
‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ आज सम्पन्न भएको छ । चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरे ।
सो क्रममा राष्ट्रपति पौडेलले ‘दीर्घ साधना सम्मान’ बाट अभिनेत्री चैत्यदेवी सिंहलाई नगद रु तीन लाख ७५ हजार र प्रमाणपत्रसहित सम्मान गरे। नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गरेकी अभिनेत्री सिंहले आफूले पाएको सम्मानले नयाँ उत्साह थपेको बताइन् ।
सो कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ तर्फ उकृष्ट चलचित्र ‘बुलाकी’ घोषित भयो । यस्तै अभिनेतातर्फ चलचित्र ‘प्रसाद २’ बाट बिपीन कार्की, अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का, निर्देशकतर्फ चलचित्र ‘दिमाग खराब’ बाटै निश्चल बस्नेत, सम्पादकतर्फ चलचित्र ‘महाजात्रा’ बाट मित्रदेव गुरुङ, छायाँकारतर्फ चलचित्र ‘बुलाकी’ बाट शिव ढकाल, लेखन (कथा, पटकथा, संवाद) तर्फ चलचित्र ‘बुलाकी’ बाट राजबाहदुर साने पुरस्कृत भए ।
यस्तै, आदिवासी, जनजाति, मातृभाषी चलचित्रतर्फ लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ र व्यावसायिक सफल चलचित्र ‘जारी’ उत्कृष्ट घोषित भयो । निर्णायक समितिको तर्फबाट चलचित्र ‘टुल्की’ की अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियोे । उनीहरूलाई राष्ट्रपति पौडेल, सञ्चारमन्त्री गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’, लिम्बू भाषाको चलचित्र ‘सुगुप’ र गुरुङ भाषाको चलचित्र ‘मार्कली’ लाई ‘विशेष चलचित्र’ घोषणा गरिएको थियोे । यस्तै, विसं २०६१ असोज १० गते चलचित्रको प्रिन्ट (रिल) ढुवानीका क्रममा सडक दुर्घटनामा परी ज्यान गुमाएका प्राविधिक सूर्यमान तुलाधरलाई ‘विशेष योगदान सम्मान’ सहित नगद रु ५० हजार प्रदान गरिएको थियोे । उक्त सम्मान स्वर्गीय तुलाधरकी श्रीमती अनिता तुलाधरले ग्रहण गरिन् ।
उक्त कार्यक्रममा कलाकार त्यैयव शाह, विद्या कार्की, बुद्धी तामाङ, निर्माता तथा प्रदर्शक नरेन्द्र महर्जनसहित ११ जनालाई ‘विशेष योगदान सम्मान’ प्रदान गरिएको थियोे ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताए ।