
चीनको प्रमुख अटोमोबाइल निर्माता कम्पनीले नवीनतम् एवं स्मार्ट उत्पादन र रणनीतिहरूले ईभी (इलेक्ट्रिक भेहिकल) बजारको प्रतिस्पर्धामा शीर्ष स्थानमा पुग्न सफल बनेको छ । विश्वबजारमा चीनले कुल उत्पादनको ५७ प्रतिशत विद्युतीय गाडीहरू उत्पादन गर्दै आफ्नो अग्र स्थान बनाएको हो ।
सन् २०२४ सम्मको तथ्याङ्क हेर्दा विश्वभरका कुल ४६८ ईभी उत्पादक मध्ये २६७ ईभीहरू चीनबाटै उत्पादन हुँदै आएका छन् । यसमा पनि सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी बीवाईडी रहेको छ ।
करिब २२ वर्षअघि पश्चिमी डिजाइनबाट प्रेरित भएर बीवाईडीले गाडीहरू बजारमा ल्याएको थियो । तर, सन् २०१८ र २०१९ को बीचमा अटोमोबाइल निर्माता कम्पनीहरू महामारी कारण समस्यामा परेका थिए ।

त्यसपछि बीवाईडीले नयाँ रणनीतिलाई अगाडि सार्दै आफ्नो उत्पादनलाई झन तीव्र बनाउँदै लग्यो । यस रणनीतिक योजनाका कारण सन् २०२३ मा बीवाईडीले ‘भक्सवागन’लाई पछाडि पार्दै चीनको प्रमुख अटोमोबाइल ब्रान्डको रूपमा स्थापित बन्यो ।
कम्पनीले प्राप्त गरेको सफलताका पछाडि विशेषतः दुई कारण छन् ।
पहिलो : अत्याधुनिक उत्पादन पोर्टफोलियो
कम्पनीले ब्याट्री इलेक्ट्रिक गाडी र प्लग–इन हाइब्रिड इलेक्ट्रिक गाडी दुवै क्षेत्रको बजारमा प्रभाव पार्यो । कम्पनीले नयाँ मोडेलहरू बजारमा ल्याएर अत्याधुनिक सफ्टवेयर, इन्फोटेन्मेन्ट प्रणाली र ब्याट्री प्रविधि प्रस्तुत गर्दै आएको छ । यसले कम्पनीलाई २०२० मा ४ लाख २७ हजार ३०० युनिट गाडीको बिक्रीबाट २०२३ मा २० लाख ८९ हजार युनिट गाडी बिक्रीसम्म पुर्यायो । सोही अवधिमा, टेस्लाले मात्र ५ लाख युनिटबाट १८ लाख १० हजार युनिट गाडीको बिक्री वृद्धि गरेको थियो ।
सन् २०२४ सम्म आइपुग्दा बीवाईडीले आफ्नो वृद्धिदर कायम राख्दै २७ लाख ५० हजार युनिटको आँकडालाई पार गरिसकेको जनाएको छ ।
दोस्रो : सरकारको सहायता
कम्पनीलाई चीन सरकारको सहयोग रहेको छ । जसले गर्दा आन्तरिक उत्पादनले कम्पनीलाई आफ्नो लागत घटाउन र प्रतिस्पर्धी मूल्यमा गाडीहरू बजारमा ल्याउन मद्दत पुर्याएको छ । विशेषगरी, कम्पनीको ब्याट्री उत्पादनमा पूर्वाधार एकीकरणले यसलाई ठूलो प्रतिस्पर्धात्मक लाभ दिएको छ ।
कम्पनीले ब्याट्री इलेक्ट्रिक गाडी र प्लग–इन हाइब्रिड इलेक्ट्रिक गाडी दुवै प्रकारका गाडी बजारमा ल्याएर विश्वबजारको प्रतिस्पर्धालाई बढाइरहेको छ ।

कम्पनीले चीनमा मात्र केन्द्रित नभएर अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाउन थालेको छ । दक्षिणपूर्वी एसिया र अमेरिकामा कम्पनीले राम्रो प्रतिस्पर्धा बढाइरहेको छ ।
यस्तै, युरोपमा पनि कम्पनीले जोड दिइरहेको छ ।
युरोपमा टेस्ला र अन्य पश्चिमी निर्माता रहेको छन् । जसले गर्दा बीवाईडीसँग टेस्ला र अन्य पश्चिमी निर्माताहरूको कडा प्रतिस्पर्धा बढाउने छ ।
कम्पनीको उत्पादन मूल्य र रणनीतिले भविष्यमा पश्चिमी निर्माता र टेस्ला जस्ता कम्पनीहरूलाई ठूलो चुनौती दिन सक्ने सम्भावना रहेको छ ।
कम्पनीले विश्वव्यापी अटोमोबाइल बजारमा आफ्नो प्रतिस्पर्धा बढाउँदै लगेको देख्न सकिन्छ ।
