![जाडोमा बेथेको पराठा खानु उत्तम, घरमै यसरी बनाउन सकिन्छ [विधिसहित]](https://lktcdn2.prixacdn.net/media/Paratha_Bethe_889ZWow41i.jpg)
तपाईंले आजसम्म के केको पराठा खानुभएको छ । आलु-गोभीका पराठा त सबैले धेरै रुचाएर खानुहुन्छ। तर, के तपाईंले कहिल्यै बेथेको सागको पराठा खानुभएको छ?
आज पनि गाउँघरमा बेथेको पराठा स्वादिष्ट पाराले बनाउने प्रचलन छ। आटामा बेथे मिसाएर बनाइएको पराठा यति स्वादिष्ट हुन्छ कि एकपटक खाएपछि फेरि-फेरि खान मन लाग्छ। आज हामी तपाईंलाई बेथेको सागको पराठा बनाउने सरल विधिबारे जानकारी दिँदैछौं ।
बेथेको पराठा बनाउन आवश्यक सामग्री :
२ कप गहुँको पिठो
४ कप बेथे
१/२ चम्चा जिराको धूलो
१/२ चम्चा पिसेको ज्वानो
१ चिम्टी हिङ
२ टुक्रा काटेको हरियो खुर्सानी
अलिकति रातो खुर्सानी
नुन, तेल र पानी
कसरी बनाउने त बेथेको पराठा ?
बेथे उमाल्नुहोस्
शुरूमा बेथेको सागलाई सफा पानीले २-३ पटक धुनुहोस् । अनि उमाल्नुस्। कराई, प्यान या प्रेसर कुकरमा बेथे उमाल्न सकिन्छ। प्रेसर कुकरमा उमाल्दा केवल १ सिटी नै पर्याप्त हुन्छ। उमालिसकेपछि बेथेलाई चिसो हुन दिनुस्। त्यसपछि हातले कसेर पानी निकाल्नुस्। पूरै पानी राम्ररी निचोरेर फाल्नुपर्छ।
मसला तयार गरी आटा मुछ्नुहोस्
अब मिक्सर जारमा उमालेको बेथे, नुन, जिराको धुलो, ज्वानो, हिङ, हरियो खुर्सानी र रातो खुर्सानी राखेर राम्रोसँग पिस्नुस्। यो तयार मसला पिठोमा हालेर आटा मुछ्नुस्। पराठा बनाउनका लागि नरम आटा मुछ्नुपर्छ। स्वाद बढाउन चाहनुहुन्छ भने पिठोमा अलिकति नुन र १-२ चम्चा तेल मिसाउन सक्नुहुन्छ।
पराठा बेलेर पकाउनुहोस्
अब आटालाई बेल्न शुरू गर्नुस्। बेथेको पराठालाई बेल्नका लागि सुख्खा पिठोको प्रयोग गर्नुस्। पराठालाई बिस्तारै बेल्दै तवामा राख्नुस्। अब दुवैपट्टि घिउ लगाएर सुनौलो गुलाबी रङ आउनेगरी पकाउनुस्। अब बेथेको साग भरिएको पराठा तयार भयो। यो पराठालाई अचार, चटनी, नौनी/घ्यु या दहीसँग खान सकिन्छ। यो पराठा जाडोमा स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ।