
नेपालस्थित भारतीय दूतावासको आयोजनामा बिहीबार पोखरामा कथक नृत्य कार्यक्रम गरिएको छ । पोखराको फेवा ताल किनारमा भएको कार्यक्रममा आठ जना नृत्यांगनाले आफ्नो बेजोड प्रस्तुति प्रदर्शन गरे ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को सहयोगमा भएको कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रदेशसभाका सदस्य एवं वरिष्ठ सरकारी अधिकारीहरूको समेत उपस्थिति रहेको दूतावासले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले नेपाल र भारतबीच लामो समयदेखि सभ्यतागत र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरे । यसप्रकारको सम्बन्धले दुवै देशका जनतालाई एकताबद्ध गराउने काम गरेको समेत उनको भनाइ छ ।
