
ललितपुर महानगरपालिकाले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर लागिपरेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवं पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधासहित सम्मान गरेको छ ।
ललितपुर महानगरले बिहीबार एक कार्यक्रम आयोजना गरी उनीहरूको दिनचर्या सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रूपमा नगर प्रहरी र मोबाइल सेट हस्तान्तरण गरेको हो । साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनुपरेमा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने जनाएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको जानकारी दिए । ‘उहाँहरूको दिनचर्या सहज होस्, हिँड्डुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ’, नगर प्रमुख महर्जनले भने ।
जोशी र कायस्थ भाषा, संस्कृति र सम्पदाको क्षेत्रमा शब्दकोष भएको महर्जन बताउँछन् । उनले भने, ‘उहाँहरू ललितपुर महानगरको मात्रै नभएर नेपालकै हिरा, मोती, पन्ना, जुहारत हुनुहन्छ ।’
उनले ललितपुर महानगरले मठ मन्दिर संरक्षण, पुनर्निर्माणको क्षेत्रमा यथेष्ट काम गरेर मूर्त सम्पदा संरक्षण गरेको बताउँदै आजको सम्मान कार्यक्रम अमूर्त सम्पदा संरक्षणको एक अंश भएको बताए ।
उनले भने, ‘ललितपुर महानगरपालिका र नेपाललाई कलासंस्कृति, सम्पदा र भाषाको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका गौरवान्वित भएको छ ।’
ललितपुर महानगरपालिकाले यसअघि संस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मानस्वरूप सवारी साधन, सुरक्षाकर्मी र सञ्चार साधन उपलब्ध गराएको थियो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्मानित व्यक्तिहरू कला, साहित्य र सम्पदाको क्षेत्रमा विश्वविद्यालय भएको बताइन् । संस्कृतिविद्हरूको योगदानको कदर गर्दै सम्मान गरिएको उनको भनाइ छ ।
जोशी र कायस्थले कला, संस्कृति र सम्पदाको क्षेत्रमा आफूहरूले गरेको कामको कदर गर्दै सम्मानसहित सुविधा दिएकोमा धन्यवाद दिए ।
को हुन् जोशी र कायस्थ ?
ललितपुर महानगर-५ निवासी हरिराम जोशी १९९२ सालमा जन्मिएका हुन् । त्यसैगरी छत्रबहादुर कायस्थको जन्म १९९९ सालमा मा भएको हो ।
संस्कृति शिरोमणि जोशीका पुस्तकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएका छन् । संस्कृतिका विविध विधामा जोशीद्वारा लिखित तीन दर्जनभन्दा धेरै पुस्तक सार्वजनिक भएका छन् ।
यसैगरी, सम्मानित भएका संस्कृतिविद् कायस्थद्वारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् । कायस्थद्वारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएको महानगरले जनाएको छ ।