०१ असार २०८३, सोमबार
अँध्यारो मनमा दीप बालिरहेका डाक्टर

सुदूरपश्चिमको मानसिक स्वास्थ्य सेवामा क्रान्ति ल्याउने डाक्टर प्रभात

पुस २०, २०८१
धनगढी
सुदूरपश्चिमको मानसिक स्वास्थ्य सेवामा क्रान्ति ल्याउने डाक्टर प्रभात

सुदूरपश्चिम, जहाँको धर्तीले कहिल्यै आफ्नो सुन्दरता गुमाएको छैन। तर, यही धर्तीका धेरै जीवनहरू अन्धकारमा डुबिरहेका थिए- मानसिक समस्याका कारण। यिनै अन्धकारलाई चिर्दै एउटा नामले यो क्षेत्रलाई नयाँ जीवन र नयाँ आशा प्रदान गरिरहेको छ डा. प्रभात सापकोटा। उनी मादक पदार्थ तथा लागुऔषधको कूलत र मानसिक समस्याबाट गुज्रिरहेकाहरूका लागि वरदान सावित भएका छन्।  

कूलतमा फसेकालाई नयाँ जीवन र मानसिक समस्या भएकाहरूलाई उपचारसँगै परामर्श दिएर आफ्नो नामजस्तै उनीहरूको जीवनको प्रभात (बिहानी) फर्काइरहेका छन्, डा. प्रभात।  डा. प्रभात सापकोटा केवल एक चिकित्सक मात्र होइनन्, उनले सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्। उनको नि:स्वार्थ सेवा भावले सुदूरपश्चिमको मानसिक स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ। उनी हजारौं मानिसका लागि आशाको किरण बनेका छन्।

संघर्ष र आधारशिला
बागलुङ जिल्लाको रमणीय बागलुङ बजारमा जन्मिएका डा. सापकोटा एउटा साधारण परिवारका छैटौं सन्तान हुन्। सानैदेखि अध्ययनप्रति रूचि राख्ने उनी हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला, चेस खेलमा अब्बल थिए। संगीतमा उस्तै रूचि थिए। पढाइमा सधैँ अब्बल रहने उनी विद्यालयमा विभिन्न कार्यक्रमहरूमा सक्रिय हुन्थे। उनलाई बोल्न र लेख्न मन पर्थ्यो। विद्यालयका विभिन्न पत्रिकाहरूमा लेख र कविता लेख्थे। यसले उनको लेखन कलामा निखार ल्यायो।

कक्षा सातमा उनले ‘बाल जिज्ञासा’ पत्रिकामा लेखन शुरू गरे। बाल्यकालमै विभिन्न सामाजिक र साहित्यिक गतिविधिमा सहभागी भएर उनले नेतृत्वदायी क्षमता विकास गरेका थिए। उनको स्कुले जीवन बागलुङमै बित्यो। उनलाई सानैदेखि गणितमा रूचि थियो। २०६२ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा लिन काठमाडौं पुगे। 

null

एमबीबीएसदेखि मनोचिकित्सासम्म
एसएलसीपछि काठमाडौं पुगेर आईएस्सी पूरा गरेका सापकोटाको रूचि चिकित्सा शास्त्रतर्फ बढ्यो। सन् २००९ मा उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस शुरू गरे। 

मेडिकल अध्ययनका क्रममा उनले विद्यार्थी नेतृत्व गर्दै परिक्रमा म्यागेजिनको सम्पादन र व्यवस्थापनको जिम्मेवारी लिए। एमबीबीएस पूरा गरेपछि काठमाडौंमा एक वर्ष मेडिकल अफिसरको रूपमा काम गरे ।

उनले एमबीबीएस अध्ययनका क्रममा मानिसहरूको सेवा गर्ने थप अवसर पाए। विभिन्न स्वास्थ्य शिविरहरूमा भाग लिई गाउँघरका बिरामीहरूको उपचार गरे। यस क्रममा उनले धेरै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भए।

यसले उनलाई चिकित्सक बन्ने निर्णयमा अझै दृढ बनायो। तर, उनको रुचि सर्जरीभन्दा मनोचिकित्सामा बढी थियो। उनलाई मानिसहरूका भावना बुझ्न र उनीहरूलाई मनोवैज्ञानिक समस्याबाट मुक्त गराउन मन लाग्थ्यो। सर्जरीभन्दा मनोचिकित्सा उनलाई बढी मन पर्‍यो। समाजका पीडित र उपेक्षित वर्गको मानसिक स्वास्थ्यको अवस्था सुधार गर्ने उद्देश्यले साइक्याट्रीमा एमडी गर्नका लागि भारतको चण्डीगढ गए।

null

मानसिक समस्या भएका मानिसहरूको जीवन सुधार्ने आकांक्षाले उनलाई मनोचिकित्सक बन्न प्रेरित गर्‍यो। सन् २०१६ मा उनी भारतको चण्डीगढ गए र  मनोचिकित्सामा एमडी अध्ययन थाले। तीन वर्षको गहन अध्ययन र प्रशिक्षणपछि, २०१९ मा उनी नेपाल फर्किए। धनगढीको निसर्ग अस्पतालमा वरिष्ठ मनोचिकित्सकका रूपमा काम थाल्दा उनले यहाँको अवस्था दयनीय देखे।

मनोचिकित्सकको अभावमा यहाँका बिरामीहरूले धेरै सास्ती खेपिरहेका थिए । मानिसहरू मानसिक रोगलाई अन्धविश्वाससँग जोडेर हेर्थे। उपचारको अभावमा धेरैले आत्महत्या जस्ता कठोर निर्णय लिन बाध्य थिए। डा. सापकोटाको आगमनले यहाँको मानसिक स्वास्थ्य क्षेत्रमा ‘नयाँ युग’को थालनी भयो। उनले आफ्नो ज्ञान र सीपलाई प्रयोग गरी सुदूरपश्चिममा मनोरोग उपचारको नयाँ अध्याय थाले।

मानसिक रोगसम्बन्धी सेवाको अभाव, अन्धविश्वास र कूलतले ग्रस्त सुदूरपश्चिमका मानिसलाई जीवन दिनु उनको उद्देश्य बन्यो। तीन वर्षदेखि भने साइकोलोजिस्ट सुशील चटौत र मनोचिकित्सक डाक्टर साजन खड्काले उनलाई सघाइरहेका छन् भने उनीसँग दुई जना ओपीडी नर्स पनि छन्।

डा. सापकोटाका अनुसार लागुऔ‍धष र मदिरा सेवनका बिरामीहरूको हकमा भन्ने हो भने निकै जटिल अवस्था छ। मदिरा र लागुऔषध सेवनलाई समाज र सरोकारवाला निकायहरूले रोग अथवा बिरामीका रूपमा हेर्न नै सकेका छैनन्।  जसका कारण उपचारपछि पुरानै जीवनमा फर्किन सक्नेहरू उपचारबाटै बञ्चित हुनु परेको छ । 

अन्धविश्वासको साङ्लो चुँडाल्ने प्रयास
धनगढीमा आएका बेला यहाँ मनोचिकित्सा विभाग नै थिएन। उनले शुरूमा ओपीडी सेवा सञ्चालन गरे। मानसिक रोगी, रक्सी र लागुऔषध दुर्व्यसनमा फसेकाहरूलाई अस्पताल भर्ना गरेर उपचार शुरू गरियो। त्यसपछि दैनिक ३०–४० जना बिरामीको उपचार गर्ने डा. सापकोटाले हजारौंलाई नयाँ जीवन दिएका छन्।

सुदूरपश्चिमको सामाजिक संरचनामा मानसिक रोगलाई धामी झाँक्री, बोक्सी र कुलदेवताको रिससँग जोड्ने परम्परा थियो। डा.सापकोटाले मानसिक रोगलाई अन्धविश्वाससँग जोडेर हेर्ने प्रचलनलाई तोड्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे। 

विद्यालय, कारागार, प्रहरी, न्यायाधीश र सरकारमा रहेकाहरूसँग परामर्श कार्यक्रम सञ्चालन गर्दै मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यजस्तै प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। डा. सापकोटाले विभिन्न क्षेत्रमा पुगेर मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना फैलाए। धेरैले अझै पनि मानसिक रोगलाई खुलाउन लाज मान्छन् तर, डा. सापकोटाले धैर्यतापूर्वक काम गरिरहेका छन्।

विगतमा मानसिक रोगसम्बन्धी सेवा धनगढीमा उपलब्ध नहुँदा वा सीमित उपलब्धताका कारण यहाँका बिरामी भारतको पलिया, पिलिभित, खातिमा, बरेली, लखनउका साथै नेपालगञ्ज तथा काठमाडौं पुग्ने गर्दथे। काठमाडौंबाट शिविरमा आउने चिकित्सकहरूकै भरमा यहाँबाट उपचार सेवा भइरहेको थियो। डाक्टर सापकोटा आएपछि सुदूरपश्चिममा पनि मानसिक रोगसम्बन्धी सेवाहरू विस्तार बढ्दै गएका छन्। अहिले बिरामीहरूले धनगढीमै गुणस्तरीय सेवा पाइरहेका छन्। लागुऔषध र मदिजार सेवनका बिरामीहरू पनि उपचारका लागि अस्पताल धाइरहेका छन्। 

