
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिने प्रत्येक चौकाबापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्नेछ ।
यस पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने एनसेलको भनाइ छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्ने एनसेलले जनाएको छ ।
'क्रिकेट एक यस्तो खेल हो, जसले एकतावद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौं । शिक्षा दिगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ', एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
यी शैक्षिक सामाग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह र सरोकारवालाहरूको समन्वयमा गरिने खड्काले बताइन् । क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारी अन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ । यसले नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरूको निर्माणमा गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ । एनपीएल यही मंसिर १५ गतेदेखि हुँदैछ ।
यो साझेदारी एनसेलको ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको खड्काले बताइन् ।