
सामाजिक-आर्थिक असमानताले उमेर वृद्धिसँगै मानसिक रोग र मष्तिष्क संरचना तथा जडानमा परिवर्तन ल्याउन सक्ने एक अध्ययनले देखाएको छ ।
ट्रिनिटी कलेज डबलिनको नेतृत्वमा गरिएको अन्तर्राष्ट्रिय टोलीको अध्ययनले असमानता घटेको मष्तिष्कको आयतनसँग प्रत्यक्ष सम्बन्धित रहेको पत्ता लगाएको छ।
यो विशेष गरी टेम्पोरो-पोस्टीरियर र सेरिबेलर क्षेत्रमा कनेक्टिभिटीमा अवरोध ल्याउन सक्छ, जुन स्मृति र संज्ञानात्मक कार्यका लागि महत्त्वपूर्ण हुन्छ।
निष्कर्षले अल्जाइमर रोगबाट पीडित व्यक्तिहरूमा यसले गम्भीर प्रभाव पार्ने देखाएको छ।
यसको विपरीत, अनुसन्धानकर्ताहरूले फ्रन्टोटेम्पोरल लोबार डिजनेरेशन भएका व्यक्तिहरूमा न्यून प्रभाव देखेका छन्। यसलाई आनुवंशिक प्रभावले थप महत्त्वपूर्ण बनाएको हुन सक्छ।
नेचर एजिङ जर्नलमा प्रकाशित अनुसन्धानपत्रले मानसिक रोग भएका बिरामीहरूमा मष्तिष्कको आयतन र कनेक्टिभिटीमा कमी देखिएको बताउँछ, जसले रोगको प्रगति र गम्भीरतालाई प्रतिविम्बित गर्छ।
महत्त्वपूर्ण कुरा के हो भने, शिक्षा, उमेर, लिंग र संज्ञानात्मक क्षमताजस्ता व्यक्तिगत कारकलाई ध्यानमा राखेपछि पनि असमानताले मस्तिष्क स्वास्थ्यमा प्रभाव पार्ने सम्बन्ध देखिएको छ।
ट्रिनिटी कलेजका प्रोफेसर डा. अगस्टिन इबनेज भन्छन्, ‘यस अध्ययनले मष्तिष्क स्वास्थ्यको विकासमा संरचनात्मक असमानताको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको छ।’
डा. इबनेजले विशेष गरी निम्न र मध्यम आय भएका देशहरूमा मानसिक रोगको दर बढिरहेको सन्दर्भमा यस अध्ययनले मष्तिष्क स्वास्थ्य असमानताको जरा पहिचान गर्न र क्षेत्रीय आवश्यकताअनुसार लक्षित हस्तक्षेप आवश्यक भएको बताएका छन्।
निष्कर्षले वैश्विक मष्तिष्क स्वास्थ्य अनुसन्धानमा स्वास्थ्यका व्यक्तिगत सामाजिक निर्धारकहरू मात्र नभई सामाजिक र भौतिक चरहरूलाई पनि समावेश गर्न आवश्यक रहेको देखाउँछ।
यी चरहरूमा लोकतान्त्रिक शासन, वायु प्रदूषण, प्रवास, जलवायु परिवर्तन र हरित स्थानसम्मको पहुँचजस्ता विषय समावेश हुन सक्छन्। यी क्षेत्रीय चरहरूको पहिचान र समाधानले लक्षित हस्तक्षेपलाई सम्भव बनाउन सक्छ, जसले मष्तिष्क वृद्धावस्थालाई ढिलो गराउन र वञ्चित समुदायमा मानसिक रोगको भारलाई कम गर्न मद्दत पुर्याउन सक्छ।