
स्थानीय तह निर्वाचनको मध्यावधि जनमत परीक्षणअन्तर्गत ४४ पद (जिसस प्रमुखसहित)मा भएको उपनिर्वाचनमा परम्परागत दलकै वर्चस्व देखिएको छ । केही ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र, राप्रपासहितकाले चुनौती दिने भन्दै उम्मेदवारी खडा गरेका थिए । तर, ४४ मध्ये ३८ पदमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।
यसले नयाँ दलहरू अहिले नै विकल्प नबनिसकेको देखाएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । उपनिर्वाचनले ठूला दलको संख्या यताउता गर्नेभन्दा ठूलो सन्देश नदिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
एक्लाएक्लै चुनावमा होमिँदा पनि प्रमुख ३ दलबीच प्रतिस्पर्धा भएको विश्लेषकहरूको भनाइ छ । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले मतदाताले मंसिर १६ गते भएको उपनिर्वाचनमा पुराना दलप्रति नै विश्वास देखाएको बताउँछन् ।
‘समग्रमा विश्लेषण गर्दा मूलधारका पार्टीहरू कांग्रेस, एमाले, माओवादीलाई नै जनताले विश्वास गरी मतदान गरेको देखियो,’ वाग्लेले लोकान्तरसँग भने, ‘सरकारमा भएको ‘एन्टी इन्कम्बेन्सी’का कारणले कांग्रेस र एमालेले केही सीट र मत गुमाएको देखिन्छ भने माओवादीले प्राविधिक रूपमा केही संख्या बढाउन सफल भएको छ ।’
४४ पदका लागि निर्वाचन हुँदा कांग्रेसले संख्यात्मक आधारमा १९ पद जितेर समग्रमा ४३.१८ प्रतिशत हिस्सा ओगटेको छ । यस क्रममा कांग्रेसले कीर्तिपुर नगरपालिका प्रमुख, ओखलढुंगा र कैलाली जिसस प्रमुख तथा १६ वटामा वडा जित्यो । दोस्रो भएको माओवादीले ११ र एमालेले ८ पद जितेका छन् ।

राजनीतिक विश्लेषक डा. इन्द्र अधिकारी स्थानीय तह उपनिर्वाचनले घुमीफिरी परम्परागत दलकै वरिपरी जनमत रहेको देखाएको बताउँछिन् ।
‘अघिल्लोपटक कांग्रेस, एमाले र माओवादीले जितेका ठाउँमा एकअर्काले जितेको देखियो । अर्थात् घुमीफिरी ठूला दलकै वर्चस्वको निरन्तरता देखियो,’ अधिकारीले लोकान्तरसँग भनिन्, ‘यो चुनावले पुराना दलको विकल्प बनिसकेको छैन भन्ने सन्देश दियो । २०८४ मा पनि प्रमुख प्रतिस्पर्धी कांग्रेस र एमाले नै रहन्छन् भन्ने देखायो ।’
४४ मध्ये कांग्रेसले जितेका २४ वटा पद थिए । यसपटक केही पद कांग्रेसले गुमायो । कांग्रेसले अघिल्लोपटक जितेको दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष एमालेले आफ्नो पक्षमा पार्यो । यीबाहेक एमालेले ५ वटा वडाध्यक्ष गरी जम्मा ८ पद जित्यो ।
कांग्रेस र एमालेमा ठूलो अदलबदल नभए पनि माओवादीले एक्लै चुनाव लड्दा आफूलाई बलियो रहेको देखाएको विश्लेषक श्याम श्रेष्ठको टिप्पणी छ ।
‘यसअघि जस्तै कांग्रेसले धेरै जित्यो । तर, सीट संख्या घट्यो । एमाले दोस्रोबाट तेस्रो भयो । यो ठूलो फरक हो । माओवादी केही ठाउँमा हारेर पनि कांग्रेस र एमालेलाई चुनौती दिन सफल भयो,’ श्रेष्ठले भने, ‘केही पालिकाका अध्यक्ष, उपाध्यक्ष जितेको छ । माओवादीको सपोर्टबेस पहिलोभन्दा ज्यादा देखियो । यसैले समग्रमा माओवादीको लागि उपचुनाव फापेको देखिन्छ ।’
गठबन्धन बनाएर मात्रै चुनाव जितिन्छ भन्ने क्रमलाई यसपटकको उपनिर्वाचनले तोडेको श्रेष्ठ बताउँछन् ।
‘यो उपनिर्वाचन दलहरूका लागि अग्निपरीक्षा जस्तो थियो, किनकी पछिल्ला केही वर्षयताका चुनाव दलहरूले गठबन्धन बनाएर मात्रै लडेका थिए,’ श्रेष्ठले भने, ‘यसपटक एक/दुई ठाउँबाहेक सबै दल एक्लाएक्लै उठे । हरेक दलको आफ्नै तागतमा जनमतको स्थिति मापन भएको छ । सीटमा तलमाथि भए पनि कांग्रेस, एमाले र माओवादी मूलधारमा देखिए ।’
माओवादीले कांग्रेसबाट मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख खोसेको छ ।

आफूले जितेको हुम्लाको सर्केगाड र पूर्वी रुकुमको पुथाउत्तरगंगाको उपाध्यक्ष पनि जोगाएको छ ।
कांग्रेसबाट खोसेको पालिका प्रमुख, उपप्रमुख र उपाध्यक्षसहित माओवादीले ११ पद जितेको छ, जुन एमालेको भन्दा ३ बढी हो । अर्थात्, उपनिर्वाचनका ४४ पदमा ११ पद जितेर माओवादीले प्राविधिक रूपमा आफूलो दोस्रो बनाएको छ ।
यति मात्रै होइन, कीर्तिपुर नगरपालिकामा कांग्रेससँग थोरै मतले प्रमुखमा हारेको विषयलाई पनि माओवादीले प्रतिष्ठा मानेको छ । किनकि कांग्रेससँग ७७९ मतले पराजित हुनु र एमालेलाई २१८ मतले पछाडि पार्न सक्नुलाई माओवादीका नेता तथा कार्यकर्ताले प्रतिष्ठाको विषय मानेका छन् । दुवैपटक माओवादीले कीर्तिपुरमा लोकप्रिय रहेका प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार उठाएको थियो ।
२०७९ मा कीर्तिपुरको मेयरमा महर्जन कांग्रेसका राजकुमार नकर्मीभन्दा ५ हजार र एमाले उम्मेदवारभन्दा १५ सय मतान्तरले पछाडि परेका थिए । तत्कालीन अवस्थामा ४०९० मत ल्याएको माओवादीले यसपटक कम मत खस्दा पनि बढाएर ४५५५ पुर्याएको छ ।
तर, माओवादी फुर्किने गरी जनमत नआएको श्रेष्ठ बताउँछन् ।
‘माओवादी पहिलेभन्दा राम्रो देखियो । माओवादीलाई बाहिर बस, संगठन निर्माण गर भन्ने सन्देश उपनिर्वाचनले दिएको छ,’ श्रेष्ठले भने, ‘तर यो नतिजाले ज्यादा फुर्किन जरुरी छैन । तल कार्यकर्ता बिग्रिएका छैनन्, बिग्रिएको माथि नै हो भन्ने सन्देश माओवादीले पाएको छ ।’
रास्वपा र नयाँप्रति विकर्षण
निर्वाचन हुने ४४ पदमध्ये रास्वपाले २३ ठाउँमा उम्मेदवारी दिएको थियो । तर, काठमाडौं महानगरपालिका– १६ को वडाध्यक्ष मात्र रास्वपाले जित्न सक्यो । गत निर्वाचनमा जस्तै शहरी मतदाताबीच आफूहरूको प्रभाव रहेको देखाउन रास्वपा सफल भएको छ । तर, पार्टीको सैद्धान्तिक र सांगठनिक शक्ति नरहेकाले अन्यत्र सबै ठाउँमा १० प्रतिशत पनि मत ल्याउन नसकी जमानत जफत भएको छ ।
विश्लेषक वाग्ले विकृति, विसंगति र पुराना दलप्रति आक्रोश व्यक्त गरेर उदाएको रास्वपाले एक ठाउँबाहेक अन्यत्र जनमत समेत जोगाउन नसक्नुले गम्भीर प्रश्न उब्जाएको बताउँछन् ।
