
नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई मोबाइलमा एउटा म्यासेज आयो । तीन दिनअघि आएको उक्त म्यासेजमा लेखिएको थियो,‘एउटा महंगो सामान ५० प्रतिशत छुटमा पाइएको छ । १० हजार पठाइदिनू, बुक भइहाल्छ ।’ जुन सामान उनलाई चाहिएको पनि थियो ।
ह्वाट्सएपमा आएको उक्त म्यासेजको विश्वसनीयता परीक्षण समेत नगरी ती एसएसपीले तुरुन्तै म्यासेजमा उपलब्ध गराइएको खातामा रकम ट्रान्सफर गरिदिए । एसएसपीले पछि उक्त नम्बरमा फोन लगाउने प्रयास गरे । तर, फोन लागेन। अपराध अनुसन्धान गर्ने प्रहरीकै रकम स्क्यामरले झ्वाम पारिदिए ।
एक साताअघि अवकाशप्राप्त एक एसएसपीलाई इसेवाको लागो राखिएको ह्वाट्सएप नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । ‘म इसेवाको मुख्य कार्यालयबाट बोलेको, तपाईंलाई बोनस दिने तयारीमा छौं । खाता खोल्नुहोला’, भन्दै फोन आएपछि ती पूर्व एसएसपी खुशी भए । उनलाई फोनमा साढे नौ हजार बोनस दिने भनिएको थियो । फोनमा कुरा भएबमोजिम इसेवाको खाता मात्रै के खोलेका थिए, उनको बैंक खातामा रहेको एक लाख १५ हजार गायब भयो ।
स्क्यामरले दुईदेखि तीन मिनेटको बीचमा उक्त रकम झिकीसकेको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त रकम रौतहटको गौरबाट झिकेको पाइयो ।
पोखरामा एक महिलालाई वान–एक्स वेट क्यासिनोबाट बोलेको भन्दै फोन आयो । ५० लाखको चिठ्ठा परेको र उक्त रकम पाउन पाँच लाख रूपैयाँ पठाइदिन भनियो । ती महिलाले पाँच लाख रूपैयाँ तुरुन्त पठाइदिइन् । स्क्यामरले चलाखीपूर्ण तवरले तुरुन्तै चार लाख रूपैयाँ तिनै महिलालाई पठाइदिए ।
ती महिलालाई फोन गरेर स्क्यामरले फेरि १० लाख पठाउन भन्छन् । ती महिलाले निष्फिक्री १० लाख ट्रान्सफर गरिदिन्छिन् । स्क्यामरले दुई लाख रूपैयाँ पठाइदिन्छ र उक्त रकम बोनस भन्छ । यसैगरी पटकपटक गरी ती महिलाले ५७ लाख रूपैयाँ पठाएपछि मात्रै उनी छाँगाबाट खसेजस्तै हुन्छिन् । जतिबेला उनले आफू ठगिएको चाल पाइन् । अनि पुगिन्, प्रहरीको शरणमा ।
दुई हप्ताअघि नेपाल सरकारकै एक जना पूर्वसहसचिवको ह्वाट्सएपमा फोन आयो । ‘सर म कृषि विकास बैंकबाट बोलेको । खाता केवाईसी अपडेट गर्नुपर्यो । खाता नम्बर र ओटीपी पाउँ’ भन्दै फोन आएपछि ती पूर्व सहसचिवले सबै विवरण दिए । उनको खातामा रहेको दुई लाख ७५ हजार रूपैयाँ एकछिनमै गायब भयो ।
तीन दिनअघि मात्रै पोखराका एक कृषकलाई स्क्यामरले फोन गरेर खाता अपडेट गर्नुथियो भन्दै सबै विवरण मागे । खसी बेचेर आएको २५ हजार मध्ये उनले १५ हजार रूपैयाँ बैंकमा जम्मा गरेका थिए । स्क्यामरले त्यही १५ हजार पनि खाताबाट चोरिदिए ।
