१५ असार २०८३, सोमबार
रास्वपामा पनि गुटगत संघर्ष

हिरासतबाटै पार्टी चलाउँदै रवि, दुई पक्षीय टसलका कारण कार्यवाहक तोक्न सकस

कात्तिक १४, २०८१
काठमाडौं
हिरासतबाटै पार्टी चलाउँदै रवि, दुई पक्षीय टसलका कारण कार्यवाहक तोक्न सकस

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको ११ दिन बितेको छ ।

रवि पक्राउ परेर उनीमाथिको अनुसन्धान न्याायिक प्रक्रियामा प्रवेश गरिसकेपछि पनि रास्वपाले कार्यवाहक सभापति तोकेको छैन ।

रविमाथि सहकारी ठगी, संगठित अपराध र कीर्तेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्कीको सूर्यदर्शन सहकारीको पैसा अनधिकृतरूपमा गोरखा मिडियामा ल्याएर अपचलन गरेको भन्दै रविमाथि पोखरामा अनुसन्धान भइरहेको हो । 

कास्की जिल्ला अदालतबाट शुरूमा ६ र त्यसपछि ७ दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । यो भनेको गम्भीर प्रकरणको अनुसन्धान हो । तर, रविले आफ्नो मुद्दाको किनारा नलागे पनि रास्वपाको विधानअनुसार कार्यवाहक सभापति तोकेर पार्टी चलाउने जिम्मा दएिका छैनन् । बरु २ कात्तिकमा पक्राउ परेलगत्तैदेखि उनले सिंगो पार्टीलाई आफूसँगै पोखरा उतारे । 

पदाधिकारी, संसदीय दल र केन्द्रीय कमिटीलाई पोखरा उतारेर रविले आफ्नो रिहाइका लागि आन्दोलन गर्न निर्देशन दिए । रविको निर्देशनपछि पोखरामा निषेधित क्षेत्र तोड्ने र अदालतको गेटअगाडि समेत विरोध प्रदर्शन गर्ने क्रम चल्यो ।

आफूमाथि राजनीतिक प्रतिशोध साँधेको दाबीसहित रास्वपाको सिंगो टीम पोखरामा परिचालन भएको थियो । म्याद थपिएर प्रक्रिया लामो हुने भएपछि गत शुक्रबारबाट रास्वपा काठमाडौंकेन्द्रित विरोध प्रदर्शनमा छ । तर, सभापति प्रहरी हिरासतमा हुँदा रास्वपा कसले चलाउने भन्ने टुंगो छैन । कास्कीपछि काठमाडौंतर्फ आन्दोलन र विरोध केन्द्रित गरेको रास्वपाले कसैलाई पनि कार्यवाहक नतोक्ने संकेत गरिसकेको छ । 

यसैबीच, कात्तिक १० गते रास्वापको केन्द्रीय समिति बैठक बस्यो । तर, बैठकको अध्यक्षताबारे रास्वपाले केही खुलाएको छैन । बरु सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखेको निर्णय गर्दै रिहाइको माग गर्‍यो । रविपछि रास्वपामा डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले उपसभापति छन् । 

यी दुईमध्ये एकले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुपर्ने हो । तर, रास्वपाले कार्यवाहक तोकेन । रास्वपा विधानको धारा २४ (३) (२) अनुसार सभापतिले दुईमध्ये एक उपसभापतिलाई कार्यवाहक सभापति तोक्न सक्नेछन् । 

विधानमै ज्येष्ठ उपसभापति वा सभापतिले तोकेको उपसभापतिले कार्यवाहकको जिम्मेवारी पाउने व्यवस्था छ । गत निर्वाचनलगत्तै नागरिकता प्रकरणमा सभापति लामिछाने दोषी प्रमाणित भएपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । 

अहिले रास्वपाले आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गरेको छ ।

साथै, ‘राजनीतिक नागरिक संवादका लागि’ भन्दै अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरिएको छ । तर, यी समितिले के–के गर्ने भनेर प्रस्ट टीओर रास्वपाले दिएको छैन ।

घोषणा गरेर नदिए पनि केन्द्रीय समितिको बैठकको अध्यक्षता अर्यालले नै गरेका थिए । 

स्रोतका अनुसार दुवैले कार्यवाहक सभापतिमा दाबेदारी गरेपछि सन्तुलनका लागि भन्दै दुवैलाई मिलाउन खोजिएको हो । दुवैले एक अर्कालाई नस्वीकार्ने भएकाले रविले बीचको विकल्प अपनाएको देखिन्छ ।

रास्वपा गठनदेखि पार्टीमा लागेका डोलप्रसादले कार्यवाहकका लागि दाबेदारी बढाएका छन् । उमेरमा वाग्लेभन्दा अर्याल चार दिनले कान्छा छन् । तर, पनि संस्थापक भएको हिसाबले कार्यवाहक आफैंले पाउनुपर्ने दाबी अर्यालको छ । वाग्ले पनि सहजै अर्याललाई कार्यवाहक मान्न तयार देखिन्नन् ।

कांग्रेसबाट टिकट नपाएपछि तनहुँमा उपनिर्वाचनको टिकट लिएर वाग्ले रास्वपामा आएका थिए । एउटालाई कार्यवाहक दिँदा पार्टीभित्रको गुटबन्दी सतहमा नै आउने भएपछि रविले कसैलाई पनि घोषित रूपमा कार्यवाहक सभापति नदिएको हुन सक्ने रास्वपानिकट स्रोत बताउँछ । 

null

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा सभापति केही दिनमै छुट्ने विश्वासमा कार्यवाहक नतोकिएको बताउँछन् । ‘हाम्रो सभापति पक्राउ परे पनि लामो समयका लागि भित्र हुनुहुन्न भन्नेमा हामी छौं । केही दिनका लागि मात्रै हो । केही दिनमा निर्णय हुन्छ भनेर पनि हो । संसदीय दलको नेता अन्तिमपटक डीपी अर्याललाई तोक्दा चुनाव नहुँदासम्मका लागि भन्ने प्रस्टै थाहा थियो,’ झाले लोकान्तरसँग भने, ‘त्यसैले त्यतिखेर रातारात तोकेका थियौं । तर, अहिले सभापतिलाई आजै छाड्छ कि भोलि छाड्छ भन्ने जस्तो भइरहेको छ । हामी यही आश र विश्वासमा भएकाले कार्यवाहक सभापति नतोकेको हो ।’ 

झा दुईमध्ये एक उपसभापतिलाई कार्यवाहक बनाउँदा सन्तुलन नहुने बताउँछन् । 

‘दुई उपसभापतिमा स्वर्णिम दाइ डीपी दाइभन्दा ४ दिनले जेठो हुनुहुन्छ । यस्तोमा उमेरका आधारमा वा सभापतिले छानेको व्यक्ति कार्यवाहक सभापति हुने हो । तर, दुई उपसभापतिमा एउटालाई छान्ने डिसिजन सजिलो छैन । एउटालाई छान्दा सन्तुलित हुँदैन । राजनीतिमा सन्तुलन एकदम आवश्यक हुन्छ,’ झाले भने, ‘अर्कातिर हामी विषम परिस्थितिमा छौं । गलत अभ्यास गरेको वा विधान नमानेको होइन । हामी दलमात्रै होइनौं, अभियान हौं । प्रमुख अभियन्ता (सभापति) भित्र भएका बेला थप तनाव नलिऊँ भनेर पनि कार्यवाहक नतोकिएको हो ।’ 

रास्वपामा कांग्रेसबाट आएदेखि नै वाग्लेले मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठसहितका नेताहरूको समूह बनाउन खोजेका छन् । अर्कातिर संस्थापन मान्ने पुरानो समूहका रूपमा उपसभापति अर्याललाई विपिन आचार्य, सन्तोष परियार, सोविता गौतमहरूको साथ रहेको बताइन्छ ।  

‘रवि लामिछाने टेलिभिजन प्रस्तोता हुँदा फाइदा हुन्छ भनेर जीबी राईहरूबाट पनि पैसा ल्याए । यही पैसाको पछाडि लागेर राजनीति गर्नेहरू पनि छन् । तर, फेरि केही पैसा राजनीतिबाट आउँछ भनेर यता हाम्फाले । जहाँ स्वार्थ बाझिएका म्यानपावर व्यवसायी डोलप्रसाददेखि विपिन आचार्यसम्म जोडिए । अर्थात्, छिटो पैसा कमाउन हिँडेको एउटा पक्ष छ,’ स्रोतले भन्यो, ‘अर्कातिर पुरानो कांग्रेस भनिने पक्षको वकालत स्वर्णिम वाग्लेले गरेका छन् । जहाँ पूर्व कांग्रेसका मनिष झासहितका नेताको समूह छ । त्यहाँ कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैतिरबाट आएका नेता कार्यकर्ता छन् । रास्वपा फरक–फरक यजमानबाट दान ल्याइएको गाईको बथान जस्तै भएको छ ।’

सभापति पक्राउको विरोधमा रास्वपा कास्कीदेखि काठमाडौंसम्म विरोध प्रदर्शनमा उत्रिएको छ । तर, प्रदर्शन गर्दैगर्दा रास्वपाको एउटा समूह राजनीतिक भेटघाटमा पनि व्यस्त छ । 

उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै सभापतिको मुद्दा फिर्ता लिने वातावरण बनाइदिन हारगुहार गरेका छन् । आन्दोलनलाई मत्थर बनाउन समेत तयार रहेको सन्देश उनले नेताहरूलाई दिएका छन् । तर, प्रधानमन्त्रीले न्यायिक प्रक्रियामा अगाडि बढेको विषयमा केही गर्न नसक्ने जवाफ दिएको स्रोत बताउँछ । प्रधानमन्त्रीले सडकमा आपत्तिजनक अभिव्यक्ति दिने र राजनीतिक लबिङ पनि गर्ने भन्दै असन्तुष्टि जनाएका छन् । 

रविको एकल ब्रान्डमा रास्वपा स्थापित भएकाले कुनै पनि नेताले रविमाथि कार्यवाहकको दबाब बढाउन सकेका छैनन् । राजनीतिक विश्लेषक मुमाराम खनाल महाधिवेशन भएर एउटा पार्टीको कोर्स पूरा नगरेकाले पनि एउटै व्यक्तिको वरिपरि रास्वपा घुमेको बताउँछन् । 

‘महाधिवेशन भएर प्राकृतिक कोर्स यो पार्टीले पूरा गरेको छैन । एउटा मान्छेको वरिपरि राजनीति घुमेको छ । संस्थागत चरित्र बनाउन र पार्टीको संरचना बनाउन एउटा समय लाग्छ,’ खनाल भन्छन्, ‘पार्टी बन्नका लागि अर्ग्यानिक अवधि यसले पाएको छैन । वैधानिकरूपले पार्टी भयो, प्राकृतिक लय समातेपछि रास्वपा बल्ल एउटा ठाउँमा आउला भन्ने लाग्छ ।’ 

तर, मुख्य नेतालाई नै आरोप लाग्दा कार्यवाहक दिएर जाँदा राम्रो हुने उनी बताउँछन् । 

‘वैधानिकरूपले भन्दा आरोप लागेका व्यक्तिले कार्यवाहक दिनुपर्छ,’ खनाल भन्छन्, ‘भर्खरै बन्न लागेको पार्टीमा आन्तरिक समीकरण नखल्बलियोस् भन्नेतिर बढी चासो राखेको देखिन्छ । दुई उपसभापतिमध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा समस्या पनि होला ।’ 

अरूमाथि प्रश्न उठाए पनि एजेन्डा हेर्दा रास्वपाले समेत वैकल्पिक राजनीतिक चरित्र व्यवहारमा नदेखाएको उनी बताउँछन् । पार्टीका नियमित गतिविधिका लागि सभापति वा कार्यवाहक सभापति चाहिन्छ । 

कास्कीपछि अन्यत्र पनि रविमाथि मुद्दा 

पोखरापछि बुटवलको सुप्रिम सहकारीबाट पनि गोरखा मिडियामा गैरकानूनी रूपले पैसा गएकोमा रविको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । गोरखा मिडियाका अर्का सञ्चालक छविलाल जोशी रविभन्दा पनि अगाडि पक्राउ परेका थिए । उनीसँग कास्की हुँदै बुटवलमा समेत बयान भइसकेको छ । 

यी दुई ठाउँमात्रै होइन, वीरगञ्जको सानो पाइला, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट अनधिकृत रूपमा गोरखा मिडियामा रकम आएको निष्कर्ष छानबिन समितिले निकालिसकेको छ । समितिले यी सहकारी प्रकरणमा पनि लामिछानेमाथि अनुसन्धान हुने प्रस्टै देखाएको छ । उनीमाथिको अनुसन्धान अब एकपछि अर्को जिल्लामा केन्द्रित हुनेछ । जुन प्रक्रियाका लागि लामो अवधि लाग्ने निश्चितजस्तै छ । 

salt training

कमेन्ट गर्नुहोस्