
मद्यपान शारीरिक स्वास्थ्य र आर्थिक स्वास्थ्यका लागि हानिकारक छ। मदिरा प्रयोगले मानिसको जीवनमा धेरै गम्भीर समस्याहरू निम्त्याइरहेको छ। मानिसको अकाल मृत्युको कारणमध्ये एक मदिरा पनि हो।
मदिरा प्रयोगकै कारण कयौं मानिसका पारिवारिक जीवन तहसनहस भएका छन्। यति हुँदाहुँदै पनि मानिसहरू मदिरा प्रयोग गरिरहेका छन्। कतिपय मानिस यस्ता हुन्छन्, जो २४सै घण्टा मदिरा प्रयोग गरिरहेका छन्। उनीहरू मदिरा सेवन नगरेर बस्नै सक्दैनन्।
मदिरा प्रयोग गरेपछि मानिस लठ्ठ हुन्छन्, जिब्रो लर्बराउँछन्। मदिरा सेवनका बेला मानिसले स्मरणशक्ति गुमाउने, रुने, हाँस्ने लगायतका हर्कत गर्छन्। आखिर कि यस्तो हुन्छ? कस्ता व्यक्तिलाई मदिराको लत लाग्छ? हामी तपाईंलाई केही जानकारी दिँदैछौं।
मदिरा एक नशालु पदार्थ हो। जसको अधिक सेवनले हानी गर्नुका साथै मानिसमा लत लाग्ने गर्छ। जब मदिराजन्य पदार्थ मानिसको शरीरमा प्रदर्शन प्रवेश गर्छ,शरीर शिथिल हुँदै जान्छ। मिथेनबाट बन्ने अल्कोहललाई मिथाइल अल्कोहल र इथेनबाट बन्ने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ। इथाइल अल्कोहललाई इथानोल पनि भन्ने गरिन्छ। पेयपदार्थको लागि प्रयोग गरिने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ।
दिमागमा कस्तो असर पर्छ?
जब हामी मदिरा प्रयोग गर्छौं, त्यसमा एक खास पदार्थ हुन्छ। जसको नाम इथानोल हो। यो धेरै सानो कण हो, जुन शरीरमा सजिलै घुलमिल हुन्छ। जसरी पानीमा चिनी घुल्छ।
हाम्रो शरीरमा पानीको मात्र धेरै हुने भएकाले इथानोल हाम्रो शरीरको सबै भागमा पुग्छ। खासगरी हाम्रो दिमागमा। दिमागमा पुगेपछि यसले दिमागको त्यस भागलाई प्रभावित गर्छ जहाँ सोच्ने,याद राख्ने र सही तरिकाले काम गर्न सहयोग गर्ने तन्तु हुन्छ।
यसकारण मदिराको मात्रा बढ्दै गएपछि मानिसको स्मरणशक्ति हराउने, अनौठा अनौठा कुरा गर्ने हुन्छ।
किन लाग्छ मदिराको लत?
मानिसहरू अक्सर सोच्छन्, मदिरा यति धेरै खराब चिज हो। तर पनि हामी पिउँछौं किन? यसको जवाफ हाम्रो दिमागको रसायनमा लुकेको छ। हाम्रो दिगामा एउटा यस्तो रसायन हुन्छ, जसलाई डोपामाइन भनिन्छ। जसमा हामी केही राम्रो काम गर्यौं भने हामीलाई खुशी मिल्छ।
मदिरा पिउनु राम्रो काम त होइन तर, मदिरा पिउँदा पनि डोपामाइन बढ्छ। जसले मानिसलाई एकप्रकारको खुशी दिन्छ। सोही रसायनका कारण मानिसलाई मदिराको तलतल लाग्छ।
अर्थात् मदिराले डोपामाइनको मात्रा बढाउँछ। त्यसैले जब मानिसले मदिरा पिउँछ, तब उसलाई एकप्रकारको आनन्द अनुभूति गराउँछ। तनाव कम भएको महसुस गराउँछ। तर, यो खुशी धेरै समय रहँदैन। जब मदिराको असर हराउँदै जान्छ, तब मानिस पुरानै लयमा फर्किन्छ। उसलाई दु:खी अनुभूत हुन थाल्छ। त्यसकारण मानिस फेरि मदिरा पिउने चाहना राख्छ। पिउन थाल्छ। विस्तारै विस्तारै यो एक आदत बन्न पुग्छ। अनि उसलाई लत बस्दै जान्छ।
बुझ्नुपर्ने कुरा के छ भने मदिराको लत लागेपछि मानिसले यसबाट छुटकारा पाउन मुस्किल हुन्छ। यसका लागि सुधार केन्द्र लैजानुपर्ने स्थिति पनि आइलाग्छ।
त्यसैले, मदिराको लतमा लागेर आफ्नो शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, पारिवारिक स्वास्थ्य, आर्थिक स्वास्थ्य नबिगार्नुहोस्। आफ्ना दु:ख भुलाउन, तनाव कम गर्न मदिराको सहारा लिनुभन्दा परिवारका सदस्य, आफन्त वा साथीसँग खुलेर कुरा गर्नुहोस्। उनीहरूसँग रमाउनुहोस्। घुम्न निस्किनुहोस् ।
-एजेन्सीको सहयोगमा