
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारी नतोक्दा उनको समूहका नेता छटपटीमा छन् ।
लगातार दुईपटक सभापति भएपछि विधानतः देउवा अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार हुन पाउँदैनन् ।
तर, चार वर्षे कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा देउवाले आफ्नो आशीर्वाद कसलाई भन्नेमा मौनता साँधेका छन् । देउवाको यही मौनताले सभापतिको तयारीमा रहेका उनको समूहका दाबेदार र प्रभावशाली नेता छटपटीमा देखिएका हुन् ।
गिरिजाप्रसाद कोइराला र सुशील कोइराला हुँदादेखि नै देउवाले संस्थापनइतर गुट चलाएका थिए । निरन्तर लडेपछि देउवाले २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट कोइरालाको विरासत पल्टाए ।
देउवाले फेरि २०७८ मा सभापति हत्याए । तर, अहिले १५ औं महाधिवेशनको वर्ष लागिसकेको छ । भावी नेतृत्वका लागि कुनै तयारी नगर्दा देउवा एकातिर आफैं दबाबमा छन् । यो अन्योलले अर्कातिर सभापतिदेखि अन्य पदका दाबेदार समेत छटपटीमा देखिन्छन् ।
सभापतिका दाबेदार अन्योलमा
देउवापछि उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापतिका प्रबल दाबेदार हुन् ।
खड्का महामन्त्री हुँदै १४ औं महाधिवेशनमा देउवा प्यानलबाटै उपसभापति जितेका नेता हुन् । टीममा रहेर लामो समयदेखि साथ दिएकाले सभापतिको दाबेदार स्वतः आफू भएको खड्काको बुझाइ छ । तर, देउवाले कुनै वचन दिएका छैनन् ।
उनले देउवाबाट नेतृत्वका लागि आशीर्वाद पाउने आशा नमारिसकेको नेताहरू बताउँछन् । यद्यपि देउवामाथि दबाब बढाउन खड्काले केही समयअगाडि कर्णालीमा प्रभाव रहेको क्षेत्रका नेतालाई समेटेर गुटलाई कसिलो बनाउने संकेत दिएका थिए । यसअघि खुमबहादुर खड्काको लिगेसीमा रहेका नेतालाई समेत खड्काले आफ्नो समूहमा राखिराख्ने प्रयत्न गरेका छन् ।

निधि १३ औं महाधिवेशनपछि देउवाले मनोनीत गरेका उपसभापति हुन् । तर, निधि १४ औं महाधिवेशनमा देउवाले उम्मेदवार बनाएपछि उनकै काउन्टरमा सभापतिमा उठे । दोस्रो चरणमा भने उनले देउवालाई नै सहयोग गरेका थिए । पूर्व संस्थापनबाट आएका सिंहले पनि देउवालाई काउन्टर दिएर दोस्रो चरणमा उनैलाई मत दिएका थिए ।
शेखर कोइरालाविरुद्ध दोस्रो चरणमा महाधिवेशनको प्रतिस्पर्धा पुग्दा निधि र सिंह दुवैले देउवालाई साथ दिएका थिए । यसैले राजनीतिक विरासतसमेत बोकेको परिवार भएको भन्दै यी दुवैले सभापतिमा आफूलाई समर्थन गर्न देउवामाथि दबाब बढाएको नेताहरू बताउँछन् ।
‘मैले लामो समयदेखि साथ दिएको छु । समूहको राजनीति जोगाइराख्न र निरन्तरता दिन पनि स्वतः सभापतिको दाबेदार म हुनुपर्छ भन्ने खड्काको जिकिर देखिन्छ । खुलेर माग्ने आँट भने गर्नुभएको छैन,’ कांग्रेसका एक प्रभावशाली नेता भन्छन्, ‘अर्कातिर गणेशमान सिंहको विरासतमा प्रकाशमान र महेन्द्रनारायण निधिको विरासतको बलमा आफू दाबेदार रहेको विमलेन्द्र निधिले दाबा गरेको देखिन्छ । यसैले सभापतिलाई कुनै एकलाई वचन दिन सजिलो छैन ।’
देउवाको नमिलेको ‘क्याल्कुलेसन’
