२५ असार २०८३, बिहीबार
सिरियामा सत्तापलट

सिरियामा रुस-इरानको हार: असदलाई भगाएका विद्रोहीबीच छैन एकता, संकट कायमै

मंसिर २३, २०८१
काठमाडौं
सिरियामा रुस-इरानको हार: असदलाई भगाएका विद्रोहीबीच छैन एकता, संकट कायमै

१३ वर्ष लामो गृहयुद्धपछि सिरियाका विद्रोही समूहहरू राजधानी दमास्कस प्रवेश गरेका छन् ।

राष्ट्रपति बशर अल-असद राजधानी छाडेर अज्ञात स्थानतर्फ भागेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले रिपोर्ट सार्वजनिक गरेका छन् ।

गत २७ नोभेम्बरमा हयात तहरीर अल-शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले उत्तर-पश्चिमी सिरियाबाट ठूलो आक्रमण शुरू गरेको थियो । केही दिनमै उक्त समूहले सिरियाको दोस्रो ठूलो शहर अलेप्पो कब्जा गर्‍यो र दक्षिणतर्फ दमास्कससम्मको राजमार्ग हुँदै तीव्ररूपमा अगाडि बढ्यो ।

विद्रोहीहरूले यस क्रममा हमास, होम्स, डेयराअ र स्वेइदाजस्ता प्रमुख शहरहरू पनि नियन्त्रणमा लिएका छन् । आइतबार बिहान उनीहरू दमास्कस प्रवेश गरेपछि देशको सबैभन्दा ठूलो सैन्य जेल सैदनायामा थुनिएका हजारौं कैदीहरूलाई मुक्त गरेका थिए ।

राष्ट्रपति असदले विद्रोहीहरूले राजधानी प्रवेश गर्नुभन्दा केही घण्टाअघि नै राजधानी छाडेको बताइएको छ । सिरियाका उच्च सैनिक अधिकारीहरूले असदले अज्ञात स्थानतर्फ उडान भरेको पुष्टि गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री मोहम्मद अल-जलालीले भिडियो सन्देशमार्फत नयाँ नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन् । 'सिरियाली जनताले रोजेको नेतृत्वसँग म सहकार्य गर्न तयार छु,' सामाजिक सञ्जाल टेलिग्राममा उनले लेखेका छन् ।

विद्रोही समूहका नेता अबु मोहम्मद अल-जोलानीले बशर अल-असदको शासन अन्त्य भएको घोषणा गर्दै ५० वर्षको बाथ पार्टीको दमन र १३ वर्षको अत्याचारपछि सिरियामा नयाँ युगको शुरूआत भएको घोषणा गरेका छन् ।

एचटीएसले आफ्नो सेनालाई सरकारी संस्थान र सम्पत्ति नछुन आदेश दिएको छ । 'यी संस्थाहरूलाई नयाँ सरकार गठन भएपछि मात्र हस्तान्तरण गरिनेछ,' जोलानीले भनेका छन् ।

विद्रोही आक्रमणकसरीसफल भयो?

सिरियाली सरकार वर्षौंदेखि युद्ध, आर्थिक नाकाबन्दी र भ्रष्टाचारका कारण कमजोर भएको थियो ।

इरान समर्थित हिजबुल्लाह, रूसी सेना र अन्य असदका सहयोगी समूहहरू क्षेत्रीय संघर्षमा व्यस्त रहेका बेला विद्रोहीले सिरिया कब्जा गरेका हुन् ।

असदलाई समर्थन र सहयोग गर्ने हिजबुल्लाह लेबनानमा इजरायलले गरेको आक्रमणका कारण कमजोर भएको थियो । त्यस्तै, असदलाई सहयोग गर्ने मुख्य देश रुस युक्रेन युद्धमा व्यस्त छ भने इरान पनि इजरायलसँगको द्वन्द्वका कारण कमजोर बनेको छ ।

