२५ असार २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

जीबीसहित १९ जनाविरुद्ध थप अभियोगमा मुद्दा दायर हुँदै, रविको मुद्दा आइतबार जाने

पुस ५, २०८१
काठमाडौं
जीबीसहित १९ जनाविरुद्ध थप अभियोगमा मुद्दा दायर हुँदै, रविको मुद्दा आइतबार जाने

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी भएको ठगी सम्बन्धमा १९ जनाविरुद्ध थप अभियोगमा मुद्दा दर्ता हुने भएको छ ।

पहिले नै मुद्दा दर्ता भइसकेका १९ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत कास्कीमा अर्को अभियोगमा मुद्दा दायर गर्न लागेको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले लोकान्तरलाई जानकारी दिइन् ।

‘१९ जनाको हकमा अर्को अभियोग दर्ता हुँदैछ,’ काफ्लेले लोकान्तरसँग भनिन्, ‘कुन अभियोग भन्ने कुरा दर्ता भएपछि थाहा हुन्छ ।’ 

पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाको हकमा भने आइतबार मात्रै अभियोग दर्ता हुने उनको भनाइ छ ।

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ । ‘पूरक जाहेरीपछि अनुसन्धान गर्दा ५१ जना प्रतिवादी बनाइएको छ, उनीहरूको हकमा शुक्रबारसम्म म्याद रहेकाले आइतबार मात्रै अभियोग दर्ता गर्छौं,’ काफ्लेले भनिन्, ‘अभियोग दर्ता भएपछि हामी वेबसाइटमै राख्छौं ।’

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ । 

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले बचतकर्ताको उजुरीपछि अनुसन्धान गरेर तयार गरेको प्रतिवेदन १६ असोजमा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले १९ जनालाई प्रतिवादी बनाउँदै सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो । 

त्यस्तै, सरकारी वकिल कार्यालयले सहकारीकै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो । 

तत्कालीन समयमा १ हजार ३६ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । 

प्रहरीलाई दिएको जाहेरीमा खुलेको बिगो रकम १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ भए पनि महानगरले बनाएको विज्ञको प्रतिवेदनअनुसार ठगिएको रकम १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ रहेको थियो ।

हालसम्म कोषाध्यक्ष कुमार रम्तेल मात्रै पक्राउ परेका छन् । 

जीबीको कार्यकालमा २१ करोड २४ लाख, उनका दाजु भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख र वर्तमान अध्यक्ष थानबहादुर बुढाको पालामा २७ करोड हिनामिना भएको अनुसन्धानबाट देखिएको थियो ।

सरकारी वकिल कार्यालयका अनुसार १९ जना प्रतिवादीबाट १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबीका साथै आठदेखि १० वर्ष कैद सजाय माग गरिएको थियो ।

शुक्रबार दायर गरिएको अभियोग पत्रमा सहकारी ठगीअन्तर्गत थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित मागदाबी गरिएको छ ।

योसँगै कुल  बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ पुगेको छ ।

त्यस्तै १९ मध्ये जीबीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगसमेत थपिएको न्यायाधिवक्ता काफ्लेले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्