२९ जेठ २०८३, शुक्रबार
विप्लव नेकपाको 'ड्रेसकोड'

विप्लवको बैठकमा डेढ सय केन्द्रीय नेताले लगाएको एकै रंगको कोट–पाइन्टको रहस्य

पुस ३, २०८१
काठमाडौं
विप्लवको बैठकमा डेढ सय केन्द्रीय नेताले लगाएको एकै रंगको कोट–पाइन्टको रहस्य

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीको बैठक कपिलवस्तुमा बस्यो । मंसिर २७ देखि बसेको बैठकको त्यति चर्चा थिएन, तर जब डेढ सय जना केन्द्रीय सदस्य एउटै पहिरन अर्थात् ‘ड्रेसकोड’मा देखिए, त्यसपछि बैठकको चर्चा भयो छ । कपिलवस्तुको शिवराज नगरपालकिा– ९ मा अवस्थित पार्टी मुख्यालयमा पुस ३ बाट केन्द्रीय प्रतिनिधिको बैठक पनि बस्दैछ ।

नेकपा (माओवादी) शान्ति प्रक्रियाको २ चरणको वार्तामा आउँदा वार्ता समितिका संयोजक र वार्ता टोलीका सदस्यहरू एउटै पहिरनमा देखिन्थे । पछि शान्ति प्रक्रियामा आएपछि ‘हेडक्वार्टर’को कमान्ड गर्ने नेतृत्व तहका नेताहरूले नीलो रंगको कोटपाइन्ट लगाउँथे । शान्ति प्रक्रियामा प्रवेशपछि उनीहरूको जीवनशैलीमा व्यापक फेरबदल देखियो ।

null

माओवादी नेतृत्वले लगाएका कोटपाइन्ट र घडीलाई समेत लिएर बेलाबेला आलोचना हुने गरेको थियो । हेटौंडा एकताको सातौं महाधिवेशनसम्म आइपुग्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सुकिलामुकिला भएको जनतालाई पाच्य नभएको बताएका थिए । त्यही पुरानो माओवादीबाट अलग्गिएका नेत्रविक्रम चन्द ‘विप्लव’ले यसपटक नयाँ शैली अपनाए ।

उसो त अघिल्लो वैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकले नामको पछाडि ‘सी’ लेखेर एकरूपता दिने निर्णय गरेको थियो । अहिले विप्लव नेतृत्वको नेकपाका नेता/कार्यकर्ताले आफ्नो नामपछि ‘सी’ लेखेर पहिचान खुलाउने गरेका छन् । अहिले एउटै ड्रेसकोडमा देखिएर नयाँपन दिन खोजेका छन् । एउटै ड्रेसकोडको चर्चा हुनुका पछाडि पार्टीले सञ्चालन गरेको गार्मेन्ट पनि कारणको रूपमा छ ।

null

त्यससँगै कालो कोटमा अंग्रेजी अल्फावेट ‘सी’ र कम्युनिस्ट पार्टीको हँसिया हथौडा अंकित लोगो पनि बैठकमा सार्वजनिक गरिएको छ । त्यसका साथै सेतो सर्टको गोजी छेउमा पनि नेपाली वर्णमालाअनुसार ‘सी’ लेखेर प्रिन्ट गरिएको छ । 

‘आफ्नै गार्मेन्टमा सिलाइएको ड्रेसकोडमा रहेको दृष्य नौलो लाग्यो । हरेक पार्टीका आ–आफ्नै मौलिकता, नवीनता र उत्पादनकेन्द्रित प्रयोग तथा परीक्षण हुँदा बेग्लै प्रकारको प्रतिस्पर्धा सिर्जना हुँदो हो कि ?’, एमाले पोलिटब्यूरो सदस्य तथा सांसद सूर्य थापाले आफ्नो फेसबूक भित्तामा लेखेका छन् । उनले सिक्न सकिने यस्ता उदाहरण र दृष्टान्तहरू अनेक हुन सक्ने औंल्याउँदै एकीकृत पूँजीकृत नीति अवलम्बन गरिनु उचित हुने बताएका छन् ।

null

विप्लव माओवादीलाई सरकारले प्रतिबन्धित गरेकै बेला काठमाडौंको मनमैँजुमा गार्मेन्ट सञ्चालन गरेको थियो । प्रतिबन्धित अवस्थामा कार्यकर्ताका लागि ट्रयाकसुट, ज्याकेट, ट्राउजर, झोलाहरू उत्पादन गर्दै आएको थियो । अहिले त्यसैलाई विकसित गरी पार्टी मुख्यालय कपिलवस्तुमै २५ जना दक्ष जनशक्तिसहित गार्मेन्ट सञ्चालनमा ल्याइएको छ । ट्रयाकसुट, ज्याकेटहरू अनाथ बालबालिका र वृद्धहरूलाई समेत वितरण गरिएको छ । 

गार्मेन्ट हेर्ने जिम्मा केन्द्रीय सदस्य ‘संगम सी’ले लिएका छन् । अहिले केन्द्रीय समितिमा डेढ सय जनाले लगाएका कोटपाइन्ट र सर्ट प्रतिसेट ६ हजार रुपैयाँमा तयार भएको छ । कपडा बजारबाट संकलन गरिएको हो ।

कालो रंगको कोटपाइन्ट र सेतो सर्टमा इन्डियन र चाइनिज ब्रान्ड कपडाका परेका छन् । स्वदेशमै कपडा उत्पादन गरेर कसरी बजारीकरण गर्न सकिन्छ भनेर पछिल्लो बैठकमा एउटै ड्रेसकोड लगाएपछि छलफल समेत भएको छ । पुस ३ बाट शुरू हुने १ सय ३५ हाराहारीका केन्द्रीय प्रतिनिधिको बैठकमा पनि सहभागीहरू कालोकोट तथा सेतो सर्टमै उपस्थित हुने छन् ।

null

बैठकमा पार्टीको संगठनात्मक जीवन, नेता/कार्यकर्ताको दैनिक जीवन सञ्चालन, उत्पादनका कार्यहरूमा जुट्न ‘नयाँ आर्थिक मार्ग’को कार्यक्रम तय गरिएको छ । नयाँ आर्थिक मार्गमा श्रम र उत्पादनका लागि केन्द्रीय नेतृत्वदेखि जिल्ला, सबै जनवर्गीय संगठनलाई उत्पादनमा जोड्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा पेश गरिएको उत्पादनसम्बन्धी दस्तावेजमा भनिएको छ– ‘समाजवादको आधारशिला तयार गर्नका लागि पुँजीको उत्पादन, निर्माण र विकास सत्ता प्राप्तिका लागि मात्रै होइन भन्ने पुष्टि हो यो । उत्पादन, विकास र निर्माण क्रान्तिभित्र पनि आत्मसाथ गरेर प्रयोगमा लिन सकिन्छ भन्ने उदाहरण पनि हो ।’

null

‘युद्धकाल’मा सहकारी निर्माणको नेतृत्व पनि विप्लवले गरेका थिए । २०६३ को शान्ति प्रक्रियासम्म आइपुग्दा २० लाख रुपैयाँ पुगेको थियो । विप्लवले पछिल्लोपटक पनि देशभरी कार्यक्षेत्र भएको सहकारी सञ्चालन गरिरहेका छन्, जसको अनुभव लिनका लागि ‘सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति’को नेतृत्व गर्दा विप्लव माओवादीसँग राय मागेको थापाले उल्लेख गरेका छन् ।

null

देशभर अहिले पार्टीले तीन नेतालाई जिम्मा दिएर धान उत्पादन गर्दै आएको छ । मोरङमा ‘सुमन सी’, कैलालीमा ‘प्रकाश सी’ र चितवनमा पार्टी पोलिटब्यूरो सदस्य सन्देश पौडेलले जिम्मा पाएका छन् । सन्देशले नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा (एकता केन्द्र)मा रहँदै चितवनमा ‘बालग्राम कम्युन’ सञ्चालन गरेका थिए । माओवादीसँग पार्टी एकतापछि सन्देश विप्लव माओवादीमा गएका थिए । बैठकमा रिपोर्ट गरिएअनुसार अहिले देशभरबाट २५ सय क्वीन्टल धान उत्पादन गरी संकलन गरिएको छ ।

कालो कोटपाइन्टको ड्रेसकोडको चर्चाबाट हौसिएको नेकपाले स्वदेशमै कपडा उत्पादन, छालाका जुत्ता तयारीका लागि विस्तृत योजना बनाउने छलफल गरेको छ । कपडा उत्पादनका लागि कच्चा पदार्थ उत्पादनमा जोड दिने र अन्य उद्योगीहरूसँग परामर्श गरी कपडा उत्पादनमा जोड दिने तयारी पार्टीले गरेको छ ।  

null

नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने विषयमा गत वैशाखकै निर्णयलाई निरन्तरता दिइएको छ । बरु पछिल्लोपटक प्रचण्डसँग पार्टी एकतासम्बन्धी कुनै छलफल वा वार्ता नभएको जानकारी विप्लवले बैठकमा गराएका छन् । 

बैठकले ‘वृहत् वाम धु्रवीकरण’का लागि नयाँ प्रस्ताव अघि सारेको छ, जसका लागि ‘वामपन्थी, राष्ट्रवादी, देशभक्त र लोकतन्त्रवादी’बीच ध्रुवीकरणका लागि पहल लिने भनी प्रस्ताव पारित गरिएको छ । सशस्त्र गतिविधि गर्दा केही कार्यकर्ता, सर्वसाधारणसहितको जनधनको क्षति भयो । त्यसपछि २०७५ फागुन २८ गते विप्लव नेतृत्व नेकपालाई सरकारले प्रतिबन्ध लगाएको थियो ।

तत्कालीन नेकपाका तर्फबाट नेतृत्व गरेको केपी शर्मा ओली सरकारले नै प्रतिबन्ध लगाएको २ वर्षपछि २०७७ फागुन २० गते ३ बुँदे सम्झौतासहित प्रतिबन्ध फुकुवा गर्‍यो । त्यसपछि खुला राजनीतिक गतिविधि गरे पनि त्यस्तो हस्तक्षेपकारी राजनीतिक गतिविधि विप्लव नेतृत्वको नेकपाले अगाडि बढाउन सकेको छैन ।

null

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले विप्लवसँग एकता गर्ने गरी पछिल्लो स्थायी समितिमा समेत छलफल चलाएका छन् ।

एकता प्रक्रियालाई अघि बढाउने सन्दर्भलाई जोडेर नेकपा (माओवादी केन्द्र)ले एकीकरण, समायोजन र नवप्रवेश हुँदा स्थापित वाम घटकहरूको जुन जिम्मेवारीमा थिए, सोही स्तरमा समायोजन हुने निर्णय गरेको छ । 

स्थानीय उपचुनावबाट हौसिएका प्रचण्डले माओवादी २०६४ मै पुग्न लागेको बताउँदै आएका छन्, जसका लागि  ‘जनयुद्धकालीन’ सबै नेता/कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेका छन् । पार्टी बलियो बनाउने उद्देश्यसहित निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई सक्रिय राजनीतिमा फर्काउने तयारी पनि प्रचण्डले गरेका छन् ।

विप्लवको पछिल्लो बैठकले राजनीतिक निर्णयका कारण भन्दा पार्टीले सञ्चालन गरेको गार्मेन्टमा सिलाइएको कोटपाइन्ट र सर्टका कारण चर्चा पाएको छ । यदि माओवादीसँग विप्लवको एकता भइहालेमा २०६३ देखि सत्तामा रहँदै आएका सहकर्मीहरूसँग उनले लिएको उत्पादनको नीति कति मेल खान्छ, त्यो भने हेर्न बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्