०१ असार २०८३, सोमबार
गृहमन्त्रीका नक्कली ‘पीए’

गृहमन्त्रीको पीए बनेर एसपीलाई फोन, सेना-प्रहरीमा जागिर लगाउने बहानामा असुली

मंसिर २३, २०८१
काठमाडौं
गृहमन्त्रीको पीए बनेर एसपीलाई फोन, सेना-प्रहरीमा जागिर लगाउने बहानामा असुली

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियालाई नचिनेको नम्बरबाट फोन आयो ।

फोनमा बोल्ने व्यक्तिले ‘म गृहमन्त्रीको पीए करनसिंह विष्ट हुँ, एक जनालाई तुरुन्तै पक्राउ गरिहाल्नोस्, गृहमन्त्रीको आदेश छ’ भनेर निर्देशन दिए ।

एसपी ओलियाले ‘तपाईं गृहमन्त्रीको पीए भनेर मैले कसरी पत्याउने ? इमर्जेन्सीमा त गृहमन्त्री आफैंले पनि फोन गरिहाल्नु हुन्छ नि !’ भनेर जवाफ दिए ।

त्यसको केहीबेरमा फेरि फोन गरेर विष्टले भने– ‘गृहमन्त्रीज्यूसँग मेरो कुरा भइसकेको छ । उहाँले फोन गर्न लगाउनुभएको हो, तुरुन्त पक्राउ गर्नुस् भनेको बुझ्नुभएन ?’

विष्टले ओलियाको मोबाइलमा फलानो व्यक्ति पक्राउ गर्नू भनेर म्यासेज पनि पठाए । त्यसपछि ओलियाले बाध्य भएर गृहमन्त्रीको सचिवालयमा बुझे । करनसिंह विष्ट नाम गरेका व्यक्ति गृहमन्त्री लेखकको सचिवालयमा नभएको खुल्यो ।

पटक–पटक फोन आएपछि ओलियाले विष्टलाई पक्राउ गरी कारबाही गर्न प्रहरी मुख्यालयलाई सुझाए । 

मुख्यालयको निर्देशनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले विष्टलाई पक्राउ गर्न टोली खटाए । विष्ट मंसिर २१ गते पक्राउ परे । 

विष्टलाई ल्याएर अनुसन्धान गर्दा उनको कर्तुत यतिमात्रै थिएन । उनीविरुद्ध यसअघि पनि प्रहरीमा दुईवटा उजुरी दर्ता भएको भेटियो ।

जेलबाट छुटाउँछु भनेर एकजनाबाट ५ लाख रुपैयाँ असुलेको आरोपमा विष्टविरुद्ध २०७५ वैशाख ११ मा मुद्दा दर्ता भएको थियो । 

त्यसमा उनी धरौटीमा छुटेका रहेछन् । विष्टले सेनाको अमल्दार बनाइदिन्छु भनेर अर्का व्यक्तिसँग २ लाख रुपैयाँ असुलेको आरोपमा २०७४ पुस १३ मा अर्को मुद्दा दर्ता भएको रहस्य खुलेको छ । उनी त्यसमा पनि धरौटीमा छुटेको देखिन्छ । 

विष्टविरुद्ध प्रहरीमा उजुरी आउने क्रम बढेको छ । उनले कसैलाई सेनामा जागिर लगाइदिन्छु, त कसैलाई सरकारी अनुदान पारिदिन्छु भनेर पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विष्टले दुबईको रोयल गार्डमा पठाइदिन्छु भनेर समेत पैसा असुलेको पाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा विष्टको मोबाइल फोन हेर्दा सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ व्यक्तिहरूको फोन नम्बर भेटिएको थियो । त्यतिमात्रै नभएर उनले उच्चपदस्थ व्यक्तिलाई कर्मचारी सरुवाका लागि म्यासेज पठाएको देखिएको छ । 

विष्ट पक्राउ पर्नुअघि उनको कर्तुतका बारेमा गृहमन्त्रीको सचिवालयमा जानकारी आएपछि मन्त्रालयमै बोलाएर सचेत गराई फर्काइएको रहेछ । त्यति हुँदा पनि विष्टले ठगी धन्दालाई निरन्तरता दिएको देखियो । 

‘विष्टले यसअघि पनि विभिन्न व्यक्तिलाई ठगी गरेको देखियो,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘हामीले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएका छौं ।’ 

विष्टले राष्ट्रिय अनुसन्धान विभागको सूचकमा जागिर लगाइदिन्छु भनेर समेत पैसा असुलेको जानकारी प्रहरीमा आएको छ । विष्ट नेपाली कांग्रेसबाट राजनीति समेत गर्दै आएका व्यक्ति हुन् ।

एसपी अचार्यले भने, ‘विष्टविरुद्ध उजुरी आउनेक्रम जारी छ । उनले धेरै व्यक्तिलाई विभिन्न बहानामा ठगी गर्दै आएको देखिन्छ ।’ 

प्रहरीका अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवाका पीए भानु देउवाको नाम लिएर समेत ठगी गरेको पाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्