
नेपाल प्रिमियर लीग (एनपीएल) मा एन्टीडोपिङ परीक्षणको तयारी भएको छ कि छैन भन्ने विषयमा राष्ट्रिय एन्टीडोपिङ एजेन्सी (नाडा)ले नेपाल क्रिकेट संघ (क्यान)सँग जानकारी माग गरेको छ ।
भोलि मंसिर १५ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित मैदानमा शुरू हुने एनपीएल प्रतियोगिताका लागि नाडाले क्यानलाई पत्र लेखेर जानकारी माग गरेको हो ।
गत मंसिर ४ गते नाडाले क्यानलाई पत्राचार गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टीडोपिङ मान्यता अनुरूप क्यानद्वारा निर्माण गरिएका एन्टीडोपिङसँग सम्बन्धित प्रोटोकलका बारेमा नाडाले जानकारी मागेको हो ।
साथै, एनपीएलका लागि एन्टीडोपिङसँग सम्बन्धित के कस्ता नीति, रणनीति लिइनेछन्, सोबारे जानकारी उपलब्ध गराई सहजीकरण गरिदिन समेत पत्रमा भनिएको छ ।
नाडाले पत्रमार्फत आवश्यक तयारी तथा रणनीतिबारे जानकारी माग गर्दा पनि क्यानले अहिलेसम्म कुनै जवाफ दिएको छैन ।
नाडाले नेपालमा सञ्चालन हुने कुनै पनि घरेलु, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूको एन्टीडोपिङ परीक्षण गर्न पाउँछ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४३ बमोजिम खेलकुदमा प्रतिबन्धित औषधि सेवनविरुद्धको कार्य गर्नका लागि गत वर्ष माघ ८ गते नाडा गठन भएको हो ।
नाडाले खेलाडीहरूको पिसाब र रगतको नमूना संकलन गरेर परीक्षण गर्ने गर्छ । उक्त परीक्षणमा प्रतिबन्धित औषधि सेवन गरेको पाइएमा खेलाडी कारबाहीमा परी खेल्नबाट प्रतिबन्धित हुन सक्छन् ।
नाडा गठन भएको एक वर्ष मात्र भएकाले विगतमा नेपाल ओलम्पिक कमिटीलाई उक्त परीक्षण गर्ने अधिकार प्रदान गरिएको थियो । तर, अब उक्त अधिकार नाडालाई छ ।
एनपीएलमा कुल ८ वटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन्, जसमा विदेशी क्रिकेटरहरू पनि सहभागी हुनेछन् । अहिले एनपीएलमा सहभागी हुने टीममा विदेशी खेलाडीका साथै केही प्रशिक्षक समेत विदेशी छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडी वा प्रशिक्षक कसैले प्रतिबन्धित औषधि सेवन गरेको पाइएमा कारबाहीको दायरामा आउनेछन् ।
अहिले विश्वका १९२ जना खेलाडी तथा प्रशिक्षक प्रतिबन्धित सूचीमा छन् । उक्त सूचीमा आबद्ध भएकाहरूले खेल्न त परको कुरा कुनै पनि खेलको अभ्यासमा समेत सहभागी हुन पाउँदैनन् ।
यता, नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले नाडाले पठाएको पत्रको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । 'एन्टीडोपिङ परीक्षणका लागि नाडाले पत्र पठाएकोबारे मलाई केही जानकारी छैन,' लामाले लोकान्तरसँग भने, 'मैले त्यस विषयमा बुझेर मात्र केही भन्न सक्छु । एन्टीडोपिङ, एन्टीकरप्सन, इन्टिग्रिटी सबै विषयमा आईसीसीको प्रोटोकललाई फलो गर्न क्यान तयार नै छ ।'
एन्टीडोपिङ परीक्षणका लागि सहजीकरण गर्न भनेर पत्र आएको भए आफूहरू त्यसका लागि तयार रहने उनले खुलाए ।
अन्तर्राष्ट्रिय क्रिकेटरहरू जो पोजेटिभ पाइएपछि खेल्नबाट प्रतिबन्धित भए...
एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएपछि विभिन्न देशका स्टार क्रिकेटरहरू कारबाही भोगेर प्रतिबन्धित भइसकेका छन् ।
भारतका चर्चित अलराउन्डर युसुफ पठान पनि एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएपछि प्रतिबन्धित भएका थिए ।
सन्, २०१७ मा भारतको घरेलु टी २० प्रतियोगितामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले परीक्षण गर्दा पठानले प्रतिबन्धित औषधि सेवन गरेको पाइएको थियो ।
उनले सेवन गरेको कफसिरपमा प्रतिबन्धित टर्बुटेलाइन नामक कन्टेन्ट पाइएपछि उनलाई ५ महिनाका लागि कुनै पनि किसिमको खेलमा सहभागी हुनबाट बीसीसीआईले प्रतिबन्ध लगाएको थियो ।
पाकिस्तानका क्रिकेटर अहमद शेहजाद पनि सन् २०१८ मा परीक्षणमा पोजेटिभ पाइएपछि ५ महिनाका लागि ब्यान्ड भएका थिए । उनले के सेवन गरेका थिए भन्ने विषय पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेन । शेहजादले अञ्जानमा औषधि सेवन गरेको पाइएको थियो ।
पाकिस्तानकै अर्का चर्चित तीव्र गतिका बलर मोहम्मद आसिफ पनि सन् २००८ मा डोपिङ परीक्षणमा पोजेटिभ पाइएका थिए । सन् २००८ मा भारतमा पहिलोपटक शुरू भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो संस्करणमै उनी परीक्षणमा पोजेटिभ पाइएका थिए । उनीमाथि एक वर्षका लागि प्रतिबन्ध लगाइएको थियो ।
उनी तत्कालीन डेल्ही डेयरडेभिल्समा अनुबन्धित भएका थिए । एन्टीडोपिङ परीक्षणमा फेल भएपछि उनी १ वर्षका लागि प्रतिबन्धमा परेका थिए । उनले प्रयोग गरेको आँखाको ड्रपमा प्रतिबन्धित औषधिको अंश पाइएको थियो ।
आशिफ सन् २००६ को च्याम्पियन्स ट्रफीमा पनि प्रतिबन्धित औषधि सेवन गरेको भन्दै विवादमा तानिएका थिए । उनले नान्ड्रोलोन नामक प्रतिबन्धित एस्टेरोइड सेवन गरेको भन्दै १ वर्षका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्ध लगाइएको थियो । उक्त निर्णय पछि फिर्ता लिँदा चौतर्फी आलोचना भएको थियो ।
पाकिस्तानकै रावल पिण्डी एक्सप्रेस नामले चिनिने विश्वकै सर्वाधिक तीब्र गतिका बलर सोएब अख्तर पनि एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएका थिए । सन् २००६ मै भारतको जयपुरमा भएको च्याम्पियन्स ट्रफीमा श्रीलंकाविरुद्धको खेलमा पोजेटिभ पाइएका थिए । एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएपछि प्लेयिङ स्क्वाडमा अख्तरको नाम रहेपनि उनलाई खेल खेल्न नदिएर पाकिस्तान फिर्ता पठाइएको थियो ।
अस्ट्रेलियाका महान स्पिनर शेन वार्न त एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएकै कारण क्रिकेट खेल्नबाट १ वर्षका लागि प्रतिबन्धित भएका थिए । सन् २००३ को विश्वकप शुरू हुनुअघि गरिएको परीक्षणमा उनी पोजेटिभ पाइएपछि विश्वकप खेल्नबाट नै चुकेका थिए । उनले पिसाब धेरै लाग्ने प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएको थियो ।