१५ दिनअघि नागर्जुन नगरपालिकाका वडासदस्य स्क्यामरको निसानामा परे । उनलाई खाता अपडेटको लागि भन्दै सबै विवरण मागेर तीन लाख रूपैयाँ स्क्यामरले चोरिदिए । यो महिनाभित्र भएका यी घटनाले स्क्यामरले धेरैलाई निसाना बनाएको देखिन्छ । कति उजुरी दिन पुगेका छन् । कति पुगेका छैनन् ।
जसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोले अनुसन्धान गरिरहेका छन् । सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार स्क्यामरले पाँच सय भन्दा बढी मोबाइल नम्बरहरू प्रयोग गरेर सर्वसाधारणलाई झुक्याएर उनीहरूको खाताको रकम चोरी गरेका छन् ।
स्क्यामरले फेसबुक म्यासेन्जेर, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, भाइबर, इमो लगायतबाट फोन गरेर स्क्यामरले विभिन्न डिजिटल वालेटको नाम लिएर ओटीपी नम्बर माग्दै रकम चोरी गर्ने गरेको प्रहरीमा उजुरी थुप्रै परेका छन् ।
‘क्यामरले इसेवा, खल्ती लगायत डिजिटल वालेटमा पटक–पटक गलत पासवर्ड राखेर वालेट टेम्प्रोररी बन्द गर्ने र त्यही समय वालेट प्रयोगकर्तालाई कल गरेको पाइयो’, एसपी बोगटीले भने,‘तपाईंको वालेटमा समस्या आएको छ । हामी सेवाप्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग्ने र क्षणभरमै वालेटमा भएको पैसा बैंक खातामा ट्रान्सफर गर्ने गरेको देखिन्छ ।’
सीआईबीले विभिन्न वालेट कम्पनीका व्यवस्थापन पक्षलाई छलफल गरेर यी कम्पनीमा काम गरेका पूर्वकर्मचारीको विवरण समेत माग गरेको छ । एसपी बोगटीले भने,‘हामीलाई एउटा शंका भनेको यी वालेट कम्पनीहरूकै पूर्वकर्मचारीको संलग्नता छ छैन भन्ने हो, त्यसतर्फ पनि अनुसन्धान अघि बढाएका छौं ।’
सीआईबीका अनुसार यी वालेट कम्पनीहरूको सिष्टम कमजोर हुँदा स्क्यामरले चोरी गर्ने अवसर पाएका हुन् । प्रहरीले स्क्यामरले सर्वसाधरणको पैसा चोरी गरेपनि क्षतिपूर्ति रूपमा सम्बन्धित वालेट कम्पनीले रकम तिर्नुपर्नेतर्फ अनुसन्धान गरिरहेको एसपी बोगटीले जानकारी दिए ।
‘पटकपटक एउटै नम्बरबाट रकम ट्रान्जेक्सन भइरहेको जानकारी त सम्बन्धित वालेट कम्पनीहरूलाई अवश्य नै हुन्छ । यस्तो हुँदा ती कम्पनीहरूले त्यस्ता वालेट सञ्चालन गरेर बसेकालाई शंकाको घेरामा राखेर प्रहरीमा उजुरी गर्नुपर्ने हैन र?’ बोगटीले भने,‘हाम्रो अनुसन्धान पीडितलाई सम्बन्धित कम्पनीले नै क्षतिपूर्ति दिनुपर्ने तवरबाट अघि बढेको छ । ’
सीआईबीका अनुसार प्रहरीमा परेको उजुरी अनुसार यो बीचमा पोखरामा ती महिलाको ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका बहालवाला र पूर्व कर्मचारीहरूको पाँच लाख ५० हजार र विभिन्न कम्पनी तथा सर्वसाधरणको करोडौं रूपैयाँ स्क्यामरले चोरी गरेको विषयमा अनुसन्धान भइरहेको छ । स्क्यामर गिरोहका एक सदस्यलाई पक्राउ गरेर सोधपुछ भइरहेको एसपी बोगटीले जानकारी दिए ।