
चलचित्र ‘तेल भिसा’ प्रदर्शनको तयारी पूरा भएको छ। चलचित्रको टिमले सोमबार पत्रकार सम्मेलन गरेर यसअघि तय भएको मिति मंसिर ७ मै चलचित्र प्रदर्शनमा आउने बताएका हुन्।
अहिले हलमा चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले दर्शकको अपार साथ पाइरहेको छ। आक्रामक व्यापार गरिरहेको छ। यही चलचित्रका कारण कात्तिक ३० मा प्रदर्शन तय भएको ‘मिसिङ : केटी हराएको सूचना’ले प्रदर्शन मिति स्थगित गरिसकेको छ। कात्तिक ३० मै बहुप्रतीक्षित चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउँदै छ।
हलमा जारी चलचित्रले दर्शकको भरपुर साथ पाइरहेको र केही चलचित्रले प्रदर्शन मिति समेत स्थगित गरेका बेला ‘तेल भिसा’ टिम भने निर्धारित मितिमै चलचित्र रिलिज गर्ने पक्षमा देखिएको हो। यसअघि भदौ २९ गते रिलिज गर्ने भनिएपनि मंसिर ७ लाई मिति तय गरिएको थियो।
यही चलचित्रमार्फत ऋचा घिमिरे लामो समयपछि पर्दामा फर्किएकी छन्। उनी चलचित्रको निर्माता समेत हुन्।
पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शंकर घिमिरेले रमाइलो हिसाबले चलचित्रको नाम‘तेल भिसा’ राखिएको बताएका छन्। विदेशी भूमिमा कानून नबुझ्दा थुप्रै नेपालीले समस्या भोगिरहेको बताउँदै उनले वास्तविक घटनामा आधारित भएर चलचित्र बनाइएको उल्लेख गरे।
चलचित्रमा विपीन कार्कीको दोहोरो भूमिका छ। उनले दोहोरो भूमिका गर्न गाह्रो भएको सुनाए । उनी जवान र वृद्धको भूमिकामा छन् ।
चलचित्रमा विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र केही विदेशी कलाकारहरूको अभिनय छ। चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन्।
चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। चलचित्रलाई नेपाल र अमेरिकामा छायांकन गरिएको थियो।