
हातमा पत्रिका, ज्यानमा छड्के झोला । आँखामा डोरीले पछाडीबाट अड्याइएको चस्मा । महिनाको अन्तिम सातातिर पोखराका विभिन्न क्षेत्रमा डुलिहिँड्छन् उनी । भ्याएसम्म सार्वजनिक कार्यक्रममा समेत पुगिहाल्छन् । उनको हातमा नेपाल भाषाको पत्रिका ‘पोखराया भिन्तुना’ हुन्छ । उनी यही पत्रिका वितरणका लागि पसल पुग्छन्, सार्वजनिक कार्यक्रम पुग्छन् ।
उनी अर्थात् २६ वर्षदेखि पोखरामा नेपाल भाषाको मासिक पत्रिका ‘पोखराया भिन्तुना’ प्रकाशन र सम्पादन गरिरहेका ७७ वर्षीय उदय अमात्य । जो नेपाल भाषा संरक्षणका लागि अविश्रान्त हिँडिरहेका छन् ।
काठमाडौंको असन टोलमा जन्मिएका उदय जागिरको सिलसिलामा २०५६ सालमा पोखरा आइपुगेका थिए । पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र पढाउन पोखरा आएका उनी पोखरेली नेवा समुदायसँग जोडिए । सोही समयमा उदय र अशोक पालिखेको समूहले ‘नेवा खलः कास्की’ स्थापना गरे ।
नेवार समुदायको संस्था बनाएर संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने ध्येयमा थिए उनी । जसले समुदायको संस्कृति र भाषालाई समेटोस् । नेवा खल: कास्कीको बैठकमा पत्रिका प्रकाशनको विषय उठ्थ्यो । तर, लामो समयसम्म कसैले पनि शुरूआत नगरेपछि उदय आफैं कस्सिए ।
‘नेवा खल: कास्कीले बेलाबेला बैठक बस्दा एउटा पत्रिका निकालौं भनेको थियो । समिति पनि बन्यो । तर, समितिले लामो समयसम्म काम गरेन । त्यसपछि मैले एक्लैले पत्रिकाको जिम्मेवारी लिएँ’, उदय सुनाउँछन् ।
शुरूआतमा उनले ‘पोखराया भिन्तुना’ त्रैमासिक रूपमा प्रकाशन गरे । पछि मासिक बनाए । पत्रिकासँगै २०५६ सालदेखि उनको पत्रकारिता यात्रा शुरू भयो । क्याम्पसमा प्राध्यापक थिए । यता, पत्रिकाका प्रकाशक र सम्पादक पनि ।
उनले २०६६ सालमा शिक्षण पेशाबाट अवकाश लिए । तर, पत्रिका निकाल्न भने छाडेनन् । बरु पहिलेभन्दा धेरै समय दिन पाए । नेपाल भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेर पत्रिका प्रकाशन गर्दै आएका उनले लगानी र खर्चको हिसाब गरेनन् । आफ्नै खर्चमा शुरूआत गरे । आफ्नै मिहिनेतमा निरन्तरता दिइरहेका छन् । कहिलेकसो संस्थाहरूले सहयोग गर्छन् । सम्मानबाट पाएको पुरस्कारको रकम पत्रिकामै खर्च गर्छन् ।
‘कहिले खर्च उठ्छ, कहिले उठ्दैन । खर्च उठेन भनेर पत्रिका प्रकाशन रोकिनँ । खर्च उठाउन भन्दापनि प्रकाशनको निरन्तरतामा ध्यान दिएँ’, उदय भन्छन्, ‘२६ भयो पत्रिका शुरू भएको । सरकारी अनुदान मैले १२, १५ वर्ष पाएँ । अहिले रोकिएको छ ।’
कोरोनापछि सरकारी अनुदान नपाएको उदय सुनाउँछन्। अनुदान नपाउँदा खर्च उठाउन गाह्रो भएको उनी बताउँछन् । पत्रिकामा नेवार समुदायको सांस्कृतिक लेख, कविता प्राथमिकतामा पर्छन् । समुदायको सांस्कृतिक कार्यक्रम, चाडपर्व बारेका सामग्री छापिन्छन् । पहिला पत्रिकामा यी सबै नेपाल भाषामा मात्र राख्थे । पाठकहरूले नेपालीमा पनि पढ्न खोजेपछि समाचारबाहेक सांस्कृतिक लेख र कविता नेपाली भाषामा समेत राख्न थालेका छन् ।
कोरोना महामारीअघि मासिक ११ सय प्रति निस्किने पत्रिका अचेल सात सय मात्र प्रकाशन हुन्छ । पत्रिका बाँड्नका लागि उदयले एकजना मान्छे राखेका छन् । वितरकले मुख्य बजारमा मात्र बाँड्छन् । बाँकी क्षेत्रमा उदय नै पुग्छन् ।
‘शहरी क्षेत्रमा नजिक–नजिक बाँड्ने मान्छे राखेको छु । टाढा टाढा म आफैं लिएर जान्छु । छोरेपाटन, रामबजार, बाँझापाटन, टाढाको अहिले मैले छोडेँ’, उनले भने ।
उसो त पत्रिकालाई विज्ञापन नआउने होइन । संस्थाभन्दा व्यक्तिगत रूपमा विज्ञापन आउने उनी बताउँछन् । उदय आफैं विज्ञापनका लागि कसैकोमा जाँदैनन् । ग्राहक सीमित भएकाले विज्ञापन शुल्क समेत कम छ ।
‘मैले सरकारी अनुदानबाहेक कहिल्यै पनि ठूलो ठूलो संस्थासँग विज्ञापन मागिनँ । आफ्नो भाषा सबै आफैंले संरक्षण गर्नुपर्छ । अरुसँग मागेर एक/दुई दिन मात्र चल्छ । मागेर स्वाभिमान पनि घट्छ । त्यसकारण भाषा संस्कृतिका लागि आफैंले गर्नु राम्रो हो । आए लिन्छु, नआए मागेर कसैसँग लिन्नँ’, उनले भने ।
निराश बनाउने पनि छन्
भाषा, संस्कृति जोगाउन लागिपरेका उनलाई सबैले हौसला दिँदैनन्, निराश बनाउनेहरू पनि छन् । तर, आफूले त्यस्ता कुरामा ध्यान नदिएको उदय बताउँछन् ।
‘कसैले नेवार भाषा लोप भइसक्यो, तपाईंले पत्रिका निकालेर के काम? समय खेर गयो । व्यापारमा लागेको भए आम्दानी हुन्थ्यो भनेर निराश बनाउन खोज्नेहरू पनि छन् । तर, मैले यस्ता कुरालाई ध्यान दिने गरेको छैन’, उनले भने ।
पोखरा र काठमाडौंको नेपाल भाषा फरक छ । पोखराको तुलनामा काठमाडौंको भाषामा साहित्यको समिश्रण बढी छ । उनले प्रयोग गर्ने काठमाडौंको भाषा हो । असन टोलमा २००४ सालमा जन्मिएका उनको पारिवारिक पृष्ठभूमि सरकारी कर्मचारीको थियो । त्यसैले सानैदेखि पढाइमा रस बस्यो । सोही अनुसार पढ्ने माहोल बनेको थियो घरमा । उनी पढाइकै सिलसिलामा चीन पुगे । इन्जिनियर पढ्न पुगेका उनले चीनमा एक वर्ष चिनियाँ भाषा पढे । दुई वर्ष चीन बसेर फर्किएपछि उनलाई भाषामा थप रूचि जाग्यो । उनलाई अहिले चिनियाँ र जापानीज भाषा मज्जाले आउँछ ।
नयाँ पुस्ताले आफ्नो समुदायको भाषा बिर्सिरहेकोमा उदय चिन्तित छन् । भाषा भनेको प्रयोग गरेपछि सिक्दै जाने भएकाले बोलीचालीमा पनि ल्याउनुपर्ने उनको भनाइ छ । उनकै पत्रिका पढेर कसैले नेवार संस्कृति बुझ्न सजिलो भयो भनेर सुनाउँदा खुशी हुन्छन् । आफ्नो बच्चाबच्चीलाई नेपाल भाषा सिकाउन पत्रिका काम लागेको पाठकले सुनाउँदा उनको कामले प्रतिफल दिइरहेको आभाष पाउँछन् ।
‘यही पत्रिकाले मैले बच्चाहरूलाई सिकाउन पाएँ । तपाईंको पत्रिका धेरै राम्रो छ । मेरो नातीले खुब इन्ट्रेष्ट लियो भनेर भन्नेहरू हुन्छन्’, उदय सुनाउँछन् ,‘पाठकहरूले यही पत्रिकाले नेवार भाषा र संस्कृति कस्तो छ भन्ने कुरा बुझ्यौं । भाषा र संस्कृतिबारे धेरै जानकारी पाएँ भन्नुहुन्छ । यस्तै हो- राम्रा, नराम्रा सबै अनुभव छन् ।’
‘पोखराया भिन्तुना’को भविष्य भने अन्योल छ । उदयपछि यसलाई निरन्तरता कसले दिन्छ ? उदयलाई चिन्ता छ । विशुद्ध भाषा र संस्कृति संरक्षणका लागि प्रकाशित पत्रिकामा राजनीतिकरण नहोस् र निरन्तरता पाओस् भन्ने उनको इच्छा छ । उनी पत्रिकाको अपनत्व लिएर पत्रिका निरन्तर प्रकाशित गर्ने व्यक्ति र संस्थाको खोजीमा छन् ।
‘चिन्ता लाग्छ । चिन्ता लाग्दैमा म रोक्न सक्दिनँ । मेरो बानी चुप लागेर नबस्ने छ । सकुन्जेल गर्ने हो । नसके के गर्नुहुन्छ भन्छन् मान्छेहरू? स्वर्गमा गएँ भने स्वर्ग द भिन्तुना निकाल्छु’, उदयले हाँस्दै भने ।