
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी संस्थापनलाई चुनौती दिँदै १५ औं महाधिवेशनको तयारी अगाडि बढाएका छन् ।
पार्टी केन्द्रले मंसिर २२ गतेको प्रदेश सम्मेलनअगाडि कुनै कार्यक्रम नराखिएको सर्कुलर सभापतिहरूलाई पठाएको थियो । तर, शेखर समूहले कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको कार्यक्रम राखेरै छाड्यो । विरोधकाबीच बुधबार कार्यक्रम समापन गर्यो ।
शेखर समूहले ‘प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१’ गरेको हो । त्यहाँ कोशी प्रदेशका १३७ पालिका सभापति तथा देशका महानगर सभापतिहरूलाई बोलाइएको थियो ।
यसको आयोजक मोरङका १७ पालिका समिति भनिएको थियो । यसबाट शेखर समूहले प्रदेश सम्मेलनअगाडि नै १५ औं महाधिवेशनको तयारीमा जुटेको सन्देश दिएको छ । इतर पक्ष भए पनि पार्टी नेतृत्वकै शैलीमा प्रशिक्षण कार्यक्रम राखिएको हो ।
कार्यक्रमलाई डा. शेखर कोइरालाले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा शेखरले महाधिवेशन समयमा गर्ने गरी संस्थापनले तयारी नगरेको भन्दै चर्को आलोचना गरे ।

‘नियमित हिसाबले २०८३ मंसिरमा महाधिवेशन हुनुपर्छ । अहिलेसम्मका गतिविधिले महाधिवेशन हुनेमा आशंका छ,’ कोइरालाले भेलालाई सम्बोधन गर्दै भने, ‘क्रियाशील सदस्यताको विषयमा भइरहेको अलमलले नै महाधिवेशन समयमा हुँदैन भन्ने देखाएको छ ।’
शेखर महाधिवेशनमा मात्रै केन्द्रित भएनन्, आफूहरूको भेला रोक्ने कसरत भएको समेत बताए । ‘तपाईंहरू कतैबाट आउने कुनै किसिमको डर, धाक र धम्कीबाट नआत्तिनुस् । निस्फिक्री भएर घर जानुस्,’ शेखरले भनेका थिए, ‘तपाईंहरू काम गर्नुस्, म संरक्षण गर्छु ।’
शेखरले पार्टी संस्थापनले कार्यक्रम नराख्न गरेको सर्कुलरलाई धम्कीको संज्ञा दिएका हुन् ।
मंसिर १७ गते केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले २२ मंसिरको प्रदेश सम्मेलन अगाडि कुनै कार्यक्रम नराखिएको भन्दै सर्कुलर जारी गरेका थिए ।

‘मंसिर २२ गते कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनी प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले मंसिर २२ मा हुने सम्मेलनपूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ,’ पौडेलको सर्कुलरमा भनिएको छ ।

तर, शेखर समूहले संस्थापनले यसरी पत्र पठाएर कम्युनिस्ट पार्टीको जस्तो निरंकुश व्यवहार देखाएको भन्दै आपत्ति जनाएको छ ।
‘देश संघीयतामा गएपछि केन्द्रले मात्रै कार्यक्रम गर्छौं, पालिका, गाउँ र वडाले कार्यक्रम गर्न पाउँदैनन्, प्रदेश कार्यसमिति, जिल्ला र केन्द्रीय नेताले कुनै कार्यक्रम नै गर्न पाउँदैनन् भन्नु सैद्धान्तिक विचलन हो,’ शेखर पक्षका नेता डा. गोविन्दराज पोखरेलले लोकान्तरसँग भने, ‘संगठन चलायमान बनाउन एवं सबै नगर समिति र पार्टीका संयन्त्रलाई कार्यक्रम गर्न नदिनु कम्युनिस्टहरूको भन्दा तानाशाही व्यवहार हो ।’
महाधिवेशन निकट हुँदा जिम्मेवार नेताहरूले कार्यक्रम गर्ने विषय स्वभाविक भएको केन्द्रीय सदस्य पोखरेल बताउँछन् । ‘महाधिवेशन आउँदा पदाधिकारी, केन्द्रीय सदस्य, नेता सबैले कार्यक्रम गर्छन् । गर्न पनि पाउनुपर्छ । झन् लोकतान्त्रिक पार्टीमा त कसैलाई निषेध गरेर कार्यक्रम नगर भन्नै मिल्दैन,’ पोखरेलले भने, ‘यी गतिविधि नियमित हुन् । यसलाई गुट/उपगुटभन्दा माथि राखेर हेर्नुपर्छ । पार्टी संगठनलाई चलायमान बनाउन, सुझाव दिन यस्ता कार्यक्रम हुनुपर्छ ।’
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा शेखर समूहले राखेको कार्यक्रम पार्टीको औपचारिक नभएको बताउँछन् ।
‘उहाँहरूले गर्न खोजेको कार्यक्रमको विषयमा प्रश्न उठेपछि प्रदेश कार्यसमितिलाई जानकारी नदिइ गराएको कार्यक्रमबारे धेरै ठाउँबाट जानकारी माग भयो । प्रदेश कार्यसमितिले नै थाहा छैन भनेपछि सभापतिहरूको भेला नरहेको भनेर केन्द्रले निर्देशन गरेको हो,’ विश्वकर्माले भने, ‘तर, पार्टीको अफिसियल कार्यक्रम होइन, विधानमा व्यवस्था भएको छैन भन्ने थाहा हुँदाहुँदै उहाँहरूले कार्यक्रम गर्नुभयो । कार्यक्रम आधिकारिक होइन, नगरेको भए हुन्थ्यो । यस्तोमा कार्यक्रम गरिहाल्नुभयो, अब के गर्ने भनेर पदाधिकारी र नेताहरूले विचार गर्नुहोला ।’

देखिनलाई प्रदेशभित्रका पालिका सभापतिलाई डाकिए पनि शेखरले १५ औं महाधिवेशनको तयारी अगाडि बढाउने प्रयत्नस्वरूप यस्तो कार्यक्रम गरेको एक नेता बताउँछन् ।
‘उहाँले १५ औं महाधिवेशनमा अगाडि बढ्ने मानसिकता बनाउनुभएको छ । यसैले प्रदेश सम्मेलनअगाडि आफैंले प्रतिनिधित्व गर्ने कोशीबाट कार्यक्रम गर्नुभएको छ,’ ती नेता भन्छन्, ‘यस्तो कार्यक्रम अब अन्य प्रदेशमा अन्य नामबाट गर्ने तयारीमा लागेको बुझेका छौं ।’
१४ महाधिवेशनदेखि नै महामन्त्री गगन थापासँग शेखरको सम्बन्ध राम्रो छैन । यसैले उनीविना नै शेखरले केन्द्रीय नेतालाई बटुलेर आफ्नो समूह बलियो रहेको देखाउन खोजेका छन् ।
विराटनगरको प्रशिक्षणमा पनि शेखरले केन्द्रीय नेता समेत उतारेका थिए । केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजीव कोइराला, चन्द्रमोहन यादव र रुक्मिणी कोइरालालगायत सहभागी भए ।
कोशी प्रदेशका महामन्त्री उमेश थापा, पूर्व केन्द्रीय सदस्यहरू गुरु घिमिरे, रामकृष्ण भट्टराई र हसन अन्सारी पनि सहभागी थिए । त्यस्तै, जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू– मोरङ, केदार भण्डारी– सुनसरी, विनोद बान्तवा– भोजपुर, रुपनारायण जबेगु– पाँचथर पनि सहभागी भए । संघीय सांसद सुनिल शर्मा, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, पूर्व जिल्ला सभापतिहरू नरेन्द्र केरुङ– पाँचथर, गोविन्द ढुंगाना– तेह्रथुम, बालकृष्ण थापा– भोजपुर, गोमा केसी– ओखलढुंगा पनि सहभागी थिए ।
त्यस्तै, कोशीको कार्यक्रममा काठमाडौं महानगरपालिका सभापति नीलकाजी शाक्य, पोखराका सुरेन्द्रमान बिजुक्छे, ललितपुरका सुवानन्द धाख्वा, वीरगञ्जका मणिन्द्रराज नेपाली र विराटनगरका दीपक चापागाईंलाई पनि बेलाइएको थियो । तर, पार्टीको पत्रपछि पोखरा, ललितपुर र वीरगञ्जका सभापति कार्यक्रममा सहभागी नभएको एक नेताले जानकारी दिए ।
केही दिनअगाडि मात्रै शेखरले आफू पक्षधर युवालाई देशव्यापी अभियानमा उतारेका थिए । १३७ पालिका सभापतिलाई बोलाएकोमा ११३ उपस्थित रहेको शेखर पक्षले दाबी गरेको छ । तर, प्रशिक्षणमा ५० हाराहारी मात्रै पालिका सभापति सहभागी भएको संस्थापनका एक नेताले जिकिर गरे ।

कांग्रेस युवा नेता गुरु घिमिरे पार्टीमा यस्ता भेला र कार्यक्रम गर्ने परम्परा रहेको बताउँछन् ।
‘यस्ता भेला र कार्यक्रम पार्टीभित्र चलेको परम्परा हो । महाधिवेशन तयारी भेला तथा भेटघाट नयाँ होइन, पुरानै कार्यक्रमहरूको निरन्तरता हो । यसैले वैधानिक/अवैधानिक भन्दै प्रश्न उठाउनु न्यायोचित होइन,’ घिमिरेले भने, ‘विधानको धारा ९ को उपधारा ३ मा प्रशिक्षण गोष्ठी, भ्रमण, अभियान र नागरिक हितका क्रियाकलाप गर्न पाइने उल्लेख छ ।’
पार्टीभित्र थुप्रै बेथिति रहेका बेला जुनसुकै समूहले गर्ने यस्ता कार्यक्रमलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए ।
‘कांग्रेस उदारवादी प्रजातान्त्रिक पार्टी हो, यसमा कुनै कुरालाई निषेध हुनु हुँदैन । फौजदारी र संविधानविपरीतका कामबाहेक प्रतिबन्ध लगाउन पाइँदैन । कांग्रेसमा कोषाध्यक्ष र सचिवका यस्तै भेला भएका छन्,’ घिमिरेले भने, ‘देशभरका पालिका सभापतिको कुनै अधिकार र भूमिका नै छैन । अर्कातिर केन्द्रदेखि वडासम्मको गतिविधि राम्रो छैन । तीन वर्षमा पार्टी कमजोर भएर गएको छ । भ्रातृ संस्था लथालिंग छन्, कामकाजी छैनन् । यस्तोमा सभापतिलाई प्रश्न उठाउन किन पाइँदैन ? उहाँको आदेश मात्रै सुनेर हुन्छ ?’
पार्टी नेतृत्वको गलत रवैया नरोकिएको भन्दै घिमिरेले यस्ता कार्यक्रम सातवटै प्रदेशमा हुने बताए । ‘पार्टीमा अर्को समूहलाई निषेध गर्ने, कुनै गतिविधिमा सहभागी नगराउने स्थिति छ । यसैले यस्ता गतिविधि गरेर नेता/कार्यकर्ताको गुनासो सुन्ने काम रोकिँदैनन्,’ घिमिरले भने, ‘सातवटै प्रदेशमा यही स्वरूपको कार्यक्रम रेगुलर हुन्छ ।’