१९ असार २०८३, शुक्रबार
सामाजिक सञ्जालको सदुपयोग

सडकदेखि सटरमा पुगेको दम्पती : ५५ जिल्लाबाट अर्डर, जहाँ भन्यो त्यही डेलिभरी

पुस १३, २०८१
बुटवल
सडकदेखि सटरमा पुगेको दम्पती : ५५ जिल्लाबाट अर्डर, जहाँ भन्यो त्यही डेलिभरी

सबैले मनोरञ्जनका लागि मात्रै टिकटक प्रयोग गर्दैनन् । कतिपयले टिकटक सदुपयोग गरेर राम्रो कमाइ पनि गरिरहेका छन् । त्यो पनि कुनै गिफ्ट मागेर/दिएर होइन, आफ्नै व्यवसाय गरेर ।

टिकटकलाई प्रचारको माध्यम बनाएर बुटवलका एक जोडीले राम्रो कमाइ गरिरहेका छन् । टिकटककै कारण बुटवलमा ‘मालिका फेन्सी’ चर्चित नाम हो । यसका सञ्चालक हुन् गोकर्ण गिरी र उनकी श्रीमती देवका ।

बुटवलस्थित नेपालगञ्ज रोडमा रहेको फेन्सी पसललाई उनीहरूले टिकटकबाटै नेपालभर फैलाएका छन् । उनीहरू कुनै बेला सडकमा बोरा र झोलामा कपडा बिक्री गर्थे ।

तर, अहिले भने टिकटकबाटै उनीहरूले आफ्नो व्यवसाय देशभर फैलाएका छन् । उनको पसलमा सामान किन्न आउने ६० प्रतिशत ग्राहक सामाजिक सञ्जाल हेरेरै आउँछन् ।

टिकटकबाट अर्डर लिएर उनीहरूले देशभर सामान पठाउँछन् । ‘पसलको नामबाट टिकटक चलाउँदै गर्दा अनलाइन व्यवसाय गर्न सिकें,’ गोकर्ण भन्छन्, ‘अहिले देशका ५५ जिल्लाभन्दा बढीमा हाम्रोबाट सामानको खोजी/माग आउँछ । त्यहीँअनुसार जान्छ पनि । हाम्रोमा काठमाडौं, पोखरा र चितवनबाट सबैभन्दा बढी माग आउँछ । हामीलाई देशभरका ग्राहकले विश्वास गर्नुभएको छ ।’

१० वर्षअघि १० हजारबाट शुरू भएको व्यवसायमा अहिले एक करोड लगानी पुगेको छ । व्यापार पनि बढ्दो छ । उनले अहिले आधा दर्जनलाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन् । ‘टिकटकले साना र मझौला व्यवसायलाई सशक्तीकरण गर्ने रहेछ । हामीले पनि यसलाई सहीँ उपयोग गरिरहेका छौं,’ उनले भने, ‘यद्यपि केही समय टिकटक बन्द हुँदा हामीले अर्को लाइकी, इन्स्टा प्रयोग गरेका थियौं, यसबाट पनि राम्रो प्रचार भएको थियो । अहिले पसलबाट दैनिक ५० हजार र अनलाइनबाट १० हजारको बिजनेश गरिरहेका छौं ।’ 

टिकटकका प्रयोगकर्ताले आफ्नै ब्रान्ड र अरू सामानहरू निकालेर भिडियोमा राख्ने गर्छन् । सामाजिक सञ्जालले व्यापार गर्न मात्र नभई व्यवस्थापन गर्न सघाएको उनी बताउँछन् । ‘धेरैजसो मानिसहरूले सामाजिक सञ्जाललाई समय बिताउन मात्र प्रयोग गर्छन्,’ गोकर्ण भन्छन्, ‘तर, सही सदुपयोग गरेर प्रयोग गर्न जानियो भने सामाजिक सञ्जालले धेरै कुरामा सहयोग पुर्‍याउँछ ।’

३६ वर्षका गिरीले सम्पूर्ण ‘रेडिमेड’ कपडाको व्यापार गर्छन् । शुरूमा व्यवसाय गर्दा उनले धेरै संघर्ष गर्नुपरेको थियो । खोल्न ठाउँ नपाएको, व्यापारबारे व्यवहारिक ज्ञान र सीप नहुँदा झन्झट भोग्नुपरेको उनले स्मरण गरे ।

बुटवलको फेन्सी पसललाई गिरी दम्पतीले देशभर फैलाएका छन् । ६० प्रतिशत ग्राहक टिकटक हेरेरै आउँछन् । ५५ जिल्लाबाट अर्डर आउँछ, उनीहरूले जहाँ भन्यो त्यही डेलिभर गरिदिन्छन् ।

