
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्यका लागि समझदारी भएको छ ।
ललितपुरमा शुक्रबारदेखि शुरू भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका अवसरमा आज सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्राडा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डाओ बोङ याङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरसँगै उनीहरूबीच पाँच बुँदे समझदारीपत्र आदानप्रदान भएको छ।
शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा पन्तले जानकारी दिए ।
समझदारीमा विश्वविद्यालयको विषयगत सङ्काय, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गर्ने कुरा उल्लेख गरिएको सम्मेलनका संयोजक सहायक प्राध्यापक टङ्क मुखियाले जानकारी गराए ।
सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थी, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान, संयुक्त रुपमा अनुसन्धान सञ्चालन, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने समझदारी भएको हो ।
सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्राडा ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइज गरेका थिए ।
उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरे ।