२३ जेठ २०८३, शनिबार

यसरी बन्यो ‘रैयाँ चाँदीको...’

कात्तिक २८, २०८१
काठमाडौं
यसरी बन्यो ‘रैयाँ चाँदीको...’

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको/हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरवद्ध उक्त गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छ भने शब्द नवराज पन्तले लेखेका छन् ।

ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ । गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैयाँ चाँदीको...’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाए ।

'गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन,' उनले भने, 'अहिले सोही गीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता/दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ ।'

चलचित्र निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको अविरलले बताए ।

चलचित्रको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उनको भनाइ छ । बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैयाँ चाँदीको, म त बागलुङे, मैँया मादीको...’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताए ।

'यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल चलचित्रका लागि गीत गाउन र सङ्गीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो,' उनले भने ।

गीतकार पन्तका लागि पनि यो गीत उनको गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी...’ जस्तो सर्वाधिक सफल लोकदोहोरी गीत रचना गरेका पन्तको पहिलोपटक चलचित्रका लागि गीत लेख्नुभएको हो ।

‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैयाँ चाँदीको...’ थेगो फुरेको गीतकार पन्तले बताए । 'उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसङ्ग आउँदा एक्कासि मलाई यो गीतको शब्द फुर्‍यो, भोलिपल्ट घरमा गुनगुनाउँदै थेगो तयार पारेँ,' उनले भने, 'आशिष दाइले भाखा तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक चलचित्रका लागि गीत माग भएपछि गीतले पूर्णता पायो ।'

गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले उक्त गीत चलचित्रका लागि उपलब्ध गराउन तयार भएको बताए ।

'चलचित्र निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गर्नुभयो, चलचित्रको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ, थेगो भने पुरानै कायम भयो,' उनले भने ।

‘सुपरहिट’ चलचित्रमा गीतकारका रुपमा प्रस्तुत हुँदा आफूलाई भाग्यशाली सम्झेको उनले सुनाए । 

हाल अमेरिकामा रहेका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय छन् । बागलुङका पन्तले लेखेका ‘सालको पातको टपरी...’, ‘डाँडै फर्के सल्लो...’, ‘मायालुको शहरमा...’लगायत गीत चर्चित छन् ।

लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमा समेत पन्तले शब्द लेखेका छन् ।

नेपाली लोक जीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई सजीव ढङ्गले शब्दमा उतार्न उनी सिपालु छन् ।

salt training

कमेन्ट गर्नुहोस्