२४ असार २०८३, बुधबार
आर्थिक मन्दीको प्रभाव

लिलामीमा पनि बिक्न छाड्यो धितो सकारेको घरजग्गा, बढ्दो गैर–बैंकिङ सम्पत्तिले तनाव

मंसिर २८, २०८१
काठमाडौं
लिलामीमा पनि बिक्न छाड्यो धितो सकारेको घरजग्गा, बढ्दो गैर–बैंकिङ सम्पत्तिले तनाव

बैंक तथा वित्तीय संस्थाहरूको गैर–बैंकिङ सम्पत्ति बढेर ३८ अर्ब नाघेको छ ।

चालू आर्थिक वर्षको पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको गैर–बैंकिङ सम्पत्ति बढेर ३८ अर्ब २६ करोड ११ लाख रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको गैर–बैंकिङ सम्पत्ति २ अर्ब ७५ करोडले बढेको छ । 

बैंकहरूसँग सामान्यतयाः दुईथरि सम्पत्ति हुन्छन्– पहिलो बैंकिङ सम्पत्ति र दोस्रो गैर–बैंकिङ सम्पत्ति ।

बैंकको मुख्य र शाखा कार्यालय रहेको घरजग्गा आदि बैंकिङ सम्पत्ति हो भने धितो सकारेको सम्पत्तिलाई गैर–बैंकिङ सम्पत्तिको रूपमा लिन सकिन्छ ।

अर्थात्, बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्छन् ।

यसरी सकारेको सम्पत्ति नै गैर–बैंकिङ सम्पत्ति हो । सकारेपछि पनि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम छ ।

गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमभारका रूपमा शतप्रतिशत प्रोभिजन गरेर राख्नुपर्ने हुन्छ । 

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूसँग ३५ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति थियो, जुन चालू आर्थिक वर्षको कात्तिक अर्थात् चार महिनामा ३८ अर्ब २६ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

बैंकहरूले निजी क्षेत्रमा प्रवाह भएको कर्जा असुली गर्न सकिरहेका छैनन्, जसले गर्दा बैंकहरूको गैर–बैंकिङ सम्पत्ति बढिरहेको छ ।

चालू आर्थिक वर्षको शुरूआतदेखि बैंकहरूको निक्षेप बढ्दै गएको छ भने कर्जा प्रवाह न्यून छ । विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको देख्न सकिन्छ । बैंकहरूको निष्क्रिय कर्जा उच्चरूपमा बढ्दै जाँदा त्यसको असर गैर–बैंकिङ सम्पत्तिमा परेको छ । 

बढ्दै गएको गैर–बैंकिङ सम्पत्तिले तनाव बढेको एक बैंकका सीईओले बताए । धितो लिलामीका सूचनाहरू निरन्तर सार्वजनिक भए पनि जग्गाका बिक्री नभइरहेको उनको भनाइ छ ।

‘बारम्बार सूचना जारी गर्दा पनि कसैले इन्क्वायरी समेत नगरेको अवस्था छ,’ उनले भने, ‘बैंकहरूलाई गैर–बैकिङ सम्पत्तिले सताइरहेको यथार्थ हो ।’ 

विगतमा बैंकहरूको खराब कर्जा (एनपीएल) बढेका कारण गैर–बैंकिङ सम्पत्तिमा वृद्धि हुन पुगेको हो । अर्थतन्त्रमा देखिएको समस्याको प्रभावस्वरूप ऋणीहरूले समयमा कर्जा तिर्न सकेका छैनन् ।

ऋणीहरूले समयमा कर्जाको साँवाब्याज तिर्न नसकेपछि धितोका रूपमा राखिएको घरजग्गा, सुनलगायत सम्पत्तिहरू बैंकले लिलामीमा राख्दै आएका छन् । तर, पनि धितो लिलाम बिक्री हुन नसक्दा बैंकहरू आफैँ सकार्न बाध्य छन् । यसरी गैर–बैंकिङ सम्पत्ति बढ्दै गइरहेको देखिन्छ । 

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थहरूको यस्तो सम्पत्ति ७ अर्ब ६९ करोड ३४ लाख रहेको थियो, जुन आर्थिक वर्ष २०७८/७९ मा ३६ प्रतिशतले बढेर १० अर्ब ५२ करोड १३ लाख रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० यस्तो सम्पत्ति ७७ प्रतिशतले बढेर १८ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ पुगेको थियो ।

र, आर्थिक वर्ष २०८०/८१ मा गैर–बैंकिङ सम्पत्ति बढेर ३५ अर्ब ५० करोड ९२ लाख रुपैयाँ पुग्यो, जुन चालू आर्थिक वर्षको शुरूआतदेखि निरन्तर बढ्दै गइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्