
दिनभरको भागदौड, तनाव तथा धेरै काम गर्नुपर्नाका कारणले धेरै मानिसलाई रातमा राम्रो निद्रा नपर्ने समस्या हुन्छ ।
तर पर्याप्त निद्रा नपर्नु विभिन्न खाले रोगको कारक बन्ने अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् ।
जो मानिसहरु रातमा केवल ५।६ घण्टा मात्र सुत्दछन् उनीहरुमा मुटुरोग, हृदयाघात, मधुमेह तथा बाथ जस्ता खतरनाक रोगको खतरा बढ्दछ ।
त्यसैले कम्तीमा रातमा ७।८ घण्टा सुत्नुपर्छ । तर कतिपय मानिसहरु सुत्न चाहँदा चाहँदै पनि रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यसरी रातमा निद्रा नलाग्ने समस्या हटाउन यसो गर्न सकिन्छः
रातमा सुत्नुभन्दा पहिले कफी नपिउन अनुसन्धानकर्ताहरूले सुझाएका छन् । यसमा भएको क्याफाइन तत्वले मस्तिष्कलाई सक्रिय बनाइदिन्छ । जसका कारण निद्रा पर्दैन ।
रातमा सुत्नुभन्दा एक घण्टा पहिले हल्का व्यायाम गर्नाले सहजै निद आउँछ । यसले मांशपेशीलाई सक्रिय बनाउँदछ र रातमा निद्रा नलाग्ने समस्या कम हुन्छ ।
आफ्नो बेडरुमलाई सफाचट राख्नुपर्छ साथै सुत्ने कोठाको तापक्रम सन्तुलित हुनुपर्छ । निद्रा लागेन भने रातमा मधूर संगीतको ध्वनी लगाएर तथा हल्का प्रकाशयुक्त बत्तीको प्रयोग गरेर ओछ्यानमा पल्टिनाले विस्तारै निद्रा आउँछ ।
रातमा सुत्नुभन्दा पहिले मोबाइल, ट्याबलेट, कम्प्युटर तथा टेलिभिजन जस्ता विद्युतीय सामानको प्रयोग गर्नुहुँदैन।
सुत्नुभन्दा अघि नियमित रुपमा एक गिलास तातो दुध पिउने गर्नाले मिठो निद्रा आउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।