डाक्टर सापकोटाका नजरमा सुदूरपश्चिममा पनि डिप्रेसन र एन्जाइटीको समस्या सबैभन्दा बढी छ। त्यसपछि कडा खालको मानसिक समस्या, मदिरा र लागुऔषध सेवनको समस्या पनि व्याप्त छ। 
यद्यपि, मानसिक समस्यालाई निर्मुल पार्नका लागि सक्दो प्रयास गरिरहेको डा. सापकोटा बताउँछन्। मानसिक रोग लाग्दा धामी झाँक्रीको भर परिरहेका सुदूरपश्चिमबासीहरू अहिले उपचार पाउँदा हर्षित छन्। उनीहरूले डा. सापकोटाको खुलेरै प्रशंसा गरिरहेका छन्।

null
 
समाजसेवामा पनि उस्तै 
डा. सापकोटा केवल एक चिकित्सक मात्र होइनन्, उनी एक समाजसेवी पनि हुन्। मानव सेवा आश्रम, दृष्टि फाउन्डेसन र सहारा घर जस्ता  संस्थाहरूसँग सहकार्य गरेर मानव सेवामा पनि सक्रिय छन्। चिकित्सक, सामाजिक संस्था, मिडियाकर्मीलगायतलाई तालिम दिएर मानसिक स्वास्थ्यको क्षेत्रमा सचेतना फैलाउन उनी निरन्तर लागिपरेका छन्।

डिप्रेसन, एन्जाइटी, रक्सी तथा लागुऔषधको लतजस्ता समस्याबाट पीडितहरूले उनको उपचारबाट नयाँ जीवन पाएका छन्।  ८०–९० प्रतिशत बिरामी पूर्ण रूपमा निको भएका छन्। 
डा.सापकोटाका अनुसार बाँकी रहेका २० प्रतिशत मध्ये  १५ प्रतिशत बिरामीको हकमा निरन्तर फलोअप नहुने अथवा परिवारले पनि गम्भीर समस्याका रूपमा नलिने अवस्था छ । कति आर्थिक पाटो त कति अन्य कारणले पूर्ण रूपमा उपचारमा सामेल हुन पाएका छैनन् भने ५ प्रतिशत बिरामीहरू जटिल किसिमका छन्। उनका अनुसार उनीहरूलाई यो उपचार सेवा पर्याप्त छैन, उनीहरूका लागि विशेष किसिमको उपचार आवश्यक छ।

सुदूरपश्चिममा चेतनाको झिल्का  
डा. सापकोटा भन्छन्,‘मानसिक स्वास्थ्यलाई अझै पनि राज्यले प्राथमिकता दिएको छैन। बिरामीको ठूलो हिस्सा (८० प्रतिशत) सेवाबाट वञ्चित छ। लागुऔषध र रक्सी दुर्व्यवसनलाई अपराधको रूपमा हेरिन्छ, जबकि यो उपचारले समाधान गर्न सकिने समस्या हो।’

डाक्टरका लागि हरेक नयाँ दिन नयाँ चुनौती हो। तर, हरेक सफल उपचारले उनलाई ऊर्जा दिन्छ। ‘मलाई अझै धेरै गर्नुछ। यस क्षेत्रका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन म निरन्तर लाग्नेछु’, डा. सापकोटा भन्छन् ।

समाजको सहयोग र सरकारको ध्यान पुगेमा सम्भव छ भन्नेमा उनको दृढ विश्वास छ। उनी मानसिक रोगीहरूलाई अपराधीको रूपमा नहेरी उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन्। 

डा.सापकोटाको यात्रा संघर्षपूर्ण छ। तर, यही संघर्षले उनलाई सुदूरपश्चिमको मानसिक स्वास्थ्य सेवाको केन्द्रमा पुर्‍याएको छ। हजारौं नागरिकलाई नयाँ जीवन दिने यो अभियानले सुदूरपश्चिममा मात्रै होइन, पूरै देशमा मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण परिवर्तन गर्न मद्दत पुर्‍याउने विश्वास छ। 

salt training

कमेन्ट गर्नुहोस्