
हालै गरिएको एक अनुसन्धानले नियमित रूपमा कफी र चिया पिउनाले टाउको र घाँटीमा हुने क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न सक्ने देखाएको छ ।
विशेषगरी निम्न र मध्यम आय भएका देशहरूमा तीव्र वृद्धि भइरहेको यस्तो क्यान्सरको जोखिम कम गर्न कफी र चिया सहायकसिद्ध हुने देखिएको हो ।
दैनिक चार वा बढी कप क्याफिनयुक्त कफी पिउने व्यक्तिहरूमा यस्तोको क्यान्सरको जोखिम १७ प्रतिशत कम हुने पाइएको छ ।
तीनदेखि चार कप कफी पिउँदा हाइपोफेरेन्जियल क्यान्सर (घाँटीको तल्लो भागमा हुने क्यान्सर) को जोखिम ४१ प्रतिशत कम हुने निष्कर्ष निकालिएको छ।
डिक्याफिनेटेड कफीले पनि मुखको क्यान्सरको जोखिम २५ प्रतिशत कम गर्न योगदान गरेको छ ।
दैनिक एक कप चिया पिउनेले टाउको र घाँटीको क्यान्सरको समग्र जोखिम ९ प्रतिशत कम गर्न सक्छ ।
तर, एक कपभन्दा बढी चिया पिउनाले लेरेन्जियल क्यान्सरको जोखिम ३८ प्रतिशत बढ्न पनि सक्छ ।
युटाहको हन्ट्सम्यान क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकहरूले यसअघि गरिएका अध्ययनहरूको विश्लेषण गरेका थिए ।
यसमा २५ हजार भन्दा बढी व्यक्तिको तथ्यांक समावेश थियो, जसमा ९ हजार ५४८ क्यान्सर रोगी र १५ हजार ७८३ क्यान्सर मुक्त व्यक्ति थिए । यस अध्ययनले क्यान्सर र आहारबीचको सम्बन्धलाई केलाउँदै कफी र चियाको प्रभाव अध्ययन गरेको थियो ।
टाउको र घाँटीको क्यान्सर प्रायः मुख, घाँटी, साइनस र र्यालग्रन्थीमा सुरु हुन्छ । यसको मुख्य जोखिम कारकहरूमा रक्सी र टोबाको पर्छ । यी रोग पुरुषहरूमा महिलाभन्दा झन्डै दोब्बर हुने गर्छन् ।
अन्य अध्ययनहरूले कफीलाई मुटुरोग, स्ट्रोक, मधुमेह, डिमेन्सिया, डिप्रेसन र केही प्रकारका क्यान्सरको जोखिम कम गर्न योगदान गर्ने देखाएका छन् ।
कफीमा रहेका २ हजार भन्दा बढी यौगिकहरूमध्ये केहीले एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्टका रूपमा काम गर्दछन् । यसले आयु लम्ब्याउनसमेत सहयोग गर्ने प्रमाण फेला परेको छ।
वरिष्ठ अनुसन्धानकर्ता युआन-चिन एमी ली भन्छिन्, यस अध्ययनले कफी र चियाको सेवनले क्यान्सरको विभिन्न उप-क्षेत्रहरूमा फरक प्रभाव पार्न सक्ने तथ्यलाई उजागर गरेको छ । यस क्षेत्रमा अझै विस्तृत अध्ययनहरूको आवश्यकता छ ।'