‘निराशाको व्यापार गरेर तथा सुशासन र भ्रष्टाचार नियन्त्रणको सपना बाँडेर उदाएको रास्वपाका सभापतिको नै एकपछि अर्को कान्डमा फसेर आर्थिक विकृति, विसंगति र अपचलनको विम्ब भएपछि जनताको मोह भंग भइसकेको देखिन्छ,’ वाग्लेले भने, ‘त्यसैले काठमाडौं– १६ बाहेक अन्त कहीँ पनि मत पाउन नसकेपछि रास्वपाको भविष्यमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।’
तर, पनि मूलधारका पार्टीप्रतिको शहरी असन्तुष्टि कायमै रहनुले ठूला दल दबाबरहित भने हुन नसक्ने उनको भनाइ छ ।
‘शहरी मतदातामा मूलधारका पार्टीहरूप्रति असन्तुष्टि कायमै रहेको सन्देश पनि निर्वाचन परिणामले दिएको छ,’ वाग्लेले भने, ‘शहरी मतदाताको यस्तो मनोविज्ञानबाट कांग्रेस र एमालेले समयमै शिक्षा लिएर आफूलाई सुधार र रूपान्तरण गरेनन् भने भविष्यमा थप क्षति हुने देखिन्छ ।’
ठूला दलप्रति प्रश्न भए पनि क्रेज नघटेको विश्लेषक इन्द्रा अधिकारी बताउँछिन् ।
‘आलोचना र प्रश्न सत्तामा हुँदा सबैभन्दा धेरै हुन्छ । दलहरूले राजनीतिक परिवर्तन गरे, त्यसपछि राम्रो गरेनन्, सुध्रिनुपर्छ भनेर मतदाताले आलोचना र रिस पोख्ने ट्रेन्डको निरन्तरता हो यो चुनाव,’ अधिकारी भन्छिन्, ‘सत्तामा हुँदा राम्रो काम गरे पनि मन नपराउने र प्रश्न गर्ने नागरिकको एउटा बानी हो । अर्कातिर स्थानीय तहको डाइनामिक्समा पार्टीभित्रको असन्तुष्टि, सत्ता, उम्मेदवारको अनुहार, लगनशीलता, इमान्दारितादेखि आनीबानी धेरै कुरा जोडिन्छन् । यसैले यसपटक हामीले धेरै हासिल गर्यौ भनेर माओवादी पनि उत्साहित हुनु पर्दैन ।’
तीन दलले जितेको ३८ बाहेक जसपाले २ तथा नेकपा एस, रास्वपा, नेमकिपा र स्वतन्त्रले १/१ पद जितेका छन् ।
के भन्छन् दलहरू ?
एमालेले अपेक्षा गरेअनुसार नजिते पनि नतिजालाई लिएर सन्तोष मानेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उता ६ पद कम जिते पनि कांग्रेसले पहिलो दल भएकोमा सन्तोष व्यक्त गरेको छ ।
‘रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो,’ केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले परिणाम सार्वजनिक भएपछि विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ । यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ ।’
उता, एउटा मात्रै वडामा विजयी भए पनि रास्वपाले यसलाई शहरी मतदाताको आकर्षणसँग जोडेर हेरेको छ । सभापति रवि लामिछाने नै एकपछि अर्को विवादमा मुछिँदै गर्दा पार्टीमाथि अनेकन प्रश्न उठे पनि काठमाडौंको केन्द्रमै एउटा वडा जित्नु सानो उपलब्धि नभएको रास्वपा नेताहरू बताउँछन् ।
यो उपचुनावबाट माओवादी केन्द्र सबैभन्दा उत्साही भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै लड्दा जनताले अनुमोदन गरेको बताएका छन् ।
‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ,’ प्रचण्डले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’