१५ असार २०८३, सोमबार

नेपालमा डेङ्गुका ३ प्रकारका भाइरस सक्रिय, सबैभन्दा बढी बिरामी कास्कीमा

कात्तिक १३, २०८१
काठमाडौं
नेपालमा डेङ्गुका ३ प्रकारका भाइरस सक्रिय, सबैभन्दा बढी बिरामी कास्कीमा

नेपालमा डेङ्गुका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । 

डेङ्गुका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । 'भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ,' उनले भने ।

शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुन्छ ।

उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गु सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए । ​

डेङ्गु सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ । 

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । 

उपत्यकामा डेङ्गु सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ । काठमाडौंमा चार हजार ६० जना,  भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । 

वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो । ​

डेङ्गु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्