१० असार २०८३, बुधबार
रवि जोडिएको सहकारीमा तानिए देवकुमार

इमेज सहकारी ठगीमा पक्राउ परेका देवकुमारमाथि सूर्यदर्शनमा पनि अनुसन्धान

कात्तिक २५, २०८१
पाेखरा
इमेज सहकारी ठगीमा पक्राउ परेका देवकुमारमाथि सूर्यदर्शनमा पनि अनुसन्धान

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान अघि बढेको छ । 

सोही सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको प्रकणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान जारी छ । लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । कास्की जिल्ला अदालतले आइतबार मात्र लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई १३ दिनको म्याद थप दिएको छ ।

आइतबार नै बागलुङबाट पोखरा ल्याइएका देवकुमार नेपालीलाई कास्की प्रहरीले रवि जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान थालेको हो । 

प्रहरी स्रोतका अनुसार नेपालीको सूर्यदर्शनसँग शुरूआती सम्बन्ध रहेकाले अनुसन्धान थालिएको हो । कास्की प्रहरी प्रमुख, एसपी श्यामबाबु ओलीयाले नेपालीलाई सूर्यदर्शन सहकारी ठगीका विषयमा छानबिन भइरहेको पुष्टी गरे ।

इमेज सहकारी ठगी प्रकणमा भारतको नयाँ दिल्लीबाट पक्राउ परेका नेपालीलाई असोज १३ गते बागलुङ जिल्ला अदालतले थुनामा राख्न अनुमति दिएको थियो । अदालतले १५ असोजमा उनलाई पुर्पक्षका लागि कागाकार पठाउन आदेश दियो । बागलुङमा मात्र उनले १ अर्ब ४८ करोड बढी रूपैयाँ अपचलन गरेको उजुरी दर्ता भएको थियो । 

यता, पोखरा सृजनाचोकमा रहेको इमेज सहकारीमा ६० करोड रूपैयाँ अपचलन भएको उजुरी कास्की प्रहरीमा छ । १८ महिनादेखि फरार रहेका नेपालीले समय-समयमा सामाजिक सञ्जालमार्फत बचतकर्ताको रकम फिर्ता दिने प्रतिबद्धता जनाइहन्थे । तर, उनी प्रहरीको सम्पर्कमा थिएनन् । लामो समयपछि प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । प्रहरीसँगको बयान पनि नेपालीले बचतर्कताको रकम फिर्ता गर्ने दोहोर्‍याएका छन् । 

सूर्यदर्शनसँग देवकुमारको साइनो के हो ?

इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका देवकुमार नेपाली सूर्यदर्शनका उपाध्यक्ष थिए । सहकारीमा अध्यक्ष बन्न चाहेका नेपालीलाई समर्थन नभएपछि सूर्यदर्शनबाट २०६८ सालमा बाहिरिएका थिए । पछि उक्त सहकारीको नेतृत्व गितेन्द्रबाबु राई (जीबी)ले गरे ।

आफ्नो पक्षमा आउने सूर्यदर्शनका कर्मचारीसहित सहकारीबाट बाहिरिका नेपालीले इमेज सहकारी स्थापना गरेका थिए । नेपाली सूर्यदर्शनबाट बाहिरिएपनि सहकारीका तत्कालीन उपाध्यक्ष रहेकाले छानबिनमा तानिएका प्रहरी बताउँछ । 

‘कुनै समय उनी सूर्यदर्शन सहकारीका उपाध्यक्ष रहेछन् । त्यही भएर अनुसन्धानका लागि तानिएको हो । इमेज सहकारीको विषय पनि छ’, प्रहरी स्रोतले भन्यो । 

पोखरामा इमेज खोलेको एक वर्षपछि उनले बागलुङमा सहकारीको प्रमुख कार्यालय राखेर शाखा बढाएका थिए ।  पोखरा र बागलुङमा गरेर उनले झण्डै २ अर्ब बराबरको रकम हिनामिना गरेको बताइएको छ । 

देवकुमार भन्छन्- अपचलन होइन, लगानी गरेको हुँ 

२०८० जेठ ५ गतेबाट फरार रहेका नेपाली त्यसको केही महिनापछि सामाजिक सञ्जालमा उपस्थित भएका थिए । बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जाहेर गर्दै उनले फेसबुकमा पोष्ट गरेका थिए । उनले सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताउँदै आएका छन् । प्रहरीसँगको बयानमा पनि उनले सोही कुरा दोहोर्‍याएका छन् । ठगी मुद्दामा थुनामा रहेका नेपालीको भनाइ छ –अपचलन होइन लगानी गरेको हुँ । 

‘चाहनुहुन्छ भने अहिल्यै नै मेरो सम्पत्ति बचतकर्ताको नाममा, सहकारीको नाममा नामसारी गरिदिन्छु । होइन भने बिक्री गरेर दिन्छु’, उनको बयान उद्धत गर्दै प्रहरी स्रोतले भन्यो ।

नेपालीले पोखरा लगायत विभिन्न स्थानमा आफ्नो, श्रीमती, भान्जा र साथीहरूको नाममा जग्गा र घर जोडेको पाइएको छ । इमेज ठगी प्रकरणमा पक्राउ परेका ओमबहादुर दर्जी भने डेढ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । स्रोतका अनुसार सम्पत्ति बिक्री वितरणमा सहजीकरण गर्नका लागि उनलाई छोडिएको हो । बचतकर्ता र नेपालीसँग पनि रकम फिर्ता हुनेगरि मिलापत्रको प्रक्रिया अगाडि बढिरहेको स्रोतको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्