बजारीकरण कसरी गर्ने भन्ने समस्या आएको र आफूहरू धेरैतिर भौतारिँदै हिँडेको बताउँदै उनले भने, ‘नयाँ उत्पादनको लागि त्यति साथ र समर्थन नमिल्ने रहेछ । हामी साना व्यापारीले बजारमा पुग्दा अरू आफ्ना सामान झारिसक्थे । अरूले व्यापारीलाई उधारोमा दिने भएकाले हाम्रो नयाँ उत्पादन पनि उनीहरूले त्यसरी नै खोज्थे ।’

टिकटक र इन्स्टाग्राममा आम नागरिकको उपस्थितिलाई नयाँ पुस्ताका व्यवसायीले उपयोग गर्दै गएको गोकर्णको भनाइ छ । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका गोकर्ण उच्च शिक्षा अध्ययन गर्न भनेर विस.२०६० मा बुटवल झरेका थिए । बुटवल बहुमुखी क्याम्पसबाट आईए र बीए उत्तीर्ण गरे ।

अन्नपूर्ण मोडल कलेजबाट ग्रामीण विकास (आरडी)बाट उनले मास्टर उत्तीर्ण गरे । मिडियाकर्मी बन्ने ठूलो रहर भएका उनी मिडियामा छिरे । बुटवलको रेडियो छिमेकीमा मार्केटिङ म्यानेजर बने । त्यहाँ केही वर्ष काम गरेपछि उनी बुटवलकै अर्को खस्यौली एफएममा मार्केटिङ म्यानेजर बने । ‘रूचि पत्रकारिता थियो तर, साथीभाइले विजनेश गर्नुपर्छ । मिडियामा काम गरेर पैसा कमाउन सकिँदैन भनेपछि म व्यापारतिर मोडिएँ’ गोकर्ण भन्छन्, ‘म मिडियामा काम गर्दा श्रीमतीले झोला र पोकामा सडक किनारामा कपडा फिजारेर व्यापार गर्थिन् । श्रीमतीको लगाव र साथीभाइको दबाबले म पछि व्यापारतिर लागें ।’

सडक विस्तार गर्ने क्रममा सडक व्यापारी विस्थापित भए । सडक व्यापारीहरू मिलेर बुटवलमा विशाल बजार सञ्चालनमा ल्याए । गिरी पनि त्यहाँ सामेल भए । त्यहाँ केही वर्ष व्यापार गर्दा विजनेश सिके । लुम्बिनी प्रादेशिक अस्पतालले आफ्ना व्यवसायीक सटर भाडामा दिन टेन्डर आह्वान गरेपछि गोकर्णले आवेदन दिए ।

‘महँगो भाडा र साघुरो कोठामा टेन्डर पर्‍यो । त्यहाँ केही वर्ष व्यापार गरे । केही वर्ष अस्पताल लाइनमा व्यापार गरेपछि फेरि नयाँ अस्पताल बनाउने योजना अघि बढेपछि व्यवसायीक सटर भत्काइने भए । फेरि विस्थापित भएँ,’ उनले भने ।

अस्पताल लाइनबाट उनले पश्चिमतर्फ जाने नेपालगञ्ज रोडमा घर भाडामा लिएर व्यापार थाले । त्यहाँ राम्रो हुँदै गएको बेला फेरि घरधनीले नयाँ घर बनाउने बताए । घर खोज्नुपर्ने अवस्था आयो ।

अहिले फेरि पहिलाको ठाउँभन्दा केही तल व्यापार गरिरहेका छन् ।  ‘विभिन्न अप्ठ्यारा झेल्दै आफ्नै संघर्षबाट यहाँसम्म आएको छु’ व्यवसाय भनेको सिक्दै संघर्ष गर्दै अघि बढ्ने कुरा रहेछ । अप्ठ्यारा झेल्दै अहिले केही सहज होलाजस्तो अवस्था आएको छ,’ उनले भने । निरन्तरता नैं व्यवसायको सफलता भएको उनले बताए ।

कम बोल्ने र छिट्टै उपभोक्तासँग घुलमिल हुने देवकीको स्वभाव छ । बजारको चाहना बुझ्नेले नै सफलता पाउने उनी बताउँछिन् । व्यवसायमा अझै नयाँ पन कसरी दिन सकिन्छ भन्नेमा उनी अत्यन्त सचेत छिन् । हाल व्यवसायमा के कमी छ भनेर बुझिरहेकी छन् । पत्ता लत्ता लाएर त्यसलाई पूरा गर्ने उनी बताउँछिन् । उनीहरूले विभिन्न संकट, महामारी, भूकम्प, बाढीपहिरोलगायत विपत्मा परेकालाई राहत वितरण पनि गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्