
क्याल्सियमको कमीले हड्डीहरू मात्र होइन, दाँतलाई पनि कमजोर बनाउन सक्छ। हड्डी र दाँत क्याल्सियमको कारणले नै बलिया हुने हुन्।
यो खनिज मात्रा हड्डी र दाँतका लागि मात्र होइन, मुटुको क्रियाकलाप, रक्तसञ्चार, मांसपेशीको क्रियाशीलता र स्नायु प्रणालीको सन्देश सञ्चारका लागि पनि अत्यावश्यक हुन्छ।
तर, यदि शरीरमा क्याल्सियमको कमी भयो भने यी सबै कार्यहरू प्रभावित बन्न पुग्छन्। के तपाईंलाई थाहा छ, केही यस्ता बानीहरू छन् जसले तपाईं-हाम्रो हड्डी र दाँतबाट क्याल्सियम खोस्न सक्छ? जसको कारणले समयभन्दा अघि नै यी दुवै अंगहरू कमजोर बन्दै जान सक्छन्। सम्भवतः दाँत पनि चाँडै नै झर्न थाल्ने चिकित्सकहरूले बताएका छन् ।
क्याल्सियमकोकमीले हड्डी खिइने र कमजोर हुने रोगको जोखिम धेरै बढाउँछ। यसमा हड्डीबाट क्याल्सियमको मात्रा घट्छ र बोन डेन्सिटी (हड्डीको घनत्व) कमजोर हुन्छ। जसको कारणले गर्दा सामान्य चोटपटकले पनि हड्डीहरू चाँडै भाँचिने सम्भावना हुन्छ।
यदि तपाईं यस रोगको जोखिमबाट बच्न चाहनुहुन्छ भने तपाईंले आठ वटा बानीलाई त्याग्नुपर्छ। किनकी यी बानीले तपाईंको हड्डीमा क्याल्सियमको मात्रा घटाउन सक्छन्। ती के बानी हुन्? आउनुहोस् चर्चा गरौं ।
धेरै नुन वा सोडियमयुक्त खाना खाने बानी
धेरै नुन वा सोडियमयुक्त खाना खानु हड्डीका लागि हानिकारक हुन्छ । यसले पिसाबमार्फत क्याल्सियम बाहिर जान सक्छ, जसले हड्डी पातलो वा कमजोर बनाउने रोगको जोखिम बढाउँछ। यस अवस्थालाई 'क्याल्सियुरिया' भनिन्छ।
बढी क्याफिनयुक्त पेय पदार्थको सेवन गर्ने बानी
बेटर हेल्थका अनुसार धेरै क्याफिन लिँदा हड्डीहरूमा क्याल्सियमको मात्रा कम हुन सक्छ। दिनमा ४ कपभन्दा बढी क्याफिनयुक्त पेय पदार्थ (जस्तै; कफी, चिया, कोल्ड ड्रिंक्स र इनर्जी पेय) पिउनु हानिकारक हुन सक्छ। क्याफिनले दाँतमा पनि नोक्सान पुर्याउन सक्छ।
पर्याप्त भिटामिन डी नलिने बानी
शरीरमा भिटामिन डी को मात्रा पर्याप्त हुनु जरूरी छ। भिटामिन डी को कमीले शरीरमा क्याल्सियमको मात्रामा समस्या हुन सक्छ। यसले गर्दा शरीरले हड्डीबाट क्याल्सियम लिँदै जान्छ। अनि, हड्डीहरू कमजोर बन्दै जान्छन्।
यसका साथै, अत्यधिक मदिरा सेवन गर्ने, तौलमा कमी हुनु वा तौल नियन्त्रणमा नराख्ने, अत्यधिक फाइबर, विशेष गरी गहुँको बोक्रा सेवन गर्ने, शारीरिक व्यायाम नगर्ने र धूम्रपान गर्ने बानीले पनि शरीरमा यस्तो समस्या निम्त्याउँछ।
उसो भए यो समस्या आउन नदिने के खाने त ? बेटर हेल्थका अुनसार दूध, दही, घ्यु, ब्रोकाउली, पालुङ्गो जस्ता हरियो पात भएको तरकारी, माछा, बदाम, तिलको बियाँलगायतका खानेकुरा खानाले यस्तो समस्यबाट बच्न सकिन्छ। शारीरिक व्यायाम उत्तिकै महत्त्वपूर्ण छ। तपाईंलाई नै धेरै नै समस्या देखियो भने अस्पताल जानुको विकल्प छैन।