियो । सन्तोषलाई विराजसँग रज्जाले नै भेट गराइदिएका थिए । रज्जा र विराज पनि साथी हुन् ।
रज्जा विराटनगर आउनासाथ विराट पनि त्यहीँ पुग्ने गरेका थिए । त्यतिबेला विराजलाई सन्तोषले ‘मुटके सांसद जिन्दाबाद’ नामक चलचित्र बनाऊँ भनेर त्यसको कथा तथा स्क्रिप्ट पनि सुनाएका थिए । ‘विराजजीले पहिलो भेटमै कथा मन पराएर काठमाडौं आउन आग्रह गर्नुभएको थियो,’ उनले भने ‘यो फिल्म बनाउँ भन्नुभयो । तर, म समयमा काठमाडौं जान नसकेपछि काम रोकियो ।’
यसपछि पनि सन्तोषलाई कथा मर्लाकी भन्ने पीरले छोडेन । यसपछि उनले विराजलाई फोन गरे । ‘उहाँले पनि काठमाडौं आउनुहोस् भन्नुभयो । काठमाडौं गएर विराजजीलाई स्टोरी सुनाएँ । उहाँले यो फिल्म बनाऊँ, बरु स्क्रिप्टलाई अझै माझौँ भन्नुभयो । त्यसपछि मैले दुईवटा पार्ट बनाएर लेखेँ,’ उनले भने ।
कथा लेख्नका बाबजुद पार्ट–२ बनाउने या नबनाउने भनेर अन्योलता छाएको सन्तोषले बताए । उनका अनुसार पहिलो पार्टमा समीर थिएनन् । यसपछि एउटै पार्ट बनाउने निष्कर्षसहित समीरलाई ‘इन्ट्री’ गराइएको उनको भनाइ छ । ‘पहिलो फिल्म फ्लप भयो भने दोस्रो बन्दैन । यसैले एउटै पार्ट बनाऊँ भनेर सल्लाह भयो । नाम १२ गाउँ जुराइयो,’ उनले भने, ‘अनि क्यारेक्टरको खोजी गर्दा विराजका छोरा समीरलाई इन्ट्री गराइएको हो ।’
दोस्रो पार्टमा सन्तोषले बाल्यकालका विषयबस्तु तथा ‘पावरफुल सिन’ झल्किने गरी कथा लेखेका थिए । दुई पार्ट एउटै बनाउँदा त्यो चलचित्रमा छुटेको उनले बताए । दुईवटै पार्ट बनाएको भए पनि दर्शकले अहिलेजस्तै मनोरञ्जन पाउने उनको दाबी छ ।
नेपाली चलचित्र उद्योगलाई भारतसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरमा लाने भन्ने आफ्नो सोच रहेको सन्तोषले बताए । ‘नेपाली इन्डस्ट्रीमा धेरै पैसा छैन । लगानीकर्ताले धेरै लगानी गर्न सक्ने अवस्था छैन । बजार पनि सानो छ । आफ्नो स्रोत–साधनले कति गर्न सकिन्छ भन्ने हो । कथाबस्तु पनि त्यसैमा आधारित भएर लेख्ने गरेको छु,’ उनले भने ।
‘१२ गाउँ’को कथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रलाई समेटेर लेखिएको सन्तोषले बताए । त्यसैमा एउटा काल्पनिक गाउँ पनि समेटिएको थियो । ‘कोही छिर्न तथा निस्कन नसक्ने गाउँ सम्झेर त्यसैको परिधिमा रही मैले कथा लेखेको हुँ,’ उनी भन्छन् ।
दर्शकलाई ‘सस्पेन्स’ राख्नेगरी चलचित्रको नाम ‘१२ गाउँ’ राखिएको सन्तोषले बताए । ‘१२ वटा गाउँ वा एउटै गाउँको कथा के हो भनेर छुट्याउनकै लागि भनेर फिल्म हलसम्म पुग्नैपर्ने बाध्यता होस् भन्ने हेतुले यस्तो शीर्षक राखेको हुँ,’ उनले भने ।
फिल्ममा देखाइएको गाउँ भने मकवानपुर र सिन्धुलीको सीमानामा भन्ने ठाउँको फापरबारी भन्ने ठाउँको हो । त्यो कथा अनुसारको लोकेसन त्यहाँ भेटिएको सन्तोषले बताए । ‘१२ गाउँ’का धेरै डायलग (संवाद) हिट भएका छन् । सन्तोषले डायलग लेख्दा ‘गल्ती नगर अर्जुन, फेरि जाला नि चट्टै’ भनेर लेखेका थिए ।
त्यसमा विराजले जान्छ होइन, तर जान्छ चट, चट, चट’ भनेर थपेका थिए । ‘डायलग बनाउन मेरो र विराजजीको बराबरी भूमिका छ,’ सन्तोष भन्छन् ।
रिलिजको दुई दिनअगाडिसम्म भने फिल्म चल्दैन कि भन्ने डर लागेको उनी बताउँछन् । ‘ट्रेलर सबै हिट भइसकेका थिए । हलमा लागेपछि लेखकको काँधमा आउँछ । यदि स्टोरी राम्रो छैन भने त्यो फिल्म चल्दैन । स्टोरीमा नौलोपन भएकाले दर्शकले मन पराए,’ उनको भनाइ छ ।
‘१२ गाउँ’का ‘साम्राज्य तेरो सिंहासन तेरो तर राज मेरो’, ‘निरंकुश प्रशासन र पराधिनको शक्ति कहिल्यै टिक्न सक्दैन,’ ‘एउटै जङ्गलमा दुईवटा बाघ कहिल्यै रहन सक्दैन’ जस्ता संवाद चर्चित भएका छन् । यी संवाद विशेषगरी टिकटकमा भाइरल भएका छन् ।
यो चलचित्रमा सन्तोषले भिलेनको रोल गरेका छन् । पूर्वदेखि पश्चिमसम्मका सबै फाइटर यो चलचित्रमा देखिएको उनले बताए । हिन्दी चलचित्रका लागि लेखेको कथा नेपालीमा उनुवाद गर्दा अलि बिग्रिएको र बनाउँदा समय लागेको उनले बताए । चलचित्र हिट हुँदा पनि सन्तोषको चर्चा भने कमै छ । जे भए पनि उनी दर्शकलाई राम्रो मनोरञ्जन दिन पाएकोमा खुसी छन् ।