भावी नेतृत्वको विषय रणनीतिक भएकाले देउवा अहिले नै मुख खोल्न चाहँदैनन् । किनकि अहिले नै उत्तराधिकारी घोषणा गर्दा अर्को पक्षलाई रणनीति बनाउन सहजता हुनेछ । यसैले सभापतिको सम्भावित दाबेदारको नाम सतहमा ल्याएर जोखिम मोल्ने पक्षमा देउवा छैनन् ।
देउवा अहिले पनि केन्द्र, प्रदेश, जिल्ला सबैतिर बलियो पकडमा छन् । यसैले अहिलेकै संगठित शक्ति र निकट नेताको भरपुर प्रयोग गर्ने र काम लिने दाउमा देउवा छन् ।
यही बलियो शक्तिमार्फत सदस्यता वितरण, क्षेत्र र जिल्लाको अधिवेशनमा वर्चस्व स्थापित गर्ने दाउमा छन् । यसैले महाधिवेशन प्रतिनिधि छानिने क्षेत्रीय अधिवेशनको शक्ति सञ्चयका स्थितिको मूल्यांकनसम्म देउवाले मुख नखोल्ने नीति लिएका छन् ।
‘कांग्रेसमा उत्तराधिकारी तोक्ने भन्ने बेकारको कुरा हो,’ देउवाले केही समयअघि मात्रै विराटनगर पुगेर सञ्चारकर्मीको प्रश्नमा भनेका थिए, ‘उत्तराधिकारीको घोषणा मैले गर्ने होइन, महाधिवेशनले गर्छ ।’ कम बोल्ने स्वभावका देउवाको यही भनाइले पनि उनी धेरै कुराको ‘क्याल्कुलेसन’मा छन् भन्ने देखाउँछ ।
आफूले उम्मेदवार बनाउँदा जित्न सक्ने, समूहको अस्तित्व रक्षा गर्ने र आफ्नो पारिवारिक विरासत जोगाइराख्ने व्यक्ति हुनुपर्ने प्रमुख ३ स्वार्थ उनले हेरेको निकटहरू बताउँछन् ।
उमेरले आफूभन्दा भण्डै १८ वर्षले कान्छी आरजु राणाको राजनीतिक भविष्यको चिन्ता समेत देउवालाई रहेको देखिन्छ । आफू सक्रिय राजनीतिमै हुँदा आरजुलाई स्थापित गर्न सक्दा ३० वर्ष हाराहारीका छोरा जयवीरसिंहको पनि राजनीतिक भविष्य सुरक्षित हुने देउवाको हिसाब छ । यसैले देउवा हतार गर्ने सुरमा नरहेको उनलाई नजिकबाट चिन्ने बताउँछन् ।
देउवाका विश्वासपात्र नेता ज्ञानेन्द्रबहादुर कार्की अहिले नै उत्तराधिकारी घोषणा गर्नु ‘टु अर्ली’ हुने बताउँछन् । ‘महाधिवेशन अलि–अलि लाग्दैछ । तर, सभापतिको उम्मेदवार को र अरू पदमा को भन्ने अहिले नै घोषणा गर्नु टु अर्ली हुन्छ,’ कार्कीले लोकान्तरसँग भने, ‘यो राणनीतिक विषय पनि भएकाले सभापतिले समय आएपछि गर्नुहुन्छ ।’
सभापतिका दाबेदार मात्रै होइन, उपसभापति, महामन्त्री, सह–महामन्त्री र केन्द्रीय सदस्यका दाबेदार पनि सम्भावित शक्ति सन्तुलनलाई लिएर चिन्तामा छन् । देउवाको लामो र अविछिन्न अनुशासित टीमका सहयात्रीले नै अबको शक्ति सन्तुलनमा हिस्सा खोजेका छन् ।

अहिलेसम्म कुनै पदाधिकारी नभएका बालकृष्ण खाँण, प्रवक्ता एवं पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महत, एनपी साउँद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखकसहितका नेताहरू पनि आफ्नो भावी पोजिसनलाई लिएर चिन्तित छन् । यसैले उनीहरूको सम्भावित विद्रोह रोक्नुपर्ने दबाब पनि देउवालाई छ ।
देउवाको व्यक्तित्व अगाडि यी नेताहरूले अहिलेसम्म साथ दिएका छन् । तर, अब देउवा नहुँदा आफू बलियो हुने ‘स्पेश’ अहिलेसम्म साथ दिएकाले खोजेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणदेखि खाँण देउवासँग रिसाएका छन् । अर्कातिर खड्कासँग महत र रमेश लेखकसँग एनपी साउँदको टक्कर मिल्दैन । यसैले देउवासँग रिसाएका खाँण र एनपीहरूले विद्रोह नै गर्ने सम्भावना उत्तिकै रहेको नेताहरू बताउँछन् ।