त्यसैगरी, पाकिस्तानकै अर्का क्रिकेटर याशिर शाह पनि एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएका थिए । सन् २०१५ मा इंग्ल्याण्डविरुद्धको एकदिवसीय प्रतियोगिता खेलिरहेका पाकिस्तानी स्पिनर शाह डोपिङ परीक्षणमा फेल भएका थिए । उनले पनि पिसाब धेरै लाग्ने औषधि सेवन गरेका थिए ।
खेलाडीहरूले तौल घटाउन तथा अन्य प्रतिबन्धित औषधि सेवन गरेको भए त्यसलाई ढाकछोप गर्नका लागि पिसाब धेरै लाग्ने औषधि सेवन गर्ने गर्छन् । एन्टीडोपिङमा पोजेटिभ पाइएकाले उनले एसिया कप र आईसीसीको टी २० वर्ल्डकप खेल्न पाएनन् ।
त्यसैगरी, भारतकै क्रिकेटर प्रदीप साङवान पनि सन् २०१३ मा पोजेटिभ पाइएपछि उनलाई १८ महिनाका लागि क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाइएको थियो ।
आइपीएल टीम कोलकता नाइट राइडर्सका लागि अनुबन्धित तीब्र गतिका बलर साङवानले प्रतिबन्धित स्टेरोइड सेवन गरेको पाइएपछि बीसीसीआईले उनलाई १८ महिनाका लागि ब्यान्ड गरेको थियो । साङवान सन् २००८ को अन्डर नाइन्टिन वर्ल्डकपको भारतीय टोलीका सदस्य पनि हुन् ।
उनी भारतको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटर हुन् जो एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएका थिए । उनले प्रतिबन्धित स्टानोजोल नामक स्टेरोइड सेवन गरेका थिए ।
त्यसैगरी, न्युजिल्यान्डका पूर्व कप्तान समेत रहिसकेका स्टार क्रिकेटर स्टिफन फ्लेमिङ पनि एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएका थिए । सन्, १९९४ मा उनले प्रतिबन्धित लागूऔषध गाजा सेवन गरेको परीक्षणमा पाइएको थियो । उनीसँगै न्युजील्यान्डका डियोन नास र म्याथ्यु हर्टले पनि गाजा सेवन गरेको पाइएको थियो ।
तीनैजना खेलाडीलाई जनही १७५ अमेरिकन डलर जरिवाना गर्नुका साथै केही प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाइएको थियो । फ्लेमिङ एन्टीडोपिङ परीक्षणमा पोजेटिभ पाइएकै कारण उनले स्पोन्सरशिप पनि गुमाउनु परेको थियो । फ्लेमिङ हाल आईपीएलको फ्रेन्चाइज चेन्नाई सुपर किंग्सका प्रमुख प्रशिक्षक हुन् ।
त्यसैगरी, श्रीलंकाका चर्चित क्रिकेटर उपुल थरंगा पनि एन्टीडोपिङ परीक्षणका क्रममा पोजेटिभ पाइएका क्रिकेटर हुन् । श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान रहेका थरंगा सन् २०११ को विश्वकपकै क्रममा पोजेटिभ पाइएका थिए । उनलाई ६ महिनाका लागि प्रतिबन्ध लगाइएको थियो ।
थरंगाले विश्वकपकै दौरान सास फुल्ने समस्या वा दमको रोगमा प्रयोग गरिने प्रतिबन्धित औषधि सेवन गरेका थिए । अनुसन्धानका क्रममा थरंगाले भारतका स्टार क्रिकेटरहरू सचिन तेन्दुलकर, गौतम गम्भीर र आशिष नेहरासहितका खेलाडीहरूलाई उपचार गर्ने चिकित्सकको प्रेसक्रिप्सनकै आधारमा उक्त औषधि सेवन गरेको बताएका थिए ।
थरंगाले गलत नियतले उक्त औषधि सेवन गरेको नपाइए पनि (आईसीसी)ले एन्टीडोपिङमा शून्य सहनशीलताको सिद्धान्त अवलम्बन गरेकाले उनलाई ६ महिनाका लागि ब्यान्ड गरिएको थियो ।
त्यसैगरी, इंग्ल्याण्डका अर्का चर्चित क्रिकेटर इयान बोथम पनि गाजा सेवन गरेको पाइएपछि ६३ दिनका लागि क्रिकेट खेल्नबाट प्रतिबन्धमा परेका थिए ।
हेर्नुहोस्, प्रतिबन्धित खेलाडीहरूको सूची: