०९ असार २०८३, मंगलबार
गाउँघरमा चेतनाका गीत गाउने गन्धर्व

साढे पाँच दशकदेखि सारंगी रेटिरहेका शालिकराम

मंसिर २२, २०८१
बुटवल
साढे पाँच दशकदेखि सारंगी रेटिरहेका शालिकराम

दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका शालिकराम गन्धर्वले सारंगी रेट्दै गाउँगाउँ डुल्न थालेको साढे पाँच दशक पुग्यो । उमेरले सात दशक टेकेका गन्धर्वले अहिले पनि सारंगी रेट्न छोडेका छैनन् । अहिले पनि उनी आफ्नो पुर्खाले बजाउँदै आएको नेपाली लोक बाजा सारंगी लिएर गाउँ डुल्दै गरेका भेटिन्छन् ।

संस्कृति बोकेको सारंगी पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । तर, शालिकराम भने सारंगीको ऐतिहासिक पक्ष र महत्व बुझाउँदै ‘सारंगी बचाउ अभियान’मा लागेका छन् । ६९ वर्षका शालिकराम अहिले पनि सारंगी बचाउन लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गीत सुनाइरहेका भेटिन्छन् ।सारंगीको परम्परा जोगाउन, पुस्तान्तरण गर्न र ‘गाइने’को संघर्ष राज्यलाई सुनाउन आफू लागिरहेको उनी बताउँछन् ।

सारंगीलाई जिन्दगी बनाएका शालिकराम सारंगीका चार तारका ३६ स्वरबाट चेतनाका आवाज फैलाइरहेका छन् । विद्यालय, क्याम्पस, सार्वजनिक स्थल, राजनीतिक दलका नेता, सरकारका मन्त्री र विभिन्न समूहमा पुगेर उनले सारंगी बजाउँदै आएका छन् ।

आर्थिक अभावसँग संघर्ष गरिरहेको गन्धर्व समुदाय अहिलेसम्म सारंगी बजाएर गुजारा चलाउँदै आएको पाइन्छ । बाल्यकालदेखि सारंगी बजाउन थालेका उनले बुवा आमासँग हिँड्दाहिँड्दै बुवाको सारंगी बजाउने पेशालाई निरन्तरता दिए ।

गन्धर्व समुदायका छोराछोरीले पनि सारंगी बजाउन छाडिसकेको अवस्थामा उनी भने बजाउँदै हिँड्छन् । ‘म मरेपछि मेरो सारंगी पनि मर्छ, अबको पुस्ताले सारंगी बजाउन मनै गरेन,’ उनी भन्छन्, ‘सारंगी संरक्षणसँगै यसलाई जीवित  राख्न र राख्ने वातावरण बनाउन म राज्यलाई सचेत गराउन चाहन्छु ।’

उमेरले सात दशक टेकेका शालिकराम अहिले पनि सारंगी रेटिरहेका भेटिन्छन् । संस्कृति बोकेको बाजा बचाउन उनी गाउँगाउँ डुल्दै चेतनाका आवाज फैलाइरहेका छन् ।

 

सारंगीसँग गन्धर्व जातिको पहिचान र इतिहास जोडिएको छ । तर, समाजले यसलाई हेयको दृष्टिले हेर्ने गरेको छ । यहीँ कारण नयाँ पुस्ता सारंगीबाट टाढिएको उनको अनुभव छ । ‘सारंगी बजाउँदै गाउँ–गाउँमा सूचना र सन्देश दिएर हिँड्ने हाम्रो परम्परा हो, यसलाई पहिले–पहिले सबैले चलन मानेर स्वीकार्थे,’ उनले भने, ‘अहिले सारंगी बोकेर हिँड्नेलाई मागी खान हिँडेको भन्छन् । दुर्वचन लगाउँछन् र दुर्व्यवहार गर्छन् । यस्तो देखेपछि गन्धर्व जातिका छोराछोरीको मन सारंगीमा बस्न सकेन । अब सारंगी बचाउन साह्रै गाह्रो छ । सबैले आफ्नो स्वार्थ हेर्न थाले,’ उनी भन्छन् ।

नयाँ पुस्तालाई सारंगीको ज्ञान होस् भनेर उनले स्कुल र कलेजमा गीत सुनाउने गरेका छन् । यो अभियानले सारंगीप्रतिको दृष्टिकोणमा केही परिवर्तन आउने अपेक्षा उनले गरेका छन् ।

‘नेताहरूले गन्र्धव मागेर खाने र ज्यान पाल्ने जातका रूपमा बुझे,’ उनी भन्छन्, ‘नेपालका ३६ वटा बाजा हुन्, त्यसमध्ये सारंगी मुख्य बाजा हो । अहिलेको विदेशी बाजाजस्ता होइनन् । नेपाली बाजामा ब्याट्री लाग्दैन, करेन्ट लाग्दैन, लाइन पनि लाग्दैन । आफ्नै तरिकाले बनाएका बाजा हुन् ।’

जुन बेला महादेव र सरस्वती पैदा भए त्योबेला सारंगी पैदा भएको उनी बताउँछन् । ‘महादेवले सारंगी बजाउन पर्‍यो भनेर नारदजीलाई दिनुभयो । नारदजीले बजाउन सक्नुभएन । मीरालाई दिनुभयो, उहाँले पनि बजाउन सक्नुभएन । सरस्वतीलाई दिनुभयो, उहाँले पनि बजाउन सक्नुभएन । पछि गन्धर्व ऋषिमुनीहरूले बजाएपछि यो पेशा गन्धर्वको बन्न पुग्यो,’ शालिकराम भन्छन्, ‘यो युवा पुस्ताले भिर्ने पेशा रहेछ । यसको मूल्य र मान्यता छैन । ए गाइने दाइ आए भन्छन् । मानिसहरूले अपहेलित तरिकाले सम्बोधन गर्दा यनाँ पुस्ताले अफ्ठेरो मान्न थालेका छन् ।’

गन्धर्वले मात्र नभई सबैले यो बाजालाई बचाउन आवश्यक रहेको उनको भनाइ छ । सारंगी बजाएर तल्लो र ठूलो जात नहुने भन्दै नेपालको बाजा बचाउन सबै लागिपनुपर्ने उनले बताए । नेताले भाषण गर्दैमा संस्कृति नबच्ने उनी बताउँछन् । यो अभियान लिएर गाउँगाउँ जाँदा ढाटेर खाने बहाना बनाएरको आरोप लगाउँदा उनको चित्त दुख्छ तर, पनि उनी हार नखाई बाजा बचाउने अभियानमा लागेका छन् ।  

साढे पाँच दशक लाग्दा पनि कतैबाट सहयोग पाउन नसकेको उनी बताउँछन् । नेपालमा १५ प्रकारका सारंगी पाइन्छन् । तारको रूपमा नाइलनको डोरी प्रयोग गर्ने चलन छ । गन्धर्वहरूले  घरघरमा गएर गीतहरू गाउने एवं मंगल धुन बजाउने चलन थियो । घर घरमा पुगेर सारंगी बजाएपश्चात रोग ब्याधी हराएर जाने, स्वस्थी शान्ति हुने, लक्ष्मीको बास हुने विश्वास थियो । गीत र सारंगी बजाएबापत उनीहरूलाई खाद्यान्न दिने चलन थियो । अचेल घरघरमा सारंगी बोकेर आउन चलन छाडिसकेको शालिकराम बताउँछन ।

सारंगी बजाउने गन्धर्वहरूको अधिकारको लागि राज्यले अहिलेसम्म केही नगरेको उनी बताउँछन् । सारंगी बजाएर गुजारा गर्नेहरू अहिले पनि घुमन्ते र फिरन्ते जीवन बिताउन बाध्य रहेको शालिकरामको भनाइ छ ।

अहिले दाङको मज्गैं, सल्यानको बयल्डाँडा, प्यूठानको सरङकोट र सुर्खेतमा मात्रै गन्धर्व जातिको बसोबास छ । सारंगीको महत्व दर्शाउने, ‘सारंगी रेटौला, मौका मिले फेरि भेटौला’लगायत केही गीत पनि पछिल्लो पुस्ताको जनजिब्रोमा लोकप्रिय छन् ।

शालिकरामका अनुसार नेपाली लोक बाजाहरू काठ, ढुंगा, हाड, पात र सिङबाट बनेका थिए । त्यसपछि विस्तारित हुँदै विभिन्न स्वरूपका र फरक प्रकृतिका धुन निस्किने बाजा आए ।

मानव इतिहास शुरू भएदेखि नै सारंगी बाजाको प्रयोग भएको पाइन्छ । सारंगी बाजाको माउ हो । त्यसैले सारंगीको छुटटै इतिहास रहेको उनी बताउँछन् । भाषाको उत्पति हुनुअघि संचारका लागि विभिन्न बाजाको प्रयोग भएको उनी बताउँछन् । अहिले चलिरहेको नेपाली चलचित्र पूर्णबहादुरको सारंगीले पनि सारंगीको महत्व झनै बढाएको उनको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्