धरौटीमा रिहा भएका खाँण सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । तरुण दल र नेविसंघको नेतृत्व गरेका उनको पकड अझै जिल्ला–जिल्लाको तल्लो तहसम्मै छ । यसैले उनलाई देउवाले रोक्न खोजेका छन् । तर, डा. शेखर कोइरालाले खाँणलाई आफ्नो समूहमा ल्याउन सबै प्रयास गरिसकेका छन् । अर्थात्, खाँण तानातानमा परेको देखिन्छ ।
अर्कातिर समूहभित्रबाट खड्कालाई सभापतिमा अघि सार्दा उनले जित्नेमा शंका छ । किनकि खड्कालाई समूहको नेता मान्न दोस्रो तहका नेताले आनाकानी गरेको बताइन्छ । आरजुसँग पनि खड्काको ट्युनिङ नमिलिरहेको नेताहरू बताउँछन् ।
केपी ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेको खुशियालीमा आरजुले केन्द्रीय समितिमा बाँडेको मिठाइ खानसमेत खड्काले अस्वीकार गरेका थिए । आरजुभन्दा महत, एनपीहरूको कुरा मिल्छ । यसैले जुन विकल्पमा जाँदा पनि देउवालाई एउटा निर्णयमा पुग्न अप्ठ्यारो स्थिति छ ।
देउवा छैटौंपटक प्रधानमन्त्री भएपछि मात्रै १५ औं महाधिवेशन गर्ने धुनमा छन्, किनकि आफू प्रधानमन्त्री भएको बेलामा महाधिवेशन गर्दा नेता व्यवस्थापन हुने, समूहलाई एक ठाउँमा राख्न सकिने स्वार्थ पनि उनमा देखिन्छ । यसैले सबै ‘क्याल्कुलेसन’पछि मात्रै देउवा महाधिवेशनको मुखैमा पुगेर निर्णय गर्ने पक्षमा छन् ।
आफ्नो लागि अनुकूलता भन्दा प्रतिकूलता बढी हुँदा देउवा चुप छन् । तर, देउवाको मौनताले अन्य दाबेदार नेताले समूहलाई बलियो बनाउने, सभापतिको तयारीमा देशव्यापी निस्कने, संगठन गर्ने जस्ता रणनीतिक काममा लाग्न पाएका छैनन् ।
बाहिरका अन्य बलिया दाबेदार
उनलाई नजिकबाट साथ दिएकाबाहेक पनि देउवाबाट शक्ति हत्याउन खोज्ने कम्तीमा आधा दर्जन नेता लाइनमा छन्, जसमा बीपीपुत्र डा. शशांक कोइराला, महामन्त्री गगन थापा, केशव–नोनापुत्र डा. शेखर कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला छन् ।
१३ औं महाधिवेशनमा निर्वाचित भएदेखि देउवालाई सहयोग गरेकाले शशांक देउवाको आशीर्वाद पाउने ‘ग्रीनसिग्नल’ कुरेर बसेका छन् । पार्टीलाई गुटबन्दीबाट माथि उठाउनुपर्नेमा शशांकले जोड दिँदै आएका छन् । देउवाको धाप पाए आफूले सहजै जित्ने शशांकको हिसाब छ ।
अर्कातिर, युवा नेता हुँदै लोकप्रियताको शिखरमा चढेका महामन्त्री गगन थापा पनि सभापतिको बलिया दाबेदार हुन् । १३ मा पराजित भएपनि १४ औं महाधिवेशनमा थापा शेखर समूहबाट महामन्त्री जितेका थिए । थापाको पनि नजर सभापतिमा छ । यसैले उनले पनि पार्टीमा अब गुटबन्दी आवश्यक नरहेको भाषण गर्न थालेका छन् । यसको पछाडि उनले पनि सभापतिमा देउवाको आशीर्वाद खोजेको देखिने नेताहरू बताउँछन् ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर सभापतिमा शेखर कोइराला र महामन्त्रीमा आफूबाहेक अहिलेसम्म अरूले उम्मेदवारी घोषणा नगरेको बताउँछन् ।
‘सभापतिमा शेखर दाइ र ६८ जिल्ला घुमेर महामन्त्रीमा मैले उम्मेदवारी दिने घोषणा गरेका छौं,’ महरले भने, ‘तर, अरू तत्काल मुख खोल्ने पक्षमा छैनन् । आफ्नो शक्तिको लेखाजोखा नभएकाले दाबेदार अलमलमा छन् । १८ महिनापछि मात्रै उहाँहरूले उम्मेदवारी घोषणा गर्नुहुन्छ ।’
