१६ असार २०८३, मंगलबार
प्रहरी ऐन

प्रहरी ऐन विधेयक मस्यौदा पमरामर्शका लागि लोकसेवामा, हिउँदे अधिवेशनमा पेश गरिने

कात्तिक २६, २०८१
काठमाडौं
प्रहरी ऐन विधेयक मस्यौदा पमरामर्शका लागि लोकसेवामा, हिउँदे अधिवेशनमा पेश गरिने

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ राय–परामर्शका लागि लोक सेवा आयोगमा पुगेको छ । 

कानून मन्त्रालयले आफ्नो राय पठाएपछि गृह मन्त्रालयले दुवै विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । प्रधानमन्त्री कार्यालयले थप परामर्शका लागि आयोगमा पठाएको हो । 

शुरूमा दुवै संगठनका सकलदर्जाको अवकाश उमेर पुनरवलोकनमा कुरा बाझिएको थियो । अवकाश उमेर पुनरवलोकन कार्यदलले प्रतिवेदन बुझाएपछि अर्थले स्वीकृति दिएर विधेयक सर्वसम्मत बनेको हो । 

गृहका कानून महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालका अनुसार विधेयक ऐन बनेर लागू भएलगत्तै सशस्त्र प्रहरीमा ३० वर्षे सेवाअवधि हट्ने छ । प्रहरीको विधेयकमा भने अरू व्यवस्था तत्काल लागू भए पनि ३० वर्षे सेवाअवधिको विषय ऐन लागू भएको तीन वर्षमा मात्र पूर्ण रूपमा हट्ने उल्लेख छ । 

प्रस्तावित ऐनको विधेयकमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)को पदावधि ३ वर्ष, एआईजीको ३ वर्ष, डीआईजीको ५ वर्ष र एसएसपीको ८ वर्ष हुने उल्लेख छ । त्यस्तै, सशस्त्रको वरिष्ठ हवल्दारदेखि तलको १६ वर्षमा पेन्सन पाक्ने उल्लेख छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा र त्यसमाथिकाको २० वर्षमा पेन्सन अवधि हुने व्यवस्था विधेयकमा राखिएको छ । 

प्रहरीको विधेयकमा यसअघि महानिरीक्षकको ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष सिफारिस गरिएकोमा गृहले पुनः छलफल गरेर एआईजीको पदावधि ३ वर्ष कायम गरेर पठाएको छ । 

उमेर हदमा दुवै संगठनमा एउटा व्यवस्था समेटिएको छ, जसमा  महानिरीक्षकको ६० वर्ष, एआईजी र डीआईजीको ५८ वर्ष, डीएसपी र प्रहरी निरीक्षकको ५७ वर्ष, वरिष्ठ सईदेखि सहायक निरीक्षकसम्मको ५४ वर्ष, वरिष्ठ हवल्दारदेखि जवानसम्मको ५१ वर्ष र कार्यालय सहयोगीको ५५ वर्ष कायम गरिएको गृह स्रोतले जनाएको छ ।

दुवै विधेयकमा उमेर हद बढाउने र पेन्सन अवधि घटाउने विषय समेटिएका छन् । त्यस्तै पूर्वानुमानयोग्य बढुवा र सरुवाको व्यवस्था समेत ऐनमै गर्न लागिएको गृहले जानकारी दिएको छ । 

सशस्त्रको मुख्य जिम्मेवारी सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपदमा उद्धार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरुद्ध काम गर्ने भएकाले विशिष्टीकृत सेवालाई विधेयकमा ध्यान दिइएको छ । 

मूल्यांकन अंकमा पनि एकरूपता समेटिएको स्रोतले जानकारी दियो । जसमा कार्यसम्पादन मूल्यांकनबापत ५०, जेष्ठताबापत २७, शैक्षिक योग्यताबापत ७, तालिमबापत ८, चुनौती वा विशेष जिम्मेवारीबापत ५ र बढुवा समितिले दिने अंक ३ गरी १०० पूर्णाङ्क कायम गरिएको छ । 

गृहमन्त्री रमेश लेखकले मन्त्री भएको १०० दिनमा दुवै संगठनको ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा छलफलका लागि पेश गर्ने उद्घोष गरेका थिए । तर, अब संसदको हिउँदे अधिवेशन शुरू भएपछि मात्रै विधेयक संसदमा जाने छ ।

‘विधेयक हामीले काम सकाएर प्रधानमन्त्री कार्यालयमा पठाएका छौं । मैले बुझेअनुसार लोक सेवा आयोगमा परामर्शका लागि पुगेको छ । अब मन्त्रिपरिषद्बाट पास भएपछि हिउँदे अधिवेशनका बेला संसद्मा दर्ता हुन्छ,’ गृहमन्त्री लेखकले लोकान्तरसँग भने, ‘आगामी अधिवेशनबाट दुवै संगठनको ऐन पास हुन्छ ।’ 

गृहमन्त्री लेखकले दुवै सुरक्षा निकायका प्रमुख र अन्य वरिष्ठ अधिकृतसँग सुझावसमेत मागिसकेका छन् । ऐनको विधेयकमा प्रधानमन्त्रीले समेत चासो देखाएका छन् । उनले संघीय प्रणालीअन्तर्गत प्रदेशमा प्रहरी खटनपटन ढिलो भएकोतर्फ गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । 

कानून महाशाखाका प्रमुख रिजालले दुवै संगठनको विधेयकमा धेरै विषयमा एकरूपता रहेको बताए ।

उनका अनुसार नेपाल प्रहरी समायोजनमा जाने भएकाले नयाँ ऐनमा संघीय प्रहरी र प्रदेश प्रहरीबीच समन्वयका विषय राखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्