०७ साउन २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

रविको मिसिल अध्ययन गर्दै सरकारी वकिल, शुक्रबार मुद्दा अभियोजन

पुस ३, २०८१
काठमाडौं
रविको मिसिल अध्ययन गर्दै सरकारी वकिल, शुक्रबार मुद्दा अभियोजन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार अदालतमा अभियोजन गर्ने तयारी गरेको छ । 

सरकारी वकिल कार्यालयले अहिले मिसिल अध्ययन गरिरहेको छ । मिसिल अध्ययन र अभियोगपत्र तयार पार्न भन्दै ४ दिनको समय बाँकी राखिएको थियो । उक्त समय शुक्रबार सकिँदैछ । 

सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मिसिल अध्ययन भइरहेको र शुक्रबार अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको लोकान्तरलाई बताइन् । 

उनले भनिन्, ‘हामीले सुक्ष्मरूपमा अनुसन्धानको मिसिल अध्ययन गरिरहेका छौं, शुक्रबार अदालतमा अभियोग दर्ता गर्छौं ।’

सरकारी वकिल कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने गरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।

झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । 

सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा लिएको छ ।

गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । 

प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो । 

सूर्यदर्शनबाट ब्याज पुँजीकृत गरिएको ३९ करोड २२ लाख बराबरको कर्जा विवरणमा कर्जा खाता नम्बर ००१–००१–११६–०००४४५६ मा मिति २०७९ असार मसान्तमा १४ लाख ७५ हजार एक रुपैयाँ र २०८० असार १३ मा १६ लाख १३ हजार ७ सय १३ रुपैयाँ रवि लामिछानेको नाममा देखाइएको छ । 

रविले यसलाई इन्कार गरे पनि तेस्रो व्यक्ति खडा गरेर सहकारी ठगीबाट बच्न रविले प्रपञ्च रचेको दाबीसहित प्रहरीले केही तथ्य मिसिलमा राखेको छ । सूर्यदर्शनबाट गोरखा मिडियामा साढे ५ करोड गएको देखिन्छ । 

कमेन्ट गर्नुहोस्