यी र अन्य कतिपय आन्तरिक कारणले असद सरकारको सैन्य क्षमता कमजोर बनेका कारण विद्रोही आन्दोलन सफल भएको हो । मुख्य विद्रोही समूह एचटीएसले सिरियाली नागरिकमाथि भइरहेको आक्रमण रोक्न आफू विद्रोहमा उत्रिनुपरेको स्पष्टीकरण दिएको छ । उनीहरूले सरकार र इरान समर्थित सेनालाई सिरियाली नागरिकमाथि आक्रमण बढाएको आरोप लगाएका थिए ।

विद्रोही समूहले दमास्कस कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियाको घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् । विद्रोहीलाई मुख्यरूपमा सहयोग गर्दै आइरहेको टर्कीले सिरियामा विकसित घटनाक्रमलाई ध्यान दिइरहेको बताएको छ ।

त्यस्तै, असदलाई समर्थन गरिरहेका रुस र इरानले भने सिरियाको पछिल्लो घटनाक्रमबारे कुनै औपचारिक धारणा दिएका छैनन् । गृहयुद्धको १३ वर्षपछि सिरिया नयाँ शासन प्रणालीतर्फ अगाडि बढेको छ, तर एचटीएसजस्तो इस्लामवादी समूहको प्रभुत्व र विद्रोहीबीचकै आन्तरिक विभाजनले सिरियाको स्थायित्वका लागि चुनौती सिर्जना गरेको छ ।

रुसको भूमिका
सिरियाको गृहयुद्धमा रुस र अमेरिकाले फरक-फरक भूमिका निर्वाह गरेका छन् । त्यसैकारण सिरियाको आन्तरिक गृहयुद्ध शक्तिसम्पन्न राष्ट्रहरूबीचको 'प्रोक्सी वार' बनेको थियो ।

रुसले सन् २०१५ मा राष्ट्रपति असदको समर्थनमा प्रत्यक्ष सैन्य हस्तक्षेप गरेको थियो । त्यतिबेला सिरियाको गृहयुद्ध चरम सीमामा पुगेको थियो र असद निकै अप्ठ्यारोमा थिए ।

रुसले हस्तक्षेप गरेपछि असद सत्तामा टिक्न सफल भएका थिए । त्यतिबेला रुसले सिरियाली विद्रोही समूहहरू र इस्लामिक स्टेट (आईएस) विरुद्ध व्यापक हवाई आक्रमण गरेको थियो ।

यससँगै रुसले निरन्तर सिरियालाई अत्याधुनिक हतियार, सैन्य सल्लाह र प्रविधिक सहयोग प्रदान गरेको थियो । सिरियामा रुसले प्रत्यक्ष हस्तक्षेप गर्नुको मुख्य कारण भूमध्यसागरमा आफ्नो उपस्थिति बढाउनु हो ।

रुसले त्यतिबेला टार्टस र लताकिया बन्दरगाहलाई आफ्नो सैन्य बेसका रूपमा प्रयोग गरेको थियो । ती बन्दरगाह अहिलेसम्म पनि रुसकै कब्जामा छन् । यससँगै संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुसले असदविरुद्धको प्रस्तावमा बारम्बार भिटो प्रयोग गरेको थियो ।

अमेरिकाको भूमिका

रुसको ठीक उल्टो अमेरिकाले असद सरकारको विरोध गर्दै विद्रोही समूहहरूलाई समर्थन र सहयोग गरेको थियो । अमेरिकाले मध्यस्थ विद्रोही समूहको रूपमा चिनिने फ्री सिरियन आर्मी (एफएसए) र केही अन्य विद्रोही गुटलाई हतियार, तालिम र आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

अमेरिकाले सन् २०१४ देखि इस्लामिक स्टेट (आईएस) समूहलाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो । त्यस्तै, अमेरिकाले कुर्दिश गठबन्धनको पनि समर्थन गर्‍यो । सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) लाई समर्थन गर्दै अमेरिकाले आईएसलाई पराजित गरेको थियो ।

सिरिया युद्धमा अमेरिका प्रत्यक्ष सहभागी हुनुको उद्देश्य मध्यपूर्वमा इरानको प्रभाव रोक्नु थियो । यससँगै अमेरिकाले सिरियामा लोकतान्त्रिक सरकार बनाउने प्रयास पनि पटक-पटक गरेको थियो ।