गगनले साथ छाडेका डा. शेखर कोइराला पनि पछि दोस्रो तहका नेताको राजनीति जोगाउने अस्त्रसहित सभापतिको तयारीमा जुटिसकेका छन् । गगनलाई रोक्नैका लागि उनले अवसर नपाएका दोस्रो तहका नेताको राजनीतिक भविष्य सुरक्षित हुने सन्देश प्रवाह गरिरहेका छन् ।
‘५० वर्ष पनि नपुगेका गगनको पुस्तामा पार्टीको नेतृत्व आउने हो भने उनीभन्दा माथि उमेर भएका सबै नेताले राजनीतिबाट विश्राम लिए हुन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यसैले शेखर दाइले दोस्रो तहका नेताको राजनीतिक भविष्य अझै छ भनेर समेट्ने प्रयास गर्नुभएको छ । यो लाइनमा शशांक पनि भएकाले आत्तिनुपर्ने स्थिति छैन ।’
शशांकले पनि खुला रूपमा उमेर बाँकी भएका गगनले अहिले नै नेतृत्वमा दाबी गर्ने बेला नभएको बताएका छन् ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल देउवाजस्ता चतुर खेलाडी पार्टीमा सबैकुरा आफूअनुकूल भएपछि मात्रै महाधिवेशनमा जाने बताउँछन् ।
‘एमालेमा उमेरहद थियो, तर आफ्नो अनुकूलताका लागि केपी ओलीले हटाए । कांग्रेसमा दुई कार्यकाल भए पनि देउवाले विधान संशोधन गरेर कार्यकाल लम्ब्याउने सम्भावना पनि हुनसक्छ । आफ्नो उत्तराधिकारी बलियो दाबेदार नहुँदा देउवा यो विकल्पमा जाँदैनन् भन्न सकिन्न,’ पोखरेलले भने, ‘अर्कोतिर तोकिएको समयमा महाधिवेशन नहुने पुरानो अभ्यास छ ।’
आफ्ना लागि अनुकूल नभए जित्न सक्ने उत्तराधिकारी र अनुकूलताको खोजीमा देउवा रहेको पोखरेल बताउँछन् । ‘जबसम्म देउवा प्रधानमन्त्री हुँदैनन्, तबसम्म कांग्रेसको महाधिवेशन हुँदैन । अर्कोतिर जित्न सक्ने गरी उत्तराधिकारी र टीम निर्माण नभएसम्म देउवा महाधिवेशनका लागि तयार हुँदैनन्’, पोखरेलले भने, ‘देउवा आफ्नो गुटमा सक्षम सबैलाई मिलाएर जान सक्ने खुबी भएका नेता हुन् । यसैले जित्न सक्ने नेताको खोजीमा भएको देखिन्छ ।’
केन्द्रीय सदस्य एनपी साउँद पार्टीलाई अहिले नै महाधिवेशन नलागेको बताउँछन् ।
‘नेताहरूले व्यक्तिगत तयारी घुमघाम, भेटघाट र पार्टीका गतिविधि गरिरहनुभएको छ,’ साउँदले भने, ‘तर अहिले नै महाधिवेशनको तयारी टु अर्ली हुन्छ । को उत्तराधिकारी भन्ने पनि महाधिवेशनको घोषणा भएपछि मात्रै टुंगिने विषय हो ।’
सिटौलाले नमारिसकेको आश
खड्का, निधि, प्रकाशमान, गगन, शशांक र शेखर मात्रै होइन, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत देउवाको उत्तराधिकारी बन्न चाहेका छन् ।
कुनै समय चतुर नेताको उपमा पाएका सिटौला भित्रिएपछि मात्रै देउवाले १३ औं महाधिवेशनमा कोइराला विरासत पल्टाएको चर्चा हुन्छ ।
यसैले समूहलाई मिलाउन सक्ने र आरजुको समेत भविष्य स्थापित गर्न सक्ने नेताको रूपमा कतिपयले सिटौलाको चर्चा गर्ने गरेको बताइन्छ । कहिलेकाहीँ आरजुले समेत सिटौला टीम हाँँक्न सक्ने एक मात्र पात्र रहेको भन्दै देउवासँग कुरा गर्ने गरेको कांग्रेस स्रोत बताउँछ ।
अन्तिममा गगनले समेत रुचाउने भएकाले सिटौला समेत सभापति देउवाको छनोटमा पर्न सक्ने चर्चा कांग्रेस वृत्तमा रहेको एक नेता बताउँछन् ।