०३ असार २०८३, बुधबार
बारा हत्या प्रकरण

क्याम्पस प्रमुख हत्याका अभियुक्त– विदेशबाट फर्किएर विराटनगरमा गर्दैथिए खेतीकिसानी

४ श्रीमती, ३ सन्तान, कान्छी श्रीमतीको यादले फर्किएका थिए नेपाल
मंसिर १३, २०८१
काठमाडौं
क्याम्पस प्रमुख हत्याका अभियुक्त– विदेशबाट फर्किएर विराटनगरमा गर्दैथिए खेतीकिसानी

बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहा हत्याको मुख्य अभियुक्त भनिएका सुरेन्द्रप्रसाद कुशवाहालाई झण्डै साढे ५ महिनापछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगरमा डेरा लिएर बसेका कुशवाहाले खेतीकिसानी मजदुरका रूपमा काम गर्दै आएका थिए ।

श्रीमती र एक छोरासहित बसिरहेका बेला जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । सुराकीका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

यसअघि प्रहरीले पटक–पटक प्रयास गर्दा पनि कुशवाहालाई नियन्त्रणमा लिन सकेको थिएन । बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का आफैं पटना पुग्दा समेत कुशवाहा नजिकैबाट उम्किएका थिए । यसपटक भने कुशवाहाले आफूलाई प्रहरीले निगरानी गरिरहेको भेउ पाएनन् । 

प्रहरीलाई प्राप्त सूचनाअनुसार गत जेठ ३२ गते बाराको आदर्शकोतवाल गाउँपालिकामा हरिभूषणमाथि गोली प्रहार गरेपछि सुरेन्द्र भागेर भारतको वनारस पुगेका थिए । त्यसपछि उनी सीतामढी हुँदै पटना पुगे । 

हरिभूषणका बुवा रामप्रसादले घटना भएदेखि शुरूमा दैनिक र पछि सातामा एकपटक भएपनि एसपी खड्कालाई भेटेर छोराका हत्यारा कहिले पक्राउ गर्नुहुन्छ ? भन्दै सोधीखोजी गर्थे । हरिभूषणका अन्य शुभचिन्तक र बाराका नेताहरूले पनि यो विषयमा निरन्तर चासो राख्ने गरेका थिए ।

खड्कालाई आफ्नो कार्यकालमा यो घटना जसरी पनि सुल्झाउनु थियो ।

‘मृतक हरिभूषणका वृद्ध बुवाले प्रहरी कार्यालयमै आएर मेरो छोराको हत्यारा खै भनेर प्रश्न गर्दा मसँग एउटै जवाफ हुन्थ्यो, हामी खोजिरहेका छौं । पटना लुकेर बसेको थाहा पाएपछि म आफैं त्यहाँ पुगेको थिएँ,’ खड्काले भने । 

पटनाका लागि उनी कार्यालयबाट निस्किँदा प्रदेशका डीआईजीबाहेक अरूलाई जानकारी गराएका थिएनन् । आफ्नै कार्यालयका सहकर्मीलाई समेत बिदामा बस्न लागेको भनेका थिए । उनले पटनाको रेल–वे ट्र्याकमा कुशवाहालाई देखेर नियन्त्रणमा लिने प्रयास गरे । तर, खड्कालाई देख्नेबित्तिकै कुशवाहा भाग्न सफल भए । खड्का निराश भएर फर्किन बाध्य बने ।

एसपी आफैं खोज्न आएको देखेपछि कुशवाहा त्यहाँबाट सीतामढी सरे । तर, उनलाई श्रीमती र सानो छोराको यादले सतायो । उनकी श्रीमती भारतीय हुन् । श्रीमतीलाई माइतीमा बोलाएर केही समय उतै बसे ।

तर, त्यहाँ पनि चैनसँग बस्न नसकेको उनले प्रहरीसँग खुलाएका छन् ।

‘नेपाली, त्यसमा पनि कपाल छोटो भएको मान्छे देख्नेबित्तिकै आफूलाई पक्रिन आएकोजस्तो लाग्थ्यो, कैयौं रात म सुत्न पनि सकिनँ,’ उनले प्रहरीसँगको प्रारम्भिक बयानमा भनेका छन् ।

प्रहरीका अनुसार कुशवाहाले अहिलेसम्म ४ विवाह गरेको देखिन्छ । उनीसँग अहिले रहेकी कान्छी श्रीमती हुन् । पछिल्लो श्रीमतीबाट एक छोरा जन्मिए पनि त्यसअघिका दुईवटा बच्चा थिए । अरू सबै कुशवाहाबाट अलग भइसकेका छन् ।

बारा प्रहरीले उनको नजिकका व्यक्तिबाट नै भारतस्थित ससुराली घर पत्ता लगाएको थियो । ससुराली घरबाटै सुरेन्द्रकी पत्नीको फोन नम्बर लोकेट गरेर प्रहरी उनको लोकेसन पत्ता लगाउन सफल भयो ।

कुशवाहा नेपाल छिरेकोसम्म थाहा पाएपनि उनी विराटनगरमै किन बसे भन्ने कुराको पछाडि अर्को पनि कारण छ । यसअघि कुशवाहाले पूर्वकै एक युवतीसँग विवाह गरेका थिए । 

‘इन्टलिजेन्सको प्राविधिक सहयोगमा सुरेन्द्र लुकेर बसेको लोकेसन पत्ता लागेपछि प्रहरी विराटनगरसम्म पुग्न सफल भएको हो,’ एसपी खड्काले लोकान्तरसँग भने, ‘सेनाका भगौडा कुशवाहा सजिलै प्रहरीको हात लाग्ने अवस्था थिएन ।’

नेपाली सेनामा १० वर्ष सिपाहीको रूपमा काम गरेका कुशवाहा जागिर छाडेर भागेका थिए । बारामै भएको अर्को एउटा हत्या काण्डमा समेत कुशवाहाको संलग्नता देखिए पनि उनी उम्किन सफल भएका थिए ।

जब गाउँ सुनसान बन्यो

हरिभूषणको हत्यापछि आदर्शकोतवाल गाउँपालिकास्थित खजुरीयावासी लामो समय त्रासमा रहे ।

त्यहाँ राजनीतिक रूपमा दुई कित्तामा बाँडिए । एमालेनिकट सर्वसाधारणका केही घर तोडफोड भयो भने घरभित्र छिरेर कुटपिट समेत भयो ।

एसपी खड्काका अनुसार ३/४ महिनासम्म गाउँमा वृद्ध र बच्चाबाहेक वयस्क, युवायुवती र महिलाहरू बसेनन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेत पुगेर निरीक्षण गर्दा स्थिति सहज थिएन । त्यो देखेपछि गाउँमा एउटा अस्थायी चौकी राख्ने निर्णय भयो । 

घटना घटेको एक महिनासम्म त बाराको कलैयाबाटै प्रहरी निरीक्षकको टोलीले रातभर गस्ती गर्‍यो । गाउँमा कोही निस्किएनन् । पछि गाउँका नेता र स्थानीय तहको सहयोगमा प्रहरीले स्थानीयलाई सम्झाउन थाल्यो । दैनिक कामकाजमा निस्कन भन्यो । तब मात्रै स्थानीयहरू काममा निस्किन थाले । 

आपराधिक मनोवृत्तिका सुरेन्द्रले फरार हुँदा पनि कुनै घटना घटाउन सक्ने आकलन आदर्शकोतवालवासीको थियो ।

‘म र सीडीओसाब आफैं घटनास्थलमा पुग्दा सर्वसाधारण डराइरहेका थिए,’ एसपी खड्काले भने, ‘आपराधिक चरित्रका सुरेन्द्रले अझै कुनै घटना घटाउन सक्छन् भन्दै उनीहरूमा त्रास देखिन्थ्यो । बुढाबुढी र बच्चाबाहेक अधिकांश घरमा थिएनन् ।’

घटना भएको ६ दिनपछि एसपी र सीडीओ घटनास्थलमा पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्