अमेरिकाले जेनेभा वार्ता र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सिरियामा शान्तिपूर्ण समाधान खोज्न भूमिका खेलेको दाबी गर्छ । असदले आफ्ना नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै अमेरिकाले २०१७ र २०१८ मा सिरियामा भीषण सैन्य आक्रमण गरेको थियो ।

दुवै ठूला देशले सिरियामा आफ्नो स्वार्थका लागि सैन्य हस्तक्षेप गरेपनि सिरियाली जनताको पीडामा कमी ल्याउन खासै प्रयास गरेनन् ।

सिरियामा कुन विद्रोही समूहको के उद्देश्य ?

असदविरुद्ध विजय प्राप्त गरेका दर्जन बढी विद्रोही समूहहरूको लक्ष्यमा एकरूपता भने देखिन्न ।

फ्री सिरियन आर्मीको मुख्य उद्देश्य असदको निरंकुश शासन हटाएर लोकतान्त्रिक सरकार स्थापना गर्नु हो । यसमा इस्लामिक अतिवादी विद्रोही समूहको समर्थन छैन । 

त्यस्तै सिरियन डेमोक्रेटिक फोर्सेस कुर्दिश स्वायत्तता र धर्मनिरपेक्ष शासनको पक्षमा छ ।

तर, अन्य इस्लामिक झुकाव भएका समूहहरूले यी दुवै समूहसँग परस्पर विरोधी विचारधारा राख्छन् । जसमध्ये पछिल्लो विद्रोहको नेतृत्व गरेको मानिएको हयात तहरीर अल-शामले सिरियामा इस्लामिक कानून (शरिया) आधारित शासन स्थापना गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, अर्को इस्लामिक विद्रोही समूह जबात अहरार अल-शाम र जयश अल-इस्लामले सलाफी इस्लामिक शासनको समर्थन गर्छ । हुरास अल-दिनले अल-कायदाको विचारधारामा आधारित शासन व्यवस्था चाहन्छ ।

अरू चरमपन्थी समूहजस्तै आईएसआईएसले राजतन्त्रको चाहना राखेको छ र सिरियाको सम्पूर्ण क्षेत्रमा नियन्त्रण गर्ने लक्ष्य राखेको छ । यद्यपि यो समूह अहिले निकै कमजोर छ ।

सिरियाको विद्रोहमा टर्कीयले पनि मुख्य भूमिका खेलेको थियो । टर्कीयले समर्थन गरेको सिरियन नेशनल आर्मीले टर्कीयकै विरोधमा हतियार उठाएका कुर्दिश समूहलाई निमिट्यान्न पार्ने लक्ष्य राखेको छ ।

फरक-फरक विचारधारा र शासन प्रणालीको वकालत गर्ने समूहहरूले सामूहिक रूपमा सिरियाबाट असदलाई भगाउन सफल भएपनि आन्तरिक द्वन्द्वका कारण स्थायित्व भने दिन नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।

असदविरुद्ध लडाईं चलिरहँदा पनि यी समूहहरूले क्षेत्रीय नियन्त्रण कायम राख्न एकआपसमा पनि लड्ने गरेका थिए । अहिलेको विद्रोहको नेतृत्व गरेको एचटीएसले अन्य धेरै विद्रोही समूहलाई दबाएर राखेको छ । इदलिबमा आफ्नो प्रभुत्व कायम गर्न अवरोध गर्ने अन्य समूहसँग एचटीएसले लामो लडाईं लडेको थियो ।

असदविरुद्ध लडिरहेको आईएसआईएसलाई सम्पूर्ण सिरिया कब्जा गर्न खोजेको आरोप लगाउँदै अन्य विद्रोही समूहले स्वीकार गरेका छैनन् ।

त्यस्तै, सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) र टर्कीय समर्थित समूहबीच पनि पटक-पटक लडाईं चल्ने गर्छ ।​ एसडीएफ र टर्कीय समर्थित समूहबीच कुर्दिश स्वायत्तता र क्षेत्रीय नियन्त्रणको विषयमा मतभेद छ ।

salt training

कमेन्ट गर